नचिनेको सायरलाई बिर्सनुपर्दा । विनोद दाहाल

– विनोद दाहाल

हामीकहाँ अझ मुख्य रुपमा मैले संगत गरेको समूहमा नेपालभन्दा बाहिरका साहित्यकारहरुका बारेमा कुरा गरेर आफूलाई अली जान्नेबुझ्ने सम्झिने, र अर्को त्यस्तो गर्नेहरुलाई मन नपराउने विशेषता छ । त्यसैले नेपालभन्दा बाहिरका कुराहरु यसरी भन्दा या बोल्दा अलिकति संकोच लाग्छ ।

तर यो संकोच पचाउन राजी भएको छु ।

हिन्दी र उर्दूका सुप्रसिद्द सायर डा. राहत इन्दौरीको बारेमा केही लेख्नुअघि मलाई यति भूमिका बाँध्नु आवश्यक लाग्यो । र, यसको अर्थ हो, ‘कम्तिमा मलाई त्यस्तो नसम्झिनुस् प्लिज !!

म हुर्केको समाजको एउटा तप्काका लागि बीचबीचमा एक÷दुई अंग्रेजी शब्द मिसाउनु या विदेशी लेखक तथा उनीहरुका रचनाबारे २/४ शब्द बोल्नु भनेको विद्वान् भएको एउटा योग्यता हो ।

०००

मंगलबार साँझ ट्विटर चलाउँदै गर्दा बिबिसी हिन्दीको ट्विट् ह्याण्डलबाट एउटा ट्विट् देख्छु जसमा सायर डा. इन्दौरीको मृत्युको खबर हुन्छ ।

त्यसको केही समयपछि डा. राहत इन्दौरी नामक भेरिफाइड ह्याण्डलबाट पनि ट्विट् गरिन्छ, इन्दौरीको मृत्युको खबर त्यसमा पनि उल्लेख हुन्छ ।

थाहा थियो, यो खबर झूठो होइन । तर, मान्छेको मन् न हो मलाई झुठो भइदिए हुन्थ्यो जस्तो लाग्यो । यस्तो अरुबेला पनि भएको थियो, तर कहिल्यै मैले चाहे जस्तो भएन ।

इन्दौरीलाई मैले व्यक्तिगत रुपमा चिनेको छैन । उनी को हुन् ? के गर्दथे ? आदि विषयहरुका बारेमा मलाई जति जानकारी छ ति इन्टरनेटबाट प्राप्त भएको जानकारी मात्र हो ।

हो उनको बारेमा मेरो ज्ञान तपाईंले सोचेजस्तै हो । इन्टरनेटमा इन्दौरी जस्ता देखिए मैले त्यस्तै देखें, न त्यहाँभन्दा कम न त बढी नै !
यति भनिसकेपछि तपाईले जे अनुमान गर्नुभयो सत्य त्यो भन्दा भिन्न नहुन पनि सक्छन् ।

इन्टरनेट खासगरी फेसबुक युट्युबबाट प्रवाहित हुने जानकारीहरु कति अविश्वाशीला हुन्छन् ? सायद तपाईं यही सोच्दै हुनुहुन्छ होला होइन ?

यो त तपाईंमध्ये कतिपयले हालैका दिनमा पनि भोगेको या अनुभव गरेको कुरा हो । तपाईंको भोगाई या अनुभवलाई अस्वीकार गर् भन्न म सक्दिन । हामीले ज्ञान विज्ञानका क्षेत्रमा प्राप्त गरेको उपलब्धीलाई स्वार्थपूर्तिको साधनका रुपमा गरेको चरम दुरुपयोगको परिणाम हो यो तपाईंको मप्रतिको विश्वास । र मेरो लाचारी यही हो कि म तपाईंलाई यो भन्न सक्दिन कि ‘मेरो कुरामा विश्वास गर्नुस् ।’

तर, वास्तविकता यही हो कि इन्दैरीलाई मैले केही प्रतिशत युट्युब, केही प्रतिशत फेसबुक र केही प्रतिशत ट्विटरका माध्यमबाट चिनेको हुँ । त्यहाँभन्दा बढी होइन ।

बिर्सनेले बिर्सिए पनि सम्झनेले इन्दौरीलाई सम्झँदा यस्तो दृष्यमा सम्झन्छ होला– गजललाई गम्लाङ्ग अंगालेर गजलकै ले मागेको जस्तै बडिल्यांग्वेजमा पर्फमेन्स दिँदै गरेका एक अद्भूत सायर ।

मैले इमान्दारपूर्वक आफ्नो कुरा भनें । अब तल पढ्ने कि नपढ्ने तपाईंको मर्जी । अँ यत्ति चैं भन्छु मैले चिनेका भन्दा चिन्न बाँकी रहेका इन्दौरी कयौं गुणा विशाल छन् ।

यसर्थ न मसँग उनलाई बिर्सनुपर्ने त्यस्तो कुनै कारण छ, न त उनलाई सम्झनुपर्ने वाध्यता नै । त्यसैले म उनलाई सम्झिने या बिर्सिने मामिलामा एकदमै सुविधाजनक स्थितिमा छु । म उनलाई सम्झन पनि सक्छु र बिर्सन पनि ।

०००

तर, पख्नुस् है …. ।

तपाईं कहिल्यै बिपी राजमार्ग भएर सिन्धुली–काठमाडौं यात्रा गर्नुभएको छ ? त्यही बाटो नहिडे पनि यस्ता घुमाउरा बाटाहरु त पक्कै हिड्नुभएको होला । त्यो पनि छैन भने फोटो चैं अवश्य हेर्नुभएको छ ।

सिन्धुली–काठमाडौंको घुमाउरो बाटोमा सम्हालिएर बिस्तारै बाइक हाँक्नुपर्छ । ठाउँठाउँमा सूचना राखिएको हुन्छ, २० किलोमिटर प्रतिघण्टाभन्दा बढीको स्पिडमा नहाँक्नुस् भनेर । त्यसरी सम्हालिएर बाइक हाँक्दै गर्दा भाव अलि फराकिलो भए पनि यदाकदा मलाई उनको गजल सम्झना आउँछः

लोग हर मोड़ पे रुक-रुक के संभलते क्यों हैं
इतना डरते हैं तो फिर घर से निकलते क्यों हैं

मोड़ होता है जवानी का संभलने के लिए
और सब लोग यहीं आके फिसलते क्यों हैं ।

मेरो विचारमा यो गजल सम्झनु भनेको उनलाई सम्झनु हो । किनकि यो गजल सम्झाउन गजलमात्र पर्याप्त थिएन त्यसमा उनको वाचन गर्ने शैलीको भूमिका अझ बढी जिम्मेवार थियो । गजलसँग लुटपुटिने उनको शैली साच्चिकै गजब लाग्छ मलाई ।

०००

मेरो मित्र फकिर मस्त मौलानाले उनको सम्झनामा एउटा ब्लग लेख्यो ‘अलबिदा राहत साहेब’ उसले सो ब्लगमा लेखेको छ, ‘राहत साहबले विश्वलाई अलविदा भनेका छन् । तर, उनले हिन्दी साहित्यमा यस्तो गौरवको विरासत छाडेर गएका छन् त्यो नयाँ पुस्ताको लागि सधैं खजाना हुनेछ ।’ म पनि यो कुरामा असहमत छैन ।

आफ्नो ब्लगमा फकिर थप लेख्छ, ‘एउटा ठूलो सायर त्यो हो, जसले सेरलाई सायरको रुपमा नभई प्रेमीको रुपमा पढ्दछ । जब मानिसहरु राहत इन्दौरीलाई सुन्छन् वा पढ्छन्, तिनीहरुले इन्दौरीलाई त्यस्तो प्रेमी पाउँछन् जसले आफ्ना सेरहरुलाई प्रेमिका भनेर बेलाउँदछ । गालिब, मिर, जौक, फैज, इक्बाल आदिले निर्माण गरेको आजको फराकिलो हिन्दी साहित्यको आकाशमा इन्दौरी सधैं एउटा तारा बनेर चम्किरहेको छ/चम्किरहने छ ।’

यो त भयो ब्लगको कुरा, कहिलेकाहीँ हामी एकठाउँ बसेर गजल सुन्दै गर्दा प्राय इन्दौरीलाई सुन्न छुटाउँदैनौं । उनलाई नसुने कता–कता के–के नपुगेको जस्तो लाग्छ ।

किन ?

किनकी त्यो उनको खुबी हो, जसले हामीलाई उनीतर्फ तानेको छ ।

हामी युट्युबमा हेर्छौं कहिलेकाँही त मुसायरामा उत्साह हराउँदै जाँदा जब स्टेजमा इन्दौरी इन्ट्री गर्छन् तब माहौल पहिलाको जस्तो रहँदैन । अर्कै भइसक्छ, दशैँ कवितामा लेखनाथ पौडेलले ‘हट्यो सारा हिलोमैलो हरायो पानीको वर्षा,’ भनेझैं ।

उनी गजल सुनाउन स्टेजमा जाँदै गर्दाको इन्ट्री नै गज्जबको लाग्छ मलाई । तपाईलाई लाग्दो हो, ‘अलि बढी नै गफ दियो,’ त्यो तपाईंको निजी कुरा हो, तपाईंलाई लाग्न पाउँछ । मैले मेरो कुरा गरेको, तपाईंको होइन ।

उनी एकपटक माथि आकाशतिर फर्कन्छन्, स्टेज अगाडि उभिएका दर्शकतिर फर्कन्छन्, दायाँबायाँ हेर्छन् । अनि नृत्यांगनाले संगीतको तालमा कम्मर हल्लाए झैँ गजलको लयमा आफ्नो हात माथिपट्टीबाट घुमाएर दर्शकसमक्ष ल्याउँदै गर्दा भन्छन्ः

गुलाब, ख्वाब, दवा, जहर, जाम क्या क्या है ?
मैं आ गया हुँ बता इन्तजाम क्या क्या है ?

हामीले (कम्तीमा मैले) उनलाई युट्युबमा सुनेको हुँ र युट्युबमै चिनेको हुँ । न त्यो भन्दा बढी न कम चिन्छु म उनलाई । उनी आफ्ना दर्शक स्रोतालाई गजलले ‘लुटपुट’ बनाउँछन् अनि मस्तिस्कको सम्झनागृहमा आफ्नो स्पष्ट तस्बिर बनाउँछन् कहिल्यै नमेटिने गरी । यो उनको विशेषता हो ।

उनी आफ्नो दिल दुखाइदिन यसरी आग्रह गर्छन् ।

वफा को आजमाना चाहिए था, हमारा दिल दुखाना चाहिए था
आना न आना मेरी मर्जी है, तुमको तो बुलाना चाहिए था ।

यदि उनी सम्झनामा आइहाले भने यस्तै यस्तै कुराले सम्झनामा आउाछन् उनी । यो भन्दा बढी उनलाई सम्झिरहनुपर्ने कुनै खास कारण छैन ।

तर, तपाईंलाई पनि लाग्न सक्छ, यो नै उनलाई सम्झनका लागि पर्याप्त छ । हो यस्तै कुरा गरिरहेका छन् थुप्रैले अहिले । उनीहरु भनिरहेका छन् ‘राहत साहब सम्झनामा रहीरहनु हुनेछ ।’

तर सम्झाउने धागोलाई पनि त हिउँद लाग्छ । वर्षा लाग्छ ! त्यो पनि मक्काउँछ र एकदिन चुँडिन्छ । यो प्रकृतिको नियम नै हो ।

र राहत साहबलाई पनि समयक्रमसँगै धेरैले विर्सनेछन्, यदि बिर्सनुलाई निरपेक्ष रुपमा बुझ्नुहुन्न भने यो सत्य हो । सँगै यो पनि वास्तविकता हो कि उनका रचनाहरु कालजयी छन् । र तीनले उनको सम्झना लामो समयसम्म ताजै बनाउनेछन् ।

इन्दौरीलाई बिर्सन नदिने केही कुरा छ भने त्यो उनको सिर्जना हो । आफ्ना तिनै सिर्जनामा उनी जीवित रहेसम्म मजस्तो चिन्दै नचिनेका मान्छेले पनि उनलाई बिर्सन सजिलो छैन ।

फेरि पनि वास्तविकता त यही हो, समयसँगै उनलाई पनि सबैले बिर्संदै जान्छन्, आफ्नैले पनि । तर, जब उनी सम्झिइन्छन्, सानदार रुपमा सम्झिइन्छन् । बिर्सनेले बिर्सिए पनि सम्झनेले इन्दौरीलाई सम्झँदा यस्तो दृष्यमा सम्झन्छ होला– गजललाई गम्लाङ्ग अंगालेर गजलकै ले मागेको जस्तै बडिल्यांग्वेजमा पर्फमेन्स दिँदै गरेका एक अद्भूत सायर ।

श्रावण २९, २०७७

Leave a Reply