उ । कविता

उ आज पनि त्यसरी नै जलिरहेछ
जसरी हिजो जलेको थियो
जसरी बत्तिले पुतली जलाउँछ
जसरी बत्तिमा पुतली जल्न जान्छ
जसरी तिम्ले जलाएकी थियौ
हो, उ त्यसरी नै जलिरहेछ आज पनि ।

उ आज पनि त्यसरी नै बगिरहेछ
जसरी हिजो बगेको थियो
जसरी खोला बहन्छ निरन्तर
जसरी पानी बहन्छ अटुट
जसरी तिम्रो मायामा बहेथ्यो
जसरी तिम्रो लागी बहेथ्यो
जसरी तिम्ले बगाएको थियौ
हो, उ त्यसरी नै बहिरहेछ आज पनि ।

उ आज पनि त्यसरी नै गाइरहेछ
जसरी हिजो गाउँथ्यो
जसरी कोइली थाक्दैन कहिल्यै
जसरी नदी सुसाउँछ सदासदा
जसरी तिम्रो भाका गुञ्ज्याउथ्यो
जसरी गाउथ्यो तिमी
हो, उ त्यसरी नै गाइरहेछ आज पनि ।

उ आज पनि त्यसरी नै नाचिरहेछ
जसरी हिजो नाच्दथ्यो
जसरी विन बजाउँदा सर्प नाच्दछ
जसरी तिम्रो तालसँग चाल मिलाउँदै नाच्दथ्यो
जसरी नाचेथ्यो तिम्रो इशारामा
जसरी भुलेर हिड्न नै
हो, उ त्यसरू नै नाचिरहेछ आज पनि ।

उ आज पनि त्यसरी नै बलिरहेछ
जसरी हिजो बल्थ्यो
जसरी उज्यालो छर्न मैन बल्छ
जसरी मैन सकिन्छ, धागो बाल्न
जसरी बत्ति बल्छ आफ्नो मुन्तिर अँधेरो हटाउन नसकी
जसरी आफू बलेथ्यो तिम्लाई उज्यालो छर्न
जसरी उज्यालो छरेथ्यो आफूमूनि अँधेरो राखेर
हो, उ त्यसरी नै बलिरहेछ आज पनि ।

उ आज पनि त्यसरी नै पर्खिरहेछ ।
जसरी हिजो पर्खिएथ्यो
जसरी मुनाले मदनलाई पर्खिएकी थिइन्
जसरी मदनले मुनालाई भेट्ने सपना पर्खिएको थियो
जसरी पर्खिन्थ्यो तिम्रो पाइला तिम्रो घरअघिको चोकमा
जसरी पर्खाउथ्यौ तिमी हरदिन
हो, उ त्यसरी नै पर्खिरहेछ आज पनि ।

उ आज पनि त्यसरी नै बहुलाइरहेछ
जसरी हिजो बहुलाएथ्यो
जसरी महादेव सतीको वियोगमा बहुलाएका थिए
जसरी दूधे सन्तान हरिदा बहुलाउँछे एउटी आमा
जसरी तिमी ढिला आउँदा बहुलाउथ्यो ति दिन
जसरी तिमी कहिल्यै नआउँदा बहुलाएथ्यो त्यो दिन
जसरी तिमी नभेटिदा बहुलाएथ्यो त्यो दिन
हो, उ त्यसरी नै बहुलाइरहेछ आज पनि ।

उ आज पनि त्यसरी नै आफूलाई बिर्सिरहेछ
जसरी हिजो बिर्सिएथ्यो
जसरी बाफ भएर बिर्सिरहेछ समुन्द्रलाई पानी
जसरी पानी भएर बिर्सिरहेछ बाफलाई बादल
जसरी तिम्रो यादमा बिर्सने गर्थ्यौ
जसरी आफ्ना यादमा बिर्साउने गर्थ्यौ तिमी
जसरी तिम्रो याद सम्पूर्ण मानेर बिर्सिएथ्यो संसार
हो, उ त्यसरी नै आफूलाई बिर्सिरहेछ आज पनि ।

उ आज पनि त्यसरी नै तड्पिरहेछ
जसरी हिजो तड्पिएथ्यो
जसरी ताप्केबाट उछिट्टिएर भुङ्ग्रोमा परेको माछा तड्पिन्छ
जसरी पहिलो भेटपछि तड्पिएथ्यो
जसरी तिम्ले विशेष कुरा भन्नु छ, भेट भन्दा तड्पिएथ्यो
जसरी तिमी भेटिदै नभेटिएपछि तड्पिएथ्यो
हो, उ त्यसरी नै तड्पिरहेछ आज पनि ।

उ आज पनि त्यसरी नै आफूलाई सम्हालिरहेछ
जसरी हिजो सम्हाल्थ्यो
जसरी पोल्टाको सम्हाल्दा हातको खस्छ
जसरी हातको सम्हाल्दा पोल्टाको खस्छ
जसरी तिम्रो लागी संसार सम्हालेथ्यो,
जसरी मात्र तिम्रो लागी सम्हालिएथ्यो ति दिन
जसरी तिम्लाई सम्हाल्दासम्हाल्दै आफैँलाई सम्हाल्न बिर्सिएथ्यो
हो, उ त्यसरी नै आफूलाई सम्हालिरहेछ आज पनि ।

असार २६, २०७७

Leave a Reply