विश्रामपुर | पुस्तक चर्चा

राजनीति हुँदै साहित्य र पत्रकारितामा लागेका पदम गौतमको पहिलो आख्यान हो, विश्रामपुर । यसअघि उनका ‘फूलको लासमाथि’ र ‘रगतको शयनकक्षमा’ कवितासंग्रह तथा ‘एकलासको फूल’ र ‘घाम झुल्कनुअघि’ गजलसंग्रह प्रकाशित छन् ।


राजनीतिले लगातार चुसेको एक कालपनिक देहाती गाउँको कथा हो, विश्रामपुर । तर उपन्यासका अधिकाशं घटना कतै न कतै हरेक दुर्गम गाउँका कथासँग मिल्छन् । आञ्चलिक शब्द र स्वाद मिसाएर लेखिएको यो उपन्यासमा जनमतसंग्रहदेखि यता झण्डै चार दशकको राजनीतिक, सामाजिक र आर्थिक चित्रण छ । (पुस्तकबाट)


लामो प्रतिक्षापछि उपन्यास हात पर्दा पनि उपन्यासमा पसिहाल्न नपाउनु दुःखको कुरा रहे पनि उपन्यासमा कैयन् ठाउँमा हाँस्न पाइयो, कैयन् ठाउँमा मन खिन्न भयो । एउटा बालक हुर्कदै गर्दा उस्ले देखेको, बुझेको समाजबारे कथा अघि बढ्दै गर्दा कथा पूर्ण रुपमा राजनीतिबाट टाढा भइदिएको भए हुन्थ्यो लागिरह्यो । बालापनको कैयन् प्रसङ्गले हुरुक्कै बनाउँदा यस्तो लाग्नु स्वभाविक नै हो । तर कथाको मूल विषयवस्तु राजनीति र यसले समाजलाई कसरी वस्तुको रुपमा उपभोग गरिरहेको छ नै हो ।


लेखकले आफू हुर्किएको समाज र परिवेशलाई शब्दमा उतारेकाले कतै उपन्यास लेखककै वालापन वा लेखककै जीवनको कुनै हिस्सा त होइन भन्ने लागिरह्यो । र सँगै आफ्नो वालापनको त्यो समयमा पटकपटक पुग्ने अवसर पनि मिल्यो उपन्यासबाट । आफूले भोगेका कैयन् प्रसङ्ग उपन्यासमा भेटिदा झन् खुशी लाग्यो, पढ्न मजा भयो ।


कही-कही केही नमिलेको जस्तो नलागेको पनि होइन । जस्तो कि बौदलको प्रसङ्ग उपन्यासको सुरुको खण्डमा छ । यसलाई मैले ०४६ सालको परिवेश भनेर बुझेँ । तर यो त ०३६ सालको जनमत संग्रहबारेको रहेछ भनेर बुझ्न अल्लिबेर लाग्यो । राजनीतिको प्रसङ्ग हावी भएकाले र प्रसङ्गहरू छरपष्ट भएकाले पाठकलाई पठ्न अल्छि लाग्न पनि सक्छ ।


समग्रमा मेरो लागि उपन्यास उपलब्धीपूर्ण रह्यो । तत्कालिन समाज त्यसमाथि तराईको, अनि त्यसबेलाको राजनीति- केन्द्र तथा स्थानिय तहको प्रसङ्ग रूचिकर रह्यो ।

व्यस्तताको बिच विश्रामपुरको विश्रामले थकाई मर्नुभन्दा पनि देशको नफेरिएको राजनीति आँखा अगाडी घुमिरहेको देख्दा झन् थकाई लाग्यो ।

फाल्गुन ०७, २०७७

Leave a Reply