लेखौँ कि नलेखौँ भइरहेछ । कारण, लेख्नै पर्छ भन्ने छ र ? छैन नि । नलेखे पनि हुन्छ । यस्तै भन्छन् विजय कुमार, सम्बन्धहरूमा ।
तर फेरी सोच्दछु, नलेखे पनि हुने भए विजयले सिंगै किताब नै किन लेखे ? नलेखेको भए पनि त हुन्थ्यो । हुन्थ्यो नि । अनि आफै लेख्नै पर्छ भन्ने छैन भन्ने अनि आफैँ किताब नै लेख्दिने ?? यो त भएन नि विजय जी । भयो र ?
त्यसैले जे सुकै होस्, भए होस् वा नभए नहोस्, जल्ले जे सुकै भनुन्, लेख्दिन्छु, जे जे आउँछ । हाम्लाई के ? बालै फरर… (शब्द सापटी, लेखकबाट)
अब भनिरहनु नपर्ला, सम्बन्धहरू विजय कुमारको गैर-आख्यान पुस्तक हो । र यो उन्को दोस्रो पुस्तक हो ।
त्यसो भए सुरु गरौँ पुस्तकको शिर्षकबाट, पुस्तकको बाहिरी पृष्ठबाट नै । नाम सम्बन्धहरू भएपनि पुस्तकभित्रको गुदी पूर्ण रुपमा सम्बन्धहरूमा केन्द्रित छैन । जसरी बाहिरी पृष्ठमा माला उन्दै गरेको जस्तो तस्बिर र सम्बन्धहरू नामले पुस्तकले सम्बन्धहरू कसरी उनेर राख्ने भन्ने खालको सन्देश दिन्छ, त्यसरी भित्र पाइन्न ।
हुन त पुस्तकमा स्त्री र पुरूष शिर्षकमो एउटा अध्याय नै नभएको होइन, जहाँ स्त्री पुरूषको सम्बन्धबारे चर्चा गरिएको छ । त्यस्तै मित्रहरूबिचको सम्बन्ध, आमा-बुबा र सन्तान बिचको सम्बन्ध बारे पनि बेलाबेलामा चर्चा भइरहन्छ । त्यति मात्र नभएर तन-मनको सम्बन्ध, देश, जनता, नेता, कार्यकर्ता, सञ्चारमाध्यम, मालिक, कामदार, आदी इत्यादी बिचको सम्बन्ध बारे पनि चर्चा परिचर्चा यत्रतत्र नभएका भने होइन ।
तर पनि जसरी बाहिरी खोलले दिने एउटा अपेक्षा वा आशा हुन्छ, त्यो किताब भित्र फ्याट्ट फेला पार्न मुस्किल छ ।
केही प्रमुख पात्रहरू छन् पुस्तकमा जस्तो कि नतालिया, योगिनी, सुम्निमा र आकाश । फेरी तपाईँ भन्नुहोला गैरआख्यान किताबमा पात्रहरूको के कुरा ? हो यहाँ केही थोरै पात्रहरू छन्, जो बेला न कुबेला यत्रतत्र टुप्लुक्क आइपुगिहाल्छन् । मानौँ यो किताब गैरआख्यान नभएर आख्यान हो, लेखकले पात्रहरूलाई आफूले चाहेअनुरुप चलाउन स्वतन्त्र छन् । हुन त पुस्तकमा आख्यार र गैरआख्यान दुवै नभनि क्रियटिव ननफिक्सन अर्थात् सिर्जनात्मक गैरआख्यान भनिएको छ । सायद गैरआख्यानभित्रको आख्यान होला, पुस्तक सकेपछि यस्तै लाग्यो ।
सुम्निमा, नतालिया, फर्पिङ, योगिनी, मरूभूमिको सपना देख्नेहरू, स्त्री र पुरुष, पाखण्डको पहाड, नकाब, सेल्फ राइचियस, एकान्तमा हामी नाङ्गै हुन्छौ, स्टाटसको लतबाट मुक्ति, बालै फरर…, बिग ब्याङ, सन्तान-२, मृत्यु, जाने बेला, आभार । यति शिर्षकमा अध्यायहरू किताबमा समेटिएको छ । र पूरा किताबको मुख्य विषेशता भनेको यी अध्यायभित्र समेटिएका ज्ञान हो । हुन त यस्लाइ लेखकको अनुभव पनि भन्न सकिएला तर पनि यतिविधी ज्ञान यति सानो किताबमा ?? (हुन पनि सक्छ नि । हो भने त राम्रो । र तपाईँ थोरै पढेर धेरै ज्ञान लिन चाहनु हुन्छ भने यो किताब किन्नुस्, पढ्नुस्, सिरानीमा राखेर सुत्नुस् । अरे यो आधुनिक युगको गीताभन्दा कम छैन । हा हा ….) हो साँच्चै भनेको । यसबाट एउटा कुरा के थाहा पाउन सकिन्छ भने लेखकले धेरै अध्ययन गरेका छन्, धेरै किताब पढेका छन् र ती किताबका गुदीहरूलाई यो एउटै किताबमा समेट्न सफल छन् । (त्यही भएर भन्दैछु किन्नुस्, सिरानी हाल्नुस् ।)
भनिहालेँ, ज्ञानगुनका कुरा कति हो कति । हरेक पाना, हरेक अनुच्छेद, हरेक वाक्य, ज्ञानैज्ञान । यही एउटा किताबको ज्ञान मात्र जीवनमा उतार्ने हो भने अरु केही पनि गर्नु पर्दैन, यस्तै दावा लेखक बारम्बार गरिरहन्छन्, किताबैभरी । विश्वजगतलाई सिकाउन बाँकी त केही छैन होला । यस्ले यस्तो गर्नु पर्ने, त्यसले उस्तो गर्नु पर्ने, यो भनेको यो हो, त्यो भनेको यो हो, यो यस्तो हो, त्यो त्यस्तो होइन, यो, त्यो, ह्यान्, त्यान् । केक्के हो केक्के । अनि कतै भनि पनि हाल्छन्, सबैकुरामा मुख जोत्नै पर्छ र ? अरुले यस्तो गर्दिनु पर्ने, त्यस्तो गर्नै नहुने । ऐजन ऐजन . . . अनि फेरी अर्को ज्ञान पेल्न भ्याइहाल्छन्, मैले भनेका सबैकुरा अरुले मान्नै पर्ने, पढ्नै पर्ने भन्ने हुन्छ र ? म त मन फुकाउन लेख्छु, मन भुलाउन लेख्छु ।
आहा कति राम्रो क्षमता । जताबाट पनि ठीक्क, जे लेखे पनि ठीक्क । आफै ठीक्क, आफै सही । अरु त बालै फरर ।
लेखनीलाई त म मान्छु, यत्तिको सायदैले लेख्छन् । आफ्नै जयजयकार गर्न पात्र बोलाइहाल्छन्, बोल्न बहकाइहाल्छन् । पात्रलाई भन्न लगाइहाल्छन्- यू आर ग्रेट विजय, अमेजिङ, हाउ पसिबल, तिमी धन्य छौ, तिमी महान् छौ, तिम्रो जस्तो सोच सबैको हुने हो भने यो संसार यति कुरुप हुने थिएन, ऐजन ऐजन ।
आफ्नो बारेमा यति घमण्ड गरेर कसैले पनि भन्न सक्दैन, लेख्न सक्दैन । विजयले सक्ने रहेछन् । अँ भन्दिहालौँ, विजयको अर्को महत्त्वपूर्ण ज्ञान- घमण्ड गर्नु हुन्न, यस्ले मान्छेलाई सिध्याउँछ ।
पात्रहरूसँगको संवाद अर्को उत्कृष्ट पक्ष हो । यति मीठो कुनै मान्छेले बोल्न सक्छ, गफिन सक्छ जस्तो कल्पनामा मात्र गर्न सकिन्छ । वास्तविकतामा गाह्रो छ । यति मीठो लेखेका छन् कि हुरुक्कै बनाउँछन् । भन्न मन लाग्छ, विजय यू आर ग्रेट । (यहाँभन्दा धेरै भन्न चाहन्न, फेरी विजयको अर्को पुस्तकको कन्टेन्ट मैले यहीँ लेखेर सक्काउनु हुन्न, उन्लाई लेख्न बाँकी राखिदिनु पर्छ ।)
कतिकुराहरू बारबार कोट्याइरहन्छन्, दिक्क लाग्छ पढ्न । ट्वीटरको फेक ह्याण्डलको कुरा किन त्यतिविधि उचाल्छन्, बुझ्नै कठीन । भनिन्छ, हावा नचलि पात हल्लिँदैन । तर विजय रुख नै हल्लाइरहन्छन् । केही त होला !!
सबैलाई शब्दबाट राम्ररी नै दनक दिन सफल छन् लेखक । नकावको कुरा होस् वा ढोङ्गको कुरा । तर त्यही कुरा लेखकतर्फ मोड्दा पनि फरक भने नपर्ने देखिन्छ ।
केही त्रुटीहरू पनि छन् किताबमा । त्यसैले मैले यो किताबलाई गैरआख्यानभित्रको आख्यान भनेको ।
जस्तो कि, अगस्ट ०८, २०१८ को साँझ दुर्भाग्यवस् लेखको दायाँ खुट्टा भाचिन्छ । लेख्छन्, लेखक त्यसदिन विदेशी सञ्चारमाध्यमकी एक संवाददातासँग कफी भेटमा थिए र लेखकको उक्त महिला संवाददातासँग एक महिनाभित्रको त्यो तेस्रो भेट थियो । पहिलो पृष्ठको बिचतिर यसो लेख्दै गर्दा लेखक दोस्रो पृष्ठको पहिलो हरफमा लेख्छन्, ‘तर एक महिनाभित्रै चार पटक भेटिसक्दा पनि सुम्निमाको रोचकता फिक्का भएको थिएन ।’ अरे वा, पहिलो पृष्ठ सकिएर दोस्रो सुरु हुने बित्तिकै झुटको खेती ??
यदि यो साँच्चिकैको घटना हो भने यसरी फरक पर्नु नपर्ने । खैर छोड्दिउँ, कुन मूडमा लेखक लेख्दै थिए, राम्ररी याद भएन होला । अब लागौँ अर्को प्रसङ्गतिर ।
सेप्टेम्बर ०६, २०१८ को बिहान मुड खराब बनाएर ब्रेक फास्ट खाँदै भेटिन्छन् लेखक , चीनको हाङझाउ सहरमा । लेखकसँग भेटिन आइपुग्छिन् एक आकर्षक महिला, फर्मल ड्रेसमा (लेखककै शब्द सापटी) । नतालिया नाम गरेकी उक्त पात्रसँग गफगाफ चल्छ । संवादका प्रसङ्गहरू यस्ता हुन्छन् कि मानौँ कुनै आध्यात्मिक गुरु प्रवचन दिँदै छन् । परिचय पछि उनिहरू साँझ भेट्ने सल्लाह गरेर छुटिन्छन् । साँझ नजिकैको चियन्थाङ नदी हेर्न पुग्छन् । र लेखक लेख्छन् ‘यो नदी आफ्ना खतरनाक छालका लागि प्रसिद्ध रहेछ । पूर्णिमाको दिनमा त छाल झनै अग्लो हुन्छन्, गुरूत्वाकर्षणको खेलका कारण । नतालियाले मलाई नदी किनार लैजाने दिन, पूर्णिमा परेको थियो ।’
ओ विजय जी, सेम्टेम्बर ६, २०१८ अर्थात् २०७५ भदौ २१ गते कुन भित्तेपात्रोमा पूर्णिमा पर्छ हँ? त्यस दिन त पूर्णिमा बितेको एघार दिन भइसकेको हुन्छ अर्थात् त्यस दिन एकादशी थियो । तपाई कुन लोकमा पूर्णिमा मनाइरहनु भएको थियो, विजय जी ?
त्यसैले मैले भने नि यो गैरआख्यानभित्रको आख्यान भनेर । यो त एउटा पाठक, जसले विजय कुमार पाण्डे भनेको को हो चिन्दैन वा किताबले दिने सामान्य परिचय- पत्रकार भनेर चिन्छ, ले फेला पारेको कुरा हो । लेखकसँगै संगत गर्नेलाई बाँकी कुरा थाहा होला, यहाँ भनिएका कति कुरा आख्यान हुन्, कति होइनन् भनेर ।
र अन्त्यमा भनिदिउँ, यो किताबका सम्पूर्ण कुराहरू लेखकको निजी विचार हो । र यो कुनै एउटा कालखण्डमा लागेको वा व्यक्त भएको विचार हो । समय फेरीएसँगै विचार फेरीन सक्छ, वा त्यो कालखण्डभन्दा अगाडी त्यस्तो विचार लेखकमा नभएको हुन सक्थ्यो । यसैलाई मूलमन्त्र मानेर वा लेखकको अन्य क्रियाकलापलाई परतिरै राखेर किताबबाट केही लिन कोसिस गर्ने हो भने किताबले धेरै कुरा दिन खोजेको छ, लिन योग्य धेरै कुरा किताबले समेटेको छ । औसतभन्दा माथि छ । बाँकी त बालै फरर …. होइन त विजय जी ??

#सम्बन्धहरू #विजयकुमार #गैरआख्यान #Sambandhaharu #BijayKumar #NonFiction #BookView #kirrkur