टाढिएको समीप । कथा

‘कस्तो क्वार्रक्वार्ती हेरेको होला । मान्छे नै नदेखेको जस्तो ।’ मनमनै भनिन् र उस्लाई नदेखेको झैँ गरी हातमा भिरीराखेको ब्याग मिलाए झैँ गरिन् । घर फर्कने हतारोमा थिइन् सपना तर बस आइरहेको थिएन । जति आइरहेको थियो, अन्तअन्त जाने मात्र थियो । उभिएर बस कुरीरहेकी थिइन् ।

दुब्लोदुब्लो, ख्याउटे, कालोकालो अनुहारको, कपाल पनि जिङ्ग्रीङ्ग छोडिएको, हेर्दा नै असभ्य जस्तो लाग्ने केटा उन्लाई घुरेर हेरीरहेको थियो । सपनालाई अप्ठेरो लाग्यो । अप्ठेरो मान्दै अलिपर सरिन् । मान्छेको भिडले छेकिने कोसिस गरीन् । तर त्यो केटा पनि अलि अघि सरेर उनलाई नै हेर्न थाल्यो । उस्तै गरी । क्वार्रक्वार्ती ।

सपना भएतीरबाट बस आउने गर्थ्यो । त्यो केटाले त्यतातिर हेर्दा सपना बिचमा पर्नु स्वभाविक थियो । त्यसैले सपना अलिपर सरेकी थिइन् ताकी उस्को नजर बस आउनेतीर हुँदा आफूमा नपरोस् । तर त्यो केटा उन्लाई नै हेरीरहेको थियो । अब यसमा दुईमत थिएन ।

‘पुलिस बोलाउँ वा अरु मान्छेको सहायतामा उस्लाई उस्को कर्मको सजायँ दिउँ’ कि जस्तो नलागेको पनि होइन । तर ‘होस्, यस्ताको मुख के लाग्नु’ भनेर चुप नै लागिरहिन् । र बस कुर्न थालिन् ।

बस आइरहेको थिएन । भर्खर एउटा आएको थियो । त्यो पनि अन्तै जाने रहेछ । ‘त्यसमै गएर त्यो केटाबाट छुट्कारा पाउँ कि’ नसोचेकी पनि होइनन् तर बस आइहाल्छ कि भन्दै आश गरेर पर्खिरहिन् । अभिइरहिन् । कुरीरहिन् ।

‘आइदिहाले पनि हुन्थ्यो नि ।’ मनमनै कामना गर्न थालिन् । समय कटाउन गाह्रो भयो । उता त्यो केटाको नजर उनीबाट हटेकै थिएन । संसारकै सुन्दर चिज भेटेजस्तो, बर्षौदेखी देख्नलाई तड्पिएर बसिरहेको जस्तो । यस्तै गरी नजर अड्याएर राखेको थियो ।

गाडिएका आँखा, अँध्यारो अनुहार, नकोरेको/वेवास्ता गरीएको कपाल, अनि जिर्ण लाग्ने शरीर । उन्लाई त्यो केटा भूत हो कि झैँ पनि लाग्यो ।

विचारहरू तीव्र गतिमा दौडिरहेका थिए । एकचोटी त ‘के हेर्छस् ओई, तेरो समस्या के हो ?’ भन्दै थर्काइदिउँ पनि नलागेको होइन । ‘मान्छेको शरीर भिरेको जनवारसँग के बोल्नु !’ आफैँलाई सम्झाइन् । अनि कुर्न लागि नै रहिन्, घर फर्काउने बस ।

उकुसमुकुस र छट्पटीको पाँच मिनेट बित्यो । लाग्यो बर्ष बित्यो, एक जुग नै बित्यो । बल्लबल्ल बस देखापऱ्यो । मान्छेलाई धकेल्दै, हतार गर्दै सबैभन्दा अगाडी पुगिन् । आफूलाई लखेट्न चाहन्थिन् । सकेभन्दा छिटो भगाउन चाहन्थिन् ।

बसमा तछाँडमछाँड गरेर उक्लदै गर्दा एकचोटी टाउको घुमाएर त्यो केटा भएतिर हेरीन् । त्यो केटाको नजर उनमै थियो । ‘अझै मलाई हेर्दै छ । को हो यो ?’ आफैँलाई प्रश्न गरिन् । उत्तर भेट्न भने सकिनन् । कुनै दृश्य नै फेला परेनन्, उ जस्तै कोही भेटिएन मस्तिष्कमा ।

दिमागमा जोड लगाएर सोच्न लाग्दै थिइन् । झ्यालको छेउमा एउटा सिट खाली रहेछ । बसिहालिन् । उन्ले ख्याल नै गरिनन् कि त्यो झ्यालबाट त त्यो केटाले झन् मज्जाले देख्न सक्थ्यो । ‘अर्को लहरको सिटमा बस्नु पर्ने रहेछ, मेरो शुद्धि ।’ आफैँलाइ धिक्कार्न लागिन् ।

मान्छे चढ्दाचढ्दै पनि बस बिस्तारै गुडिरहेको थियो । एकैछिनमा भरिइहाल्यो । अरुवेलामा बसिरहन्थो, आज हिडिहाल्यो । ‘हिडिहालोस्’ चाहँदै थिइन् । त्यही भयो ।
त्यो केटा त्यही ठाउँमा, त्यसैगरी अभिइरहेको थियो । त्यसैगरी हेरीरहेको थियो । एकटकले ।

बस बाटो लाग्यो । उ बाट टाढा लाग्न थाल्यो । सपना केही ढुक्क जस्तो भइन् । लामो सास फेरीन् । र फेरी त्यो केटातिर हेर्न पुगिन् । बस टाढा हुँदै गर्दा त्यो जिर्ण शरीर पूरा देखिन थाल्यो । अनि उन्लाई लाग्यो, ‘कहीँ त पक्कै देखेको छु ।’ बिस्तारै दृश्य पर पुग्यो । सानो हुन थाल्यो । र छिनमै ओझेल पऱ्यो ।

सपनाले मस्तिष्कलाई दवाव दिन थालिन् । सोच्न थालिन् । झट्ट दिमागले ‘हो, उ त्यही हो ।’ भन्यो । आफू विस्वस्त हुन खोजिन् । ‘उ त्यही होला त ? तर उ त विल्कुल भिन्न छ । तुलना योग्य नै छैन । दुई ध्रुवका जस्ता छन् ।’

हो होइन पक्का गर्न चाहन्थिन् । उस्को नाम सम्झिन खोजिन् । तर सकिनन् । जति गर्दा पनि याद भएन । साथीहरूलाई फोन गरेर सोधूँ झैँ, सोचिन् । मोवाइल निकालिन् । ‘कस्लाई फोन गरूँ ?’ अलमलमा परिन् । फेरी सोचिन्, ‘के भनेर सोध्ने ?’ अनि त आँट नै गर्न सकिनन् । अप्ठेरो लाग्यो । हिम्मत नै जुटेन ।

विगत नै त्यस्तै थियो । ‘मजाकमा मजाक थपिने मात्र हुन्छ, भो सोध्दिन् ।’ मन बुझाउने कोसिस गरिन् । तर मनमा छट्पटी चलिरह्यो । ‘साँच्चै उही हो त उ ? यस्तो कसरी हुन सक्छ ?’ उन्लाई थाहा भएअनुसार उ त ‘उ’ जस्तै नहुनुपर्ने हो । यतिविधि भिन्न हुनु नपर्ने हो । कुराहरू खेली नै रहे । उ ‘उ’ नै हो कि होइन खुल्दुली चलि नै रह्यो ।

झट्ट केही सम्झिए जस्तो लाग्यो । एउटा सुत्र फेला परे जस्तो लाग्यो । उ सम्म पुग्ने अर्थात् उ बारे थाहा पाउने बाटो भेटिए जस्तो लाग्यो । हात मै रहेको मोवाइलको लक खोलिन् । फेसवुक खोलिन् । सिधैँ ब्लक लिस्टमा गइन् । र देखिन्, उस्को नाम, उस्को आइडी ।

‘तिम्रो समीप’ । यही त थियो उस्को आइडी । अर्थात् समीपको आइडी । उन्लाई आफ्नै आइडी जस्तो लाग्यो । अहिले पनि । पहिले झैँ । नलाग्नु पनि त किन, खोलिदिएकी थिइन् उनैले । चलाउने अधिकारसम्म उनमा थियो । ‘अहो जुग बितेछ ।’ सोचिन् ।

झण्डै दशक अघि समीप र सपनाको भेट भएको थियो । दुवै सँगै पढ्थे । कलेजको जिन्दगी रमाइलो थियो । मित्रता गाढा थियो । गाढा मित्रताले अझ अरु अर्थ खोज्न थालेको थियो । झण्डै बिर्सन पो लागिछन् सपनाले । बिस्तारै यादहरू हिजोको घटना झैँ मस्तिष्कमा भ्रमण गर्न थाले ।

गाउँबाट भर्खर सहर छिरेको थियो समीप । पढ्न भनेर आएको थियो । हट्टाकट्टा, मोटोघाटो थियो । हेर्दै एउटा बाघले पनि खाइसक्दैन जस्तो देखिन्थ्यो । गाउँको दहीघ्यूको तागत उस्को ज्यानले देखाउँदैथ्यो । सँधै खुशी देखिइरहने उ हाँस्दा गालाका मासु हल्लिन्थे ।

त्यसो त सपना पनि गाउँबाट पढ्न भनेर नै सहर छिरेकी थिइन् । तर केहि बर्ष भइसकेको थियो सहरमा डुल्न थालेको । सहर धेरै बुझिसकेकी थिइन् । सहरलाई आफ्नो बनाउन भ्याइसकेकी थिइन् । समीपको रहर पनि त्यही थियो, सहरलाई आफ्नो बनाउने ।

कुरा गर्न सजिलो माध्यम हो भनेर सपनाले नै त हो नि कर गरीगरी समीपलाई पनि फेसबुक चलाउन बाध्य पारेकी । चलाउँदिन भनेर जतिभन्दा पनि सुख पाएन । ‘सपनाले सुख नदिने भइन ।’ यही भन्ठान्यो । डराइडराइ मान्यो । खै किन डराउँथ्यो समीप ।

मित्रता गहिरो गरी जम्न थाल्यो । सपनाले आफैले खोलिदिइन फेसवुक आइडी पनि । नाम राख्दिइन्, ‘तिम्रो समीप’ । खै के भेटिन् त्यस नाममा, धेरै पटक दोहोऱ्याइरहिन् । मनमनै ।

समीपलाई राम्ररी चलाउन आउँदैनथ्यो । सपना सिकाउथिन् । यसो गर्नुपर्छ, उसो गर्नुपर्छ, आदी इत्यादी भन्दै । आफैले राखिदिएको पासवर्ड थाहा नहुने कुरै थिएन । आफ्नै मोवाइलमा पनि लगइन गरेर राखेकी थिइन् सपनाले । एकान्तमा पनि प्रोफाइल हेर्थिन् । पढ्थिन् नाम, ‘तिम्रो समीप’ । अनि मख्ख पर्थिन् ।

दिनहरू आनन्दका थिए । पढ्ने वाहेक अरू काम थिएन । अनि काम खोज्थे, घुम्न जाने । आज कहाँ जाने ? सदाको दुवैको सवाल हुन्थ्यो । केहीवेर विवाद पनि हुन्थ्यो । तर घुम्न निस्कन छोड्दैनथे ।

बर्ष बित्न थाल्यो । पढाइ चल्दै गयो । मित्रता अब नातामा बदल्ने चाह दुवैमा हुन थाल्यो । दुवैजना खुशी देखिन्थे । सँगै जीवन काट्ने सपना देख्नथाले । वाचा बाध्न थाले । ‘पढाइ सकेर जागिर गर्ने, आफ्नो खुट्टामा उभिन सक्ने बन्ने अनि बिहे गर्ने’ योजना बनाउन थाले ।

जहिले पनि, जता जाँदा पनि सँगै देखिन्थे । सँधै हाँसी रहेका, खुशीमा डुबिरहेका देखिन्थे । देख्नेले लोभ गर्थे, ‘यस्तो जोडी मेरो नि भए’ भनेर । एउटा चिरपरिचित जोडीको रुपमा चिनिन्थे, कलेजमा ।

दिनहरू यसैगरी चल्दै थिए । कलेजको पढाइ सकिन लाग्दै थियो । एकदिन दुईबिच सामान्य विवाद भयो । विवाद सामान्य थियो, समिपको पोष्टको एउटा कमेन्ट डिलिट गर्ने कि नगर्ने भन्ने बारे ।

समिपले फेसवुकमा एउटा फोटो राखेको थियो । त्यसमा आएको एउटा कमेन्टले सपना तात्तिएकी थिइन । ‘ओ ह्याण्डसम, लभ यू ।’ कमेन्ट यही थियो एउटा केटीको, जो त्यही कलेजमा नै पढ्थिन् ।

सपनालाई लाग्यो, उन्को सम्पत्तिमा कसैले आँखा लगाउँदै छ । त्यो भन्दा पनि ठूलो आपत्ति त समीपलाई त्यो कमेन्ट हटाउ भन्दा ‘होस्, किन हटाउनु ।’ भन्ने जवाफ ।

सपनासँग पासवर्ड थियो, आफैँले हटाउन पनि सक्थिन् । तर मनमा कताकता शंकाले वास गर्न थालिसकेको थियो । कमेन्ट हटाउन जिद्दी गरिरहिनन् । तर समीपले हटाउन मानेन । रिसले चुर भएकी सपनाले कमेन्टको सट्टा समीपको त्यो फोटो नै हटाइदिइन् । सानो विवाद अब ठूलो बन्न थाल्यो । समीपले सपनालाई गाली गऱ्यो । रिसाउँदै फेसवुकको पासवर्ड फेऱ्यो । योभन्दा ठूलो कारण नै चाहिएन, सपनाले समीपलाई ब्लक गरिन् । एकपछि अर्को घटना एकले अर्कोलाई चिढ्याउने, बदला लिने जस्तो देखिन थाल्यो ।

दुई जना दुई ध्रुवमा फर्किए । एकदेखी अर्को क्रुद्ध भए । भेट हुँद झगडा हुन थाल्यो । फोनमा झगडा गरेर झुण्डिन थाले । एकले अर्कोलाई गाली गर्न र भन्न कोही बाँकी राखेनन् ।
‘तिमीभन्दा राम्रो पाउँछु ।’
‘तिमीभन्दा राम्री भेट्छु ।’
‘तिमी विना पनि खुशी हुन सक्छु ।’
‘तिम्ले मलाई छोडे पनि म बाँच्न सक्छु ।’
‘तिमी मरे पनि मलाई केही फरक पर्दैन ।’
यस्तै-यस्तै धाक, धक्कु, फूर्ती एकले अर्कालाई सुनाए, लगाए । दोहोऱ्याए । पटक पटक ।

अन्ततः उनीहरू छुट्टीए । आगोको एक झिल्कोले घर जलाएझैँ उनिहरूको सम्बन्ध पनि खरानी भयो, सानो विवादले । दोष एकले अर्कोलाई थुपारे । मिल्नेतिरभन्दा झगडा गर्नेतिर दुवैजना लागे । विवादलाई उचालेर एकले अर्कोलाई पछार्नमा नै व्यस्त रहे ।

त्यसपछिका दिनमा समीप कमेन्ट गर्ने त्यही केटीसँग नजिक भयो । सपनालाई थप बल पुग्यो आफू सहि छु भन्नेमा ।

बाहिरि खुशी देखिएको नाटक दुवैले गर्न थाले । मनको रिस नघटेकोले रुनु पर्ने कारण देखेनन् । मनमा ईख पालि नै रहे । पहिले जति खुशी त थिएनन् तर दुःखी नहुने हरसम्भव प्रयत्न गरि नै रहे ।

केहि समयमा पढाइ सकियो । दुवैजना आ-आफ्नो बाटो लागे । जागिर खान थाले । एकअर्काप्रति पूर्ण वेखबर रहिरहे जस्तो वेवास्ता गरिरहे । करीव बर्षदिन पछि सपनाले बिहे गरीन् । केही समयपछि समीप र त्यही केटीबिच पनि बिहे भयो भन्ने कुरा सपनाको कानमा पऱ्यो तर वास्ता नै नभए जस्तो गरीन् ।

दिनहरू हप्ता, महिना, बर्ष गर्दै दशक बित्न लागेछ । यादबाट पनि टाढा भइसकेछ समीप । पहिले त्यस्तो मोटोघाटो, हँसिलो समिप अहिले ठिक विपरित, दुब्लो, मरञ्च्यासे । पत्याउन अझै गाह्रो भयो सपनालाई । अनि समिपको प्रोफाइल चाहार्न थालिन् । नयाँ पोष्ट केही थिएन । बर्षौ अघिका पुराना पोष्टहरू थिए । बिहेका केही तस्बिर रहछन् । अरु केही रहेनछ ।

‘त्यो केटा समीप होइन ।’ उनलाई यस्तै लाग्यो । मनले मान्न चाहेन कि उ समिप नै हो । अनि यही निष्कर्षमा पुगिन् । एकछिन बाहिरतिर नजर डुलाइन् । बस आफ्नो गतिमा दौडिरहेको थियो । सडकको मान्छेहरू आफ्नो गतिमा हिडिरहेका थिए । ठिङ्ग उभिरहने घरहरू विपरित दिशातिर गइरहेका थिए । फेरी लामो सास तानिन् । मन शान्त भए जस्तै भयो । झट्ट दिमागमा केही कुरा आए जस्तो भयो । अनि मोवाइलमा फर्किइन् । र लागिन त्यो केटी अर्थात् समीपको श्रीमतीको प्रोफाइलमा ।

सपना छक्क परिन् । आफ्नो अघि भर्खरको निष्कर्षमा पुनः सोच्नुपर्ने ठानिन् । पोष्ट तथा फोटोहरू धेरै नै थियो । हरेकदिन जसो अपलोड भइरहेका थिए । तर फोटोमा त्यो केटीको साथमा अर्कै केटा थियो ।

दिमागमा रिड्गटा चलेजस्तो भयो । ‘हैन होला ।’ सोचिन् । अनि पुराना पोष्ट हेर्न सिधै ‘बर्ष’ अनुसार हेर्न थालिन् । कलेज सकिएताकाको बर्षमा गइन् ।

केहीबेर मै भेटिन् उनीहरूको बिहेको तस्बिर अर्थात् समीपको बिहेको तस्बिरहरू । दुवैजना खुशी देखिएका थिए । अरू फोटोहरू पनि हेर्न थालिन् । पोष्टहरू थोरैथोरै मात्र रहेछन्, त्यो समयमा ।

एकैछिनमा भेटिहालिन्, जे खोज्दै थिइन् । भेटिने खोजेको कुरा त हो नि । दुवैजना रहेको फोटोको क्याप्शनमा लेखिएको थियो, ‘लेट्स टेक अ ब्रेक, गुड बाइ ।’

अब अरु पोष्ट हेर्नु परेन । सबै कुरा स्पष्ट भइसकेको थियो । त्यो अघि देखिएको केटा समीप नै थियो । ‘विचरा’ मनको कतै कुनामा कसैले भनिरहेको जस्तो लाग्यो । दया लागे जस्तो भयो ।

‘अघि नचिनेकोमा ठिक भएछ’, भन्ठानिन् । ‘चिनेको भए के गर्थे होला?’, सोच्न सकिनन् । हो गल्ति भएकै थियो । तर उनमा पश्चाताप थिएन । पश्चाताप गर्नु पर्ने कारण पनि त थिएन । जिन्दगी राम्रैसँग चल्दैथियो त पश्चाताप किन गर्नु । त्यसमाथि उस्को त्यो हालत । झन् खुशी हुनुपर्ने कारण थियो ।

मान्छेले यसैगरी नसोच्लान् । आफूलाई यति कठोर नपाउँलान्, नबनाउँलान् । तर यस्ले सोचाइमा, व्यवहारमा केही न केही भूमिका खेल्छ, प्रभाव जरूर पार्छ । अप्रत्यक्ष रुपमा नै किन नहोस् ।

‘कर्मको फल सबैले भोग्नुपर्छ ।’ यही सोचिन् । र मोवाइल व्यागमा राखिन् । झर्नेबेला भइसकेको रहेछ । बस रोकियो । उनी ओर्लिइन् ।

श्राणव १७, २०७७

Leave a Reply