छोडेर जानेहरू
यस्तरी जान्छन् कि –
एउटा सिंगो संसार लिएर गए जस्तो
बाँकी केही आफूसँग नभए जस्तो
हाँसो खुशी लुटेर लगे जस्तो
बाँच्ने बाटो सकिए जस्तो ।
मनबाट खुशी झिकेपछि
मन शान्त हुनु पर्ने होइन र ?
तर, किन पिरमा पिरोलिन्छ ?
किन दुःखमा रुमल्लिन्छ, मन ?
मनलाई जित्न नसक्दा –
सुखले छोड्दा दुःख बाँकी रहँदो रहेछ
दुःखलाई पछार्दा सुख मिल्दो रहेछ ।
जब बुझ्न थालिन्छ
जब मन बुझाउन थालिन्छ
जब मनलाई खुशी देखाउन थालिन्छ
जब दुःख भुलाउन थालिन्छ
अनि टुप्लुक्क आइपुग्छन्
छोडेर जानेहरू ।
फर्किएर यस्तरी आउँछन कि
(वा, यस्तो मानेर आउँछन् कि) –
घामको पहिलो किरण बनेर आए जस्तो
सबथोक पहिले झैँ जस्ताको त्यस्तै छ जस्तो
कही केही नभए जस्तो
उन्कै लागि जीवन पर्खिएर बसिरहे जस्तो ।
आउँछन् किन ?
खाटा बस्दै गरेको घाउ कोट्याउन ?
बाँच्न सिक्दै गरेको जीवनलाई गिज्याउन ?
तर
ढुङ्गाबाट ढुङ्गा चोइटिएर गएपछि
ढुङ्गा पहिलेको झैँ ढुङ्गा नै रहिरहन्छ र ?
वा, चोइटिएको ढुङ्गालाई फर्काएर
पहिलेको झैँ ढुङ्गा बनाउन सकिन्छ र ?
योभन्दा त बरु
छोडेर जानेहरू नफर्किएकै राम्रो ।
कार्तिक ०५, २०७७