जेलिएको – ध्रुवचन्द्र गौतम

ध्रुवचन्द्र गौतम फेरी एउटा उपन्यासमा देखिएका छन् जुन कथा एउटा काल्पनिक गाउँको हो । गाउँ जुन देशको नक्शामा समावेश छैन जसबारे बाँकी दुँनियालाई थाहा छैन । जसै लेखकको अरु उपन्यास पनि यस्तै पृष्ठभूमीका छन् ।

जेलिएको उपन्यास लेखकको उन्नाइसौँ उपन्यास हो । वि.सं. २०६२ मा प्रकाशित यो उपन्यासको दोस्रो संस्करण वि.सं. २०७६ मा प्रकाशित भएको छ ।

तपाईको परिवेश भएको इमिलपुरा गाउँको कथा हो उपन्यास जेलिएको । सदाझैँ गौतमको यस उपन्यासमा पनि गरिबी‚ रोग‚ भोक‚ शोक लाई नै कथाको केन्द्रबिन्दु बनाएका छन् । जंगलबीचको गाउँ‚ बाँकी दुँनियाबाट टाढा‚ आफ्नै संसारमा रमाइरहेको जहाँ रमाउने कुरा कम‚ दुःख र रोदन बढी छ ।

सधैँको खानलाउनको पीर‚ कहिले जङ्गलका कुरा‚ कहिले खोला/नदीको कुरा‚ कहिले खेतीपातीको प्रसङ्ग यस्तै यस्तै दोहोरिरहन्छन् । र पट्यारलाग्दो हुन्छ पढ्दै जाँदा ।

हुन त कहिले जेलका कुरा‚ कहिले बाबा/जोगीका कुरा‚ कहिले सोमप्रसाद भन्ने पात्र गाउँकै अभिभावक बनेको प्रसङ्ग त कहिले गाउँ नजिक बजार बिस्तार भएको कुराले कथालाई अघि बढाउँछ‚ प्रसङ्ग बदल्न सघाउँछ ।

जंगलबीतको बस्ती भएकाले जंगली जनावरले दिने दुःख‚ अकालमा आउने मृत्यु‚ एकमुठी खानका लागी गरिने चोरी‚ एकपेट भर्नको लागी जंगलका कन्दमुल खोज्न जंगल चाहर्दाको दुःख लगायत अनेकन प्रसंगले मन बिझाइरहन्छ ।

भोजभुरी लवजमा बोलिएका स्थानिय शब्दहरू तथा त्यस्ता वाक्यहरूको व्यापक प्रयोग गरिएको छ । जसले पठन कार्यलाई जटिल बनाएको छ । लेखक यौनका कुरामा उदार देखिन्छन् । यौनका प्रसङ्ग उठाइरहन्छन् बारम्बार । गरिबी र भोक झैँ जीवनको अभिन्न अङ्ग भएकाले होला सायद ।

गौतमसँगै सहलेखन गरेका छन् राम उपाध्यायले । राम उपाध्याय यस उपन्यासको प्रमुख पात्र पनि हुन् । उपन्यासमा भनिएअनुसार उनको पनि उपन्यास लेखनमा महत्त्वपूर्ण योगदान रहेको छ । तर उपन्यासको भूमिकामा डा. गोविन्दराज भट्टराई लेख्छन्‚ राम उपाध्याय काल्पनिक पात्र हुन् । यदि त्यस्तो हुँदो हो त उपन्यासको लेखक कै रुपमा उपन्यासको एउटा पात्रलाई किन राखियो ? नराखेको भए पनि त यसले केही फरक पर्दैन थियो ।

समग्रमा‚ उपन्यास एउटा नदीझैँ सरल सिधा वहेको छ । नदीमा कहीँ कहीँ उछाल आउनु सामान्य हो । कथाको केन्द्र र लेखन शैलीमा खासै फरक छैन‚ सिवाय उपन्यासभित्रै पनि लेखक र पात्रले पालैपालो कथा लेख्दैछन् भनिएको प्रसंग । जसरी उपन्यासको शिर्षकले भनिएझैँ कथा जेलिएको हुनु पर्ने हो‚ भनिहालेँ‚ जेलिएको छैन । सिधा छ सरल छ ।

Leave a Reply