तिमी आफ्नो बाटो हिँड । कविता

अँध्यारो छाइसक्न सक्छ
वा, म नआउन पनि सक्छु ।
मलाई पर्खनु पर्दैन ।
तिमी आफ्नो बाटो हिँड ।

रात अवश्य पर्नेछ
यसभित्र म हराउन सक्छु
आफैँलाई नभेट्न सक्छु ।
मलाई पर्खनु पर्दैन ।
तिमी आफ्नो बाटो हिँड ।।

मैले त बाटो नै भुल्न पनि सक्छु
बिर्सन सक्छु आफैँलाई
बिर्सन सक्छु तिमीलाई ।
मलाई पर्खनु पर्दैन ।
तिमी आफ्नो बाटो हिँड ।

कहिले पर्खिएको छ र पानीले पानीलाई
आफ्नै गतिमा बहिरहन्छ ।
छुट्टाछुट्टै बहे पनि
अन्त्यमा अवश्य मिलन हुन्छ, सागरमा ।
म पनि पक्कै आउनेछु
मलाई पर्खनु पर्दैन ।
तिमी आफ्नो बाटो हिँड ।

तिम्रो यात्रा
मेरो कारणले बिग्रदैछ भन्ने चिसो
मेरो मनमा पस्यो भने
म मेरो यात्रा पनि गर्न असमर्थ हुनेछ ।
मलाई पर्खनु पर्दैन ।
तिमी आफ्नो बाटो हिँड ।

हुनसक्छ, म तिमीलाई प्रेम गर्दछु
मलाई थाहा नभएको पो हो कि !
तर मलाई नै थाहा नभएको कुरा
तिमीलाई कसरी विश्वास दिलाउन सक्छु ?
मलाई पर्खनु पर्दैन ।
तिमी आफ्नो बाटो हिँड ।

म कहीँ-न-कहीँको भएर
तिमीलाई पनि कहीँ-न-कहीँको बनाउन चाहन्न ।
साँझ पर्नु अघि तिमी कहीँ पुगिसक्नु ।
मलाई पर्खनु पर्दैन ।
तिमी आफ्नो बाटो हिँड ।

आश्विन, २०७७

Leave a Reply