वहानेवाज मन

डियर सखी‚

उठने बित्तीकै सबेरै सोचेको थिएँ‚ आज तिमीसँग कुरा गर्छु । हिजो झैं आजको दिन हुन दिन्न ।

म त सबेरै उठेको थिएँ । सोचें‚ तिमी उठेकै छैनौ होली । लाग्यो‚ तिम्रो निन्द्रा के बिगार्नु । त्यो तिम्रो मिठो निन्द्रा बिगार्न मनले मानेन । त्यही मनले कुरा गर्न रहर गर्ने मनलाई सम्झाएँ‚ अल्लिबेरमा कुरा गर्छु ।

अल्लिबेरभन्दै अझ अल्लिबेर म आफ्नै धुनमा हराइरहें । सबेरैको बिहान अब बिहानबाट उभो चढ्दै थियो । कुरा गर्ने मन कुरा गरिहालौं भन्न थाल्यो । मोवाइल खोलें‚ हेरें तर तिमीलाई अनलाइन देखिन । कतै कुनै काममा तिमी हराउँदै होलिउ भन्ने अर्को मन तिमीलाई ‘डिस्टर्ब’ नगरौं भन्न थाल्यो । कुरा गर्न रहर गर्ने मनले मान्यो‚ अलि पछि कुरा गर्छु ।

म आफ्नै दिनचर्यामा लागें । बिहान अब दिन भइसकेको थियो । आफ्नै काममा व्यस्त थिएँ । एउटा काम सक्छु अनि तिमीसँग कुरा गर्छु भन्दै एउटा दुईटा तीनवटा गर्दै कामहरू सकिदै गएँ जसरी दिन सकिदै गयो । तर तिमीसँग कुरा गर्ने रहर त्यत्तिकै बाँकी नै रहिरह्यो ।

साँझ ज्यान लखतरान थियो । तिमीसँग कुरा गर्दा थोरै भएपनि थकाइ मर्ला भन्ने लाग्यो । उठाएँ मोवाइल । तिमीलाई फोन गर्नुको साटो गम्न थालें‚ तिमी त खाना खाँदै होलिउ । अब खाना खाएर कुरा गरौंला । मनले फेरी उम्किने बाटो भेट्यो ।

खाना खाइसकेपछी सुत्नु अघि अब कुरा गरिहाल्छु भन्ने लाग्यो । मनले फेरी सोच्यो‚ दिनभरीको दौडधुप त तिम्रो पनि चल्यो होला । तिमीलाई यो समय आराम चाहिन्छ । तिम्रो आरामलाई मैले बिर्गानु हुन्न । तिमी आराम गर । बरु म भोली कुरा गरौंला । मनले फेरी वहाना भेट्यो ।

यो हिजोको कुरा थियो । ठ्याक्कै आज पनि त्यस्तै भयो । कैयन् दिनदेखि यस्तो हुँदै आएको छ ।

सखी‚ तिम्रो पनि दिन यस्तै गरी बितिरहेको छ हो ? सम्झ त हामीले कुरा नगरेको कति दिन भयो ? यसले तिम्रो र मेरो दिन उस्तै गरी चलिरहेको छ‚ तिम्रो र मेरो मनले उस्तै वहाना बनाइरहेछ भन्ने संकेत गर्छ । होइन र ?

मेरो मन त बहानेवाज छ । डरछेरुवा छ‚ हिम्मतहारा छ । तिम्रो मन त यस्तो नहुनु पर्ने हो । किन तिम्रो मन पनि यस्तै छ ? किन हामी उस्तै छौं ? सखी‚ किन हामी उस्तै छौं ? के हामी उस्तै नै छौं ?

सखी‚ तिमी म जस्तै नहोउ न । यसरी त कसरी जिन्दगी चल्छ ?

Leave a Reply