जीवनको गन्तव्य कहाँ हो ?
– आर्यघाट ।
आर्यघाट नै किन ?
– शान्त छ नि त ।
कहिले सुरू हुन्छ यात्रा ?
– जन्मने बित्तिकै ।
अनिवार्य छ ?
– अत्यन्त जरूरी ।
साथमा कोही हुन्छन् कि ?
– हुन्नन । गन्तव्य एक्लै चुम्नु पर्छ ।
सहयोग त गर्लान् नि ?
– विदाइमा गर्छन् ।
कहिले जानुपर्छ ?
– चाहा गर्नुहुन्छ भने आजै ।
के यो जिन्दगीको अन्त्य हो ?
– होइन । अर्को जीवनको सुरूवात हो ।
त्यो कस्तो हुन्छ ?
– त्यो जरूरी छैन ।
कसैले जान चाहेनन् भने ?
– मुर्खता मात्र हुन्छ । चाहनु/नचाहनुले अर्थ राख्दैन् ।
के ले अर्थ राख्दछ त ?
– आफूलाई तयार राख्नु, मनमा केहीको बोझ नराख्नुले ।
विकल्प छन् कि ?
– छैन ।
बाध्यता किन छ ?
– इच्छा चल्दैन नि त ।
किन यस्तो हुन्छ ?
– सुखखुःदको भोग सिमित हुनाले ।
अहिल्यै आर्यघाट जान चाहनालाई के भन्नुहुन्छ ?
– जीवनलाई गलत एङ्गलले हेर्नुको परिणाम मात्र हो ।
अहिल्यै गइहाल्नु पर्दैन ?
– उपयुक्त समय आफै आउँछ ।
यस्तो रिती किन छ ?
– जन्म छ नि त ।
जन्म नै समस्या हो त ?
– होइन । तर समस्या त्यसपछि सुरू हुन्छ/भएको छ ।
समस्या कसरी समाधान हुन्छ त ?
– धेरै बाटाहरू छन् । तर अन्तिम विकल्प अर्यघाट नै हो ।
आर्यघाटमा सुख हुन्छ ?
– हुन्छ । धेरै ।
कसरी भन्न सक्नु हुन्छ ?
– अहिलेसम्म कोही फर्किएका छैनन् नि त ।