दिवा स्वप्न फुर्ती । कविता

म समुन्द्रमा डुब्दा
समुन्द्र उर्लिएर पृथ्वी डुबाउथ्यो भने
हाम्फालिदिन्थे गएर समुन्द्रमा
बनाइदिन्थे चुर्लुम्म, यो पृथ्वी ।

वा पिएरै सकिन्थ्यो त
पिइदिन्थे सारा खोलानाला, समुन्द्र
बनाइदिन्थे बाँजो, यो धर्ती ।

पृथ्वीमा भएजति पानी
सूर्य निभाउन पर्याप्त हुन्थ्यो त,
सक्थेँ त, निभाइदिन्थे, त्यो एउटा सूर्य ।

वा पृथ्वीभन्दा माथि, टाढा पुग्दा सूर्य छेकिन्थ्यो भने
चन्द्रमाभन्दा पनि टाढा पुगिदिन्थे
बनाइदिन्थे अन्धकार, यो संसार ।

कहीँकहीँ वेगले वहिरहने
जहीँतहीँ हुने यी हावा
सक्थेँ त, एकै ठाउँमा जम्मा गरिदिन्थे
अनि ठूलो वेगमा सबैतिर
कुनै पनि ठाँउ नछुटाएर बहाइदिन्थे आँधी
बनाइदिन्थे उजाड, यी बस्ती ।

आगो खाएर आगो ओकल्न सकिन्थ्यो भने
उडाइदिन्थे धुँवा
बनाइदिन्थे खरानी, यो मरेतुल्य जगत् ।

मैले सक्थेँ भने त
यदि हुन्थ्यो भने त
म्याद सकिएको,
चल्न रोकिएको, अघि बढ्न बिर्सिएको,
शून्यताभित्र कोलाहल भरिएको,
कोलाहलभित्र निर्जन भएको,
निर्जनभित्र निस्सासिएको,
आफ्नो अस्तित्व गुमाएको,
जन्म-मृत्युको दोसाँधको रमितामा रमाएको
आँधो बनिसकेको यो सृष्टी
लगिदिन्थे शून्यमा
र फेरी सुरु गर्थे, नयाँ सृष्टी ।

श्रावण २५, २०७७

Leave a Reply