कति कठीन होलान् तिम्रा दिनहरू
जहाँ हर मिनेट
मलाई कुर्दै तिमी बस्नु परेको छ ।
के सोची टोलाउँदै बस्छौ होला ?
के सम्झिन नखोज्दै उदास हुँदै सुस्ताउँछौ होला ?!
जहाँ आफ्नै मनलाई
सम्झाउन पनि कठीन हुन्छ ।
हावासँगै बहने मन होला
विचार पुग्ने ठाउँमा विचार झैं कुदेर पुग्न मन होला
जहाँ तर ठिङ्ग उभिएको रुख झैं
बाँधिएर रहनु परेको छ !
सबथोक पुग्दापुग्दै पनि
सुखसयलको अभाव नहुँदानहुँदै पनि
मन वेचैन होला‚
मन रम्न सकेको छैन होला !
जहाँ मेरो अनुपस्थिति
बिझाउँने काँडा बनेको छ ।
नयन- क्षितिजमा अडिएर बस्ला
हेरिरहला क्षितिजमा टुङ्गिएको बाटो
नथाक्ला आँखा हेरिरहन दूरदूर
जहाँ म भेटिने आश
तिमीमा सदा रहिरहन्छ !!
चैत्र २५‚ २०७८ शुक्रबार