तिमी एकभारी सपना बोकेर
परको देश लाग्यौ ।
सपना पूरा गर्न खटिँदै होलाउ ।
तर ति सपना पूरा गर्न
तिमीलाई कतिवटा जीवन चाहिने हो ?
यहाँ एउटा जीवन त
पर्खाइमा सकिइसक्यो ।
बिहान पूर्वतिर गइरहेको
बकुल्लाको बथान
साँझ पश्चिमतिर लागिरहेको देख्छु ।
हे पंक्षी
तिमी कति टाढा पुगेपछि
घर फर्किनु पर्छ भन्ने सम्झिन्छौ ?
यहाँ सग्लो घर
पर्खाइमा गलिसक्यो ।
कहिले त यस्तो लाग्छ
कि तिमीले सपना देख्नु हुन्न थियो
कि मैले सपना देख्नु हुन्न थियो ।
तिमीले तिम्रो सपनामा मेरो सपना किन सजायौ ?
यहाँ एक जोडी आँखा
पर्खाइमा लोलाइसके ।
एक दिन त आउला नि त्यो दिन
म हरेक दिन यस्तै ठान्दछु ।
म जस्ता कैयन् यस्तै मान्दछन् ।
तर मान्नु भनेको
हुनु वा हुन्छ नै भन्ने कहाँ हुँदो रहेछ र ?
यहाँ सिंगो वैश
पर्खाइमा बितिसक्यो ।
तिम्रै लागि भनेर म
हरेक दिन देउराली पुग्छु
तिमी चाँडै फर्किनु भनेर भाकल गर्छु
तिम्रा पाइला स्वदेशमा कहिले फर्कन्छन् ?
यहाँ एक जोडी पाइला
पर्खाइमा थाकिसक्यो ।
जाने बेलामा तिमीले
‘मेरो लागि बाँच्नु’ भनेर गयौ
म तिमी भनेर बाँचिरहेको छु
तिमी मेरो लागि बाँच्न कहिले आउँछौ ?
यहाँ एकमुठ्ठी सास
पर्खाइमा कमजोर भइसक्यो ।
तिमीलाई थाहा छ ?
पर्खाइमा बस्नु कति सकस हुन्छ ?
कति पिडा हुन्छ ?
मलाई थाहा छ, तिमीलाई थाहा छ ।
तर तिमी आफूलाई आफैले यो पिडा किन दिँदैछौ ?
यहाँ कोमल दिल
पर्खाइमा छियाछिया बनिसक्यो ।
पौष २२, २०७७