मान्छे मरेपछि फर्किएर आउँदैन । कविता

तपाईले मरेको मान्छे
फर्किएर आएको देख्नु भएको छ ?
सुन्नु भएको छ ?
कतै पढ्नु भएको छ ??

नहुनु पर्ने हो
तर पनि देख्नु भएको छ भने
त्यो तपाईको मनको भ्रम हो ।
कहीँ सुन्नु भएको छ भने
त्यो तपाईलाई भ्रममा भुलाइएको हो ।
कतै पढ्नु भएको छ भने
त्यो फगत भ्रम घोकाइएको हो ।

मरेपछि मान्छे फर्किएर आउँदैन
एकमात्र यथार्थ यही हो ।

यथार्थ अरू पनि छन्
जस्तो कि
मान्छे फर्किन्छ मान्छेको मुखमा, मान्छेको गफमा
मान्छे फर्किन्छ कागजमा, मसीमा ।
मान्छेलाई बाँच्न असहज भएपछि
मरेको मान्छे फर्काउँछ स्वरमा
मरेको मान्छे ब्यूँताउँछ अक्षरमा ।
हो, उनीहरूलाई बाँच्न
बाँचिरहेका मान्छेमा विश्वास हुन्न
अनि खोज्दछन् सहारा, मरेका मान्छेको ।

तर
बुझ्न यो जरुरी छ कि
मान्छे फर्किनलाई मर्दैन्
बाँच्न पुगेपछि मर्छ
मर्ने रहर गरेपछि मर्छ ।

सोच्नुस् त,
तपाईलाई बाँच्न पुगेपछि
तपाई फेरी बाँच्न चाहनुहुन्छ र ?
तपाईको मर्ने रहर पूरा भएपछि
तपाई फेरी बाँच्ने रहर गर्नुहुन्छ र ?

हुन त,
बाँच्न जान्नु भएको छैन
र मर्ने रहर गर्दै हुनुहुन्छ
वा मर्नु पर्दैछ भने
तपाईलाई फेरी बाँच्ने रहर नहोला भन्न सकिन्न ।

तर रहर गर्दैमा
रहर पूरा हुन्न,
यो तपाईले त्यो बेला मात्र बुझ्नुहुन्छ ।
अहिले बुझ्न सक्नुहुन्न,
मान्छे मरेपछि फर्किएर आउँदैन ।

श्रावण २५, २०७७

Leave a Reply