एक साँझ । बार्दलीमा

दिनहरू त यसै बित्दैछन् । शब्द, भाव अनि अर्थ खोज्न थालियो भने त केही विशेष छैन । उस्तै त हुन, नयाँ नौलो केही भएकै छैन । तर दिनभित्रमा पनि केही क्षणहरू भने विशेष भइनैरहेका हुन्छन्, भइरहेछन् । हो साना कुराले विशेष बनाइरहेका हुन्छन् ।

आज धेरै दिनपछि साँझ बार्दलीमा बसेँ । बर्खा लाग्न थालेपछि बस्न छोडेको थिएँ । कारण थियो, लामखुट्टे, भुसुना तथा किराहरू । आधा बर्खा लाग्दा लामखुट्टे तथा भुसुनाहरू घटेको छ ।

साँझ चिसो बतास चल्दै थियो । चिसोभन्दा पनि शितल भन्नुपर्ला । हिजोअस्ती यस्तो बतास खासै चल्दैनथ्यो । बर्खाअघि चल्थ्यो ।

बतासको स्पर्श खाँदै सोचाइमा हराउनु अर्को स्वर्ग हो । यो गर्मीमा चिसो हावा त्यसैपनि स्वर्ग नै हो, अझ सोचाइमा डुब्नु । आहा । मस्तिष्क ताजा बनाउनु, साँच्चै स्वर्गको अनुभूती हो ।

चराहरू यताउता दौडिरहेका थिए । नाम पनि के के हो, थाहा छैन । चिर्विर गरेका छन् । खेलिरहेका जस्ता देखिन्छन् । एक हुल बकुल्ला पश्चिमतिर लागे । एकैछिनमा अर्को हुल पनि त्यतैतिर लागे । समूहमा उडिरहेका । सुरुको एउटा जता लाग्यो, बाँकी सबैले उसैलाई पछ्याएर उतै लाग्ने । कहाँ पुग्नु पर्ने होला । मनमा ख्याल आयो । उज्यालो मै पुग्लान कि नपुग्लान् ? थाहा छैन । तर आफ्नो रफ्तारमा उडिरहेछन् ।

बर्खा आधा कट्दा घर वरपरका मकै बारीमा अग्लिनुपर्ने जतिगरी मकै अग्लिसकेका छन् । मकैको धानचमरा बूढा हुन लाग्दैछन् । मकै पोलेर खान हुने भइसकेको छ । मकैका पातहरू गाढा हरियो भइसकेका छन् । मकैका पातमा बोडीका लहरा एउटा बोट अर्को बोट गर्दै खेलिरहेका छन् । मकैको बोटको तलतलका पात त छिप्पिइसकेका छन् । कसैले निकालिदियोस् भनेर प्रतिक्षा गरिरहेको जस्तो लाग्छ ।

साथमा भुईँबाट मकैको बोटलाई ढाकूँ भनेर उचालिन खोजेका तर असमर्थ झाँर तथा घाँसको साथले ति पात पक्कै खुशी होलान् । ति घाँसहरू मकै उम्रिएपछिका दिनतिर मकैलाई छोप्ने सामर्थ्य राख्थे, बढ्नै नदिनेसम्म सामर्थ्य राख्थे । तर मकैधनीको मकैप्रतिको साथ । अनि के सक्थ्यो । घाँस जत्ति नै स्वादिलो भएपनि गाईभैँसी आइदिँदैनन् क्यारे, उस्को समर्थनमा । आउथे भे स्थिति भिन्न हुन पनि सक्थ्यो होला । सायद घाँस पनि मकैका पात भेट्न पाउँदा खुशी नै छ होला ।

त्यही मकैबारी, घाँसका झाँड् बाट ओइरिँदै आउने त हुन नि लामखुट्टे, भुसुना । तर बर्खा गहिरिँदै गर्दा, झरी बाक्लिदै गर्दा ती लामखुट्टे, भुसुनाको पनि दिन ठिक चलिरहेको छैन । त्यसैले कम देखिन थालेका होलान् ।
धेरैदिन पछि बार्दलीबाट अर्को दृश्यपान भयो, सूर्यास्तको ।

झरी झरीरहँदा बादलले आकाश सहित वरपरका अग्ला डाँडा नछोड्दा सूर्यको बिदाइ देख्न पाइएकै थिएन । आज बिहानदेखी झरी मत्थर हुँदा दिउँसोदेखी घाम चर्किन पाएको थियो । र सूर्यास्तको दृश्यपान सम्भव भएको थियो ।

मकैको बोटहरूको बिचबाट गयो सूर्य, आजलाई । त्यसपछि केहीबेर आकाशमा आफ्नो किरण छर्दै बराल्लिरह्यो, आकाशमा । हो, त्यही दृश्य त हो नि मनमोहक । बादल पनि डढ्दै थिए । निलो भूइँमा कतै सेता बादल, कतै पहेँला (हो कि बैजनी) बादल (खै कस्तो हो कस्तो, म त रङ्गका नाम पनि जान्दिन, वर्णन गर्न पनि असमर्थ छु ।), कतै काला बादल । कतै गाढा, कतै फिक्का । कतै थोरै थोरै, कतै धेरैधेरै । कतै छरिरहेर रहेका, कतै झुरुप्प भएर रहेका । आहा, कति आनन्द मान्यो आँखाले ।

त्यतिबेलै त हो नि मैले चाल पाएको, दिन छोट्टिइसकेछ भन्ने । अँध्यारो केहीबेरमै भयो । अल्लि चाँडै भएको जस्तो लाग्यो । सम्झिएँ, अनि बुझेँ, साउनको आधा दिन सकिन लागिसकेछ । बिहान पनि दिन छोट्टिइसक्यो, साँझ पनि दिन छोट्टिइसक्यो । पृथ्वी अर्को दिशामा कोल्टिएर चल्न थालिसक्यो ।

अनि अर्को दृश्य पनि आँखामा पऱ्यो, घाम डुबिसकेपछि । आधा आकाश काटेर आइसकेको रहेछ जून । हो, पूर्णिमा आउँदै रहेछ, चाँडै । साँझको अँध्यारोमा प्रकाश छर्ने कोशिशमा थियो चन्द्रमा ।

मैले नमाने पनि, नचाहे पनि दिन फेरीइरहेका छन्, फेरीइनै रहन्छन् । तर पनि मेरो आपत्ति छैन । बरु नयाँ दिन, नयाँ दृश्य यसैगरी हेर्ने चाहा छ, चाहा भइरहन्छ । सधैँ सधैँ ।

श्रावण १२, २०७७

Leave a Reply