बगरको वालुवा । कविता

नदिको किनारमा
बगरका बालुवा झोप्दै
उर्लिएर आउने छाल जस्तै आउँछन्
तिमीप्रतिको भाव
तिमीप्रतिको लगाव
तिम्रो चाहा
तिमी मेरी हौ भन्ने विश्वास
वा तिमी मेरी हुनैपर्छ वा हौ भन्ने तर्क ।

तर ती छाल कतिबेर बस्छन् र त्यो बगरमा ?
जति वेगमा आउँछन्
त्यति नै वेगमा फर्किन्छन्, अझ छिटो ।

वालुवा फेरी सुख्खा हुन बाध्य हुन्छ ।
त्यही सुख्खा वालुवा झैँ हुन्छु म पनि
केही क्षणमै, केही बेरमै
रित्तो, फुस्रो, काम नलाग्ने ।

त्यो छालभन्दा छिटो भाग्छन्
तिमीलाई आफ्नो बनाउने चाहा
इत्ति पनि बाकिँ नबसी ।
जति नै कोसिस गरे पनि
त्यो वालुवाले आफूसँग
कति नै पानी राख्न सक्छ र ?

म पनि सक्दिन
तिमीलाई आफूसँग राख्न,
तिमीलाई आफ्नो मान्न,
आफ्नो बनाउनुपर्छ
वा तिमी मेरी हुनुपर्छ भन्ने ति आत्मविश्वास राखिराख्न ।

लाग्छ, मभन्दा योग्य तिम्रो लागि अरु नै कोही छ
तिमी म मा रोकिनु हुन्न,
हिरा भेटिने अरु नै वालुवा तिम्रो प्रतिक्षामा छ ।

म त त्यो बगरको वालुवा हुँ
जस्ले एकथोपा पनि पानी आफूसँग राख्न सक्दैन ।

प्रिय,
तिमी झरी बनेर छिट्टै आइदेउ न ।
वा हुरी बनेर ती छाल जीवनमा फेरी ल्याइदेउ न ।

फागुन ०८, २०७७

Leave a Reply