घाम अस्ताउनु अघि र अस्ताएपछि । कविता

चिसा दिन सुरु भएपछिको
घाम अस्ताउनु अघिको
करिब आधा घण्टाको समय
जब बाहिर हेर्छु
जब आकाशलाई हेर्दै, पहाडलाई हेर्दै टोलाउछु
दृश्यहरू मस्तिष्कमा यसरी दौडन्छन् कि
भावहरू मनमा यसरी उम्लन्छन् कि
मलाई कविता लेख्ने मन हुन्छ
मलाई कविता लेख्ने हुटहुटी जाग्दछ ।

केहीबेरमै अस्ताउने घाम
आँखै खाउँला जस्तो चम्किलो छ ।
पारीपारी डाँडामा
घरका छाना छाएका स्टीलका जस्ता
कुनै तारा चम्किएको जसरी मिलिकमिलिक गरिरहेको छ ।

फुस्रा पहाड, खैरा भीर, गाढा निलो भइसकेको वन
सप्पैले घामको भिन्न रङ्ग भेटेपछि
भिन्न भएका छन्
दिउँसभन्दा भिन्न देखिएका छन् ।
मानौँ, आफ्नो अस्तित्त्व छोड्दा खुशीले गदगद छन् ।
म उनिहरूको खुशी देख्दछु
यो घाम अस्ताउनु अघिको साँझमा ।

नीलो आकाश
खाली छ ।
केही छैन उसँग
रित्तो छ ।
एकदुई टुक्रा बादल पनि छैन
पश्चिममा एउटा सूर्य वाहेक अरु केही छैन ।
म सूर्यले झैँ पूर्वतिर हेर्दछु
रित्तो, एक्लो आकाश पनि कति राम्रो देखिएको !
म सबथोक भएर पनि किन राम्रो छैन् ?
मसँग सबथोक भएर पनि किन रित्तो जस्तो छु ?

घाम अस्ताउनु अघि
यस्ता विचारहरूले मलाई किन मरेतुल्य बनाउँदैछन् ??
जबकी आकाशसँग केही छैन्, रित्तो छ
र पनि सबथोक भएजस्तो, केहीको अभाव नभएजस्तो छ ।
सायद, सादा नै सुन्दर हुने पो हो कि !
अनेकन कोरिएको यो जिन्दगी त्यसैले सुन्दर नभएको होला !

मनमा यति धेरै भाव छन्
मस्तिष्कमा यति धेरै खैलाबैला छन्
खै त मैले कविता लेख्न सकेको ?
मन भरिएर मात्र पनि त कविता फुर्दो रहेनछ ।
शब्द त सधैँ अभाव भइनैरहँदो रहेछ ।
यही अभावबिचको शब्दहरू नै कविता होलान् !
यही अभावबिचको समय नै जिन्दगी होला !

घाम अस्ताउनै लाग्दा
छरिएको त्यो मधुरो मधुरो रङ्ग,
फेरिएको, भिन्न भएको घामको रङ्ग
खै त मैले वर्णन गर्न सकेको ?
घाम अस्ताउनै लाग्दा
सूर्यलाई सिधा आँखाले हेरेर मनाएको जित
खै त मैले शब्दमा उतार्न सकेको ??
घाम अस्ताउँदै गर्दा
भोली आउँछु भनेर घामले मागेको विदाको जवाफ
खै त मैले मनभित्रबाट झिक्न सकेको ??
हो, मैले सक्दिन कविता कोर्न
जसै सक्दैन घामले दिनरात साथ दिन
जसै सक्दैन गगनले यसैगरी सुन्दर भइरहन ।

मैले शब्दमा भाव उतार्न नसकेपनि
महसूस गर्न सक्छु कि
घाम अस्ताउनुअघिको आधा घण्टा र
घाम अस्ताएपछिको आधा घण्टा
ठीक विपरित छ, एउटा दिन, अर्को रात ।
म दिनझैँ सुन्दर रात देख्दिनँ,
रात त
म जस्तो छु, त्यस्तै छ जस्तो लाग्छ ।
घाम अस्ताएपछि
त्यसैले, म पनि अस्ताएँझैँ लाग्छ ।

मंसिर ०२, २०७७

Leave a Reply