खुशीको झोक्का | कथा

“मसँग बिहे गर्छौ ?” फोन उठाएर बोल्नु अघि उतैबाट आवाज आयो ।

चिसोले सहरलाई छोप्दै थियो । सहर कठ्याङ्ग्रोले जम्दै थियो । यही कठ्याङ्ग्रोलाई जितेर निधाएकी थिई रञ्जना । फोनको प्रश्नले निन्द्रा तत्क्षण गायव भयो । जे कुराले लखटिरहेको हुन्छ त्यसैले त हो नि अत्याउने, होस् हवास उडाउने । रञ्जनालाई त्यस्तै भयो । घडी हेरी भर्खर अर्को दिन सुरु भएको रहेछ । अर्थात् निदाएको धेरै समय भएको रहेनछ । गहिरो निन्द्रामा पुग्नु अगावै कसैले जगाइदियो ।

कसैले जिस्क्याउँदै हो कि ठानेर, “हजुर ?” मात्र भनि ।

“ह्याप्पी बर्थ डे ।” उ बोल्यो । तर भिन्न विषय । रञ्जना झन् अन्यौलमा परी ।

हो उस्को बर्थ डे थियो । तर अघिल्लो दिन । अर्थात् जन्मदिनको दिन सकिइसकेर अर्को दिन लागिसकेको थियो । तर शुभकामना भर्खर आउँदै थियो । फेरी यसपाली उन्ले जन्मदिन मनाइनन् भन्दा पनि हुन्थ्यो । कुनै उत्सवविना जन्मदिन गएको थियो । कसैले सताउँदैछ, यस्तै ठानिन् ।

“हेल्लो ।” धन्यवाद भन्नुपर्थ्यो होला तर भन्न मन नै थिएन । भनिनन् ।

“मलाई चिन्यौ ?” कस्तो प्रश्न ? अचम्ममा अचम्म पर्दै थिइन् किनकी परिचय सुरुमा हुनुपर्थ्यो । त्यसपछि पो अरु संवाद हुनु पर्थ्यो । तर यहाँ उल्टो हुँदै थियो । उस्ले उल्टो गरिरहेको थियो । अर्थात् फोनको अर्कोपट्टि झुण्डिरहेको उ थियो । आवाजले त्यही भन्थ्यो । आग्रहबाट पनि त्यस्तै अनुमान लगाउन सकिन्थ्यो ।

“तिमी ??” खुशी मिश्रित आश्चर्यसहितको भावमा सोधिन् ।

“हो, म ।” उस्को जवाफले आफ्नो अनुमान सहि भएको बुझिन् रञ्जनाले ।

उ ‘उ’ थियो । महिनादिन अघि मात्र त हो भेटिएको । त्यसपछि भेटिँदा पनि भेटिएन । भेट्ने चाह पनि भएन । तर नभेटिएर पनि सताइरह्यो । बारबार । हरेक पल ।

उ त्यही व्यक्ति थियो जस्ले त्यसवेलादेखी रञ्जनालाई विचलित बनाएको थियो । वेचैनमा बस्न बाध्य पारेको थियो । न कुनै उत्सव, न कुनै समारोह । सबथोकदेखी विरक्त बनाएको थियो ।

एक महिना अघि एक साँझ बार्दलिमा बसेर कफिको चुस्की लगाउँदै सहर छिर्न लागेको साँझको चिसो लखेट्दै थिइन् । चिसो सिरोटोलाई हार्न बाध्य गराउँदै थिइन्, कफिको तातोले । आनन्द लिदैँ थिइन्, दुईको सङ्घर्ष, दुईको जुधाई । उन्को समर्थन कफिलाई थियो । त्यसैले कफीले रमाइरमाइ हराउँदै थियो, बालक चिसोलाई ।

“सुन त नानी ।” आमाले कोठाभित्रबाट भन्नुभयो ।

“हजुर भन्नु न ।” बाहिरतिरको दृश्यबाट नजर नहटाइ रञ्जना बोलिन् ।

“भोली अफिस बिदा लिएस् है ।” आमाले अनुरोध गर्नुभयो ।

“किन र आमा ? के छ र भोली ?” उत्सुक हुँदै सोधिन् । कतै घुम्न जाने योजना पो हो कि । मख्ख परिन् । तर यो बेलाँसम्म योजना बारे केही थाहा नहुँदा होइन होला पनि भन्ठानिन् ।

“के हुनु नि भोली तलाई हेर्न केटा आउँदैछन् । राम्री भएर बसेस् ।” रुखो स्वरमा हजुरआमाले आदेश दिँदै भन्नुभयो ।

“तर आमा ….।” रञ्जना केही नबुझेँझैँ बोल्न खोजिन् तर शब्द भेटिनन् । भन्न त चाहन्थिन कि ‘मलाई बिहे गर्नु छैन् । आउनु पर्दैन भन्दिनु ।’ तर भनिनन् ।

“यता आएका छन् रे । आउँदा पस्ने रे ।”, आमाले सम्झाउँदै भन्नुभयो । “के भो त, केटो राम्रो छन् रे । मन नपरे मन परेन भने भइहाल्यौ । जमाना हाम्रो जस्तो कहाँ रह्यो र !”

आमाको कुरा पनि ठिकै लाग्यो । र सोधिन्, “कति बेला हो आमा ?”

“बिहानै आउने रे, नौ बजे तिर ।” आमाले जवाफ दिइन् ।

‘भनेसी अफिस त भ्याउछु होला । ढिला आउँछु भनेर जानकारी गराउनु पर्ला ।’ मनमनै सोचिन् । “ए, हुन्छ ।” आमालाई भनिन् ।

‘फोटो होला नि केटाको ?’ आमालाई सोधुँ कि लाग्यो तर रोकिन आफैँलाई । ‘होस्, भोली भेट भइहाल्छ नि । र पनि देख्न पाएँ एउटा आकृति मस्तिष्कमा हुन्थ्यो खेलाउनलाई’ भन्ने सोचिन् ।

बिहे गर्ने उमेर भएको थियो । तर आजसम्म यस्तो प्रसङ्ग चलेको थिएन् । केही कौतूहलता भयो, केही लाज लागे जस्तो भयो तर सहरमा हुर्केबढेकी भएर होला सङ्कोच लागेन् । यस्लाई स्वभाविक मानिन् । तर मनमा कहिँकतै डर भने थियो । आमाले भनेको शब्द मनमा खेल्न लाग्यो, ‘केटो राम्रो छ रे ।’ हुन त बिहे बारे खास्सै केही सोचेकी थिइनन् । केटो यस्तो होस्, उस्तो होस् केही कल्पना थिएन । आमाले राम्रो भनेपछि मख्ख पनि परिन् ।

सबैले भन्ने त यही त हो नि । आमाको कानमा पुग्ने यही त हो नि । केटा राम्रो छैन भन्ने सुन्यो भने कस्ले घरमा आउन देला र । तर पनि रञ्जना आमाको कुरामा पूर्ण विस्वस्त भइन् । शंका कतै भएन् । बरू कल्पनामा डुब्न लागिन । राम्रो भन्ने शब्द मनमा खेलाइरहिन् ।

कपमा नसकिएको कफी सेलाएछन् । बाहिरको चिसोले जितेछ । थाहै पाइनन् । आफैँलाई पनि चिस्याउँदै रहेछ । आमाले भित्र बोलाउँदा पो चिसो हावाले आफ्नो काम तिव्र पार्न थालिसकेको थाहा पाइन् ।

भनेकै समयमा केटाको परिवार आइपुगे । साथमा आमा, बुबा र पण्डित थिए । स्वागत भयो । गफगाफ भयो । थोरै नास्ता सहित चियापान भयो । केटा र केटीको पनि छुट्टै गफगाफ भयो । सामान्य भयो । हुनुपर्ने जति सबै भयो ।

कोहि आउँदै थिए, आफ्नो लागी । मात्र आफ्नो लागी । रञ्जना बिहानैदेखी उत्सुक थिइन् । थोरैथोरै, मनमा डर त छँदैथियो । बिहान नुहाएर प्रतिक्षा गरेर बसिरहेकी थिइन् । केटालाई देखिन् । पहिलो पटक । आमाले झुट बोलिनछिन् । सदाझैँ यसपाली पनि । एकचोटी आमालाई कसेर अँगालो मार्न मन लाग्यो, उचालेर एकचोटी फनक्क घुमाउन मन लाग्यो । तर हातमा चियाको गिलास थियो । आफ्नै खुट्टा पनि रमाउन पाएनन् । मनमनै दङ्ग भने परिन् ।

टिसर्ट पाइन्टमा थियो केटा । कपाल छोटोछोटो थियो । न मोटो थियो, न दुब्लो, ज्यान ठिक्को थियो । अनुहार हँसिलो थियो । नहाँसेको बेलामा पनि हाँसे जस्तै देखिने । प्रभावित भइहाल्न धेरैकुरा नै चाहिएन नि ।

उनिहरू एकान्तमा भेटे । रञ्जनाले थप जान्न पाइन् । फरासिलो । बोलि पनि मिठो । ठिक्कको बोल्ने । आफूलाई खुलाउन चाहने । सामान्य परिचय भयो । एकअर्का बारे के गर्दै, भविष्यमा के गर्ने, आदी बारे कुराकानी भयो । आफूलाई मन पर्ने कुराहरू बारे चर्चा चल्यो । धेरैथोक मिल्दो रहेछ । पछिपछि भेट्दै गर्ने भन्नेसम्म गएर कुरा सकियो । दुवै खुशी देखिए ।

भेटघाट सकियो । सबैजनाको अनुहारमा खुशी थियो । केटाका परिवार निस्किए । गए ।

रञ्जनाको आमा, बुबा र हजुरआमा पनि खुशी देखिए । रञ्जनाको अनुहारको भाव देखेर उनिहरूले सहजै अनुमान लगाए कि रञ्जनालाई केटा चित्त बुझ्यो । रञ्जनाको मनको कुरा पनि यही थियो । आफूलाई केटा मन परेको जानकारी पनि गराइन ।

केहीबेरमा सबै जना खाना खान लागे । सबैलाई आ-आफ्नो काममा लाग्नु थियो । रञ्जना खुशी मनको साथ अफिस जाने तर्खरमा थिइन् । केहीबेर ढिला हुने जानकारी गराएकाले त्यस्तो हतार थिएन ।
‘जीवनसाथी उही हुन्छ ।’ यही सोच्दै अफिस जान तयार भएर आफ्नो कोठाबाट बाहिर निस्किइन् । बाबा पनि निस्कन तयार भइसक्नु भएको रहेछ । हजुरआमा कुर्सीमा बस्दै हुनुहुँदो रहेछ । आमा भने भान्छा मै हुनुहुँदो रहेछ । त्यहीबेला बाबाको फोन बज्यो । बाबाले फोन उठाउनु भयो । “हजुर ।” भन्नुभयो ।

उता को बोल्दै थियो, के भन्दै थियो रञ्जनालाई थाहा भएन तर बाबाको अनुहारको भाव एक्कासी फेरीएको देख्दा सहजै अनुमान लगाउन सक्थिन् ।

“बाबा को थियो ?” हतारीदै बाबालाई सोधिन् ।

“पण्डित जी ।” बाबाले मलिन स्वरमा भन्नुभयो ।

“के भन्नुभयो ?” थप उत्सुक भएझैँ सोधिन् ।

“बिहे नहुने भयो छोरी ।” बाबाले आँखा अन्तै डुलाउँदै भन्नुभयो ।

रञ्जनाको आँखा भने बाबा तिर नै थियो । “किन रे बाबा ?” आँखा झन् ठूलोठूलो बनाएर सोधिन् ।

“केटालाई तिमी मन परेन रे ।” असहज हुँदै यति भनेर लामो सास फेरेर बाबा बाहिर निस्कनु भयो ।

सबैजना मौन भए । शून्यता छायो । सबथोक सकिए जस्तो लाग्यो र रञ्जना सरासर कोठामा गइन । हातको झोला ओछ्यानमा फालिन् ।

“चिन्ता नगर । सहनुपर्छ ।” बाहिरबाट हजुरआमाको ठूलो आवाज भित्र छिऱ्यो ।

रञ्जनालाई हो जस्तो लाग्यो । एकाएक ओइलिएको मन एकाएक जुरमुरायो । ‘हो, सहनुपर्छ । यस्तो हुन्छ । हुनसक्थ्यो । मैल बेलैमा सोच्नुपर्थ्यो । धेरै आश गर्नु हुन्नथ्यो ।’ यस्तो सोचिन र बाहिर आएर बार्दलीबाट बाहिर चिहाउन थालिन् ।

अफिस नजाने निर्णयमा पुगिन । फोन गर्ने आँट गर्न सकिनन् । मेल पठाएर जानकारी गराइन् । आमा र हजुरआमाले उनलाई केही भनेनन् । उन्लाई उन्कै संसारमा छोडिदिए । उनि सोचमा डुब्न लागिन् ।

सानैदेखी हार वा असफलता उन्को भागमा परेको थिएन् । पढाइ राम्रो थियो । राम्रो अङ्कले धेरै पटक पुरस्कार दिलाएका थिए । जागिर आफ्नै बलबुताले खाइकी थिइन् । चाहेको पुगेको थियो । आफूलाई राम्री नै ठान्थिन् । आजसम्म कसैले नराम्री पनि त भनेका थिएनन् ।

‘के म साँच्चै नराम्री छु ?’ पहिलो पटक आफैँलाई यो प्रश्न गरिन् । अनौठो लाग्यो, आफ्नो प्रश्न, आफैँलाई । ‘होइन, होइन । म नराम्री छैन ।’ आफू विस्वस्त भइन् ।

‘अलि झकिझकाउ भएर प्रस्तुत हुनु पर्थ्यो कि ? सामान्य भएर प्रस्तुत भएर पो हो कि । श्रृंगार थप्नुपर्थ्यो कि ! अनि आकर्षक हुन्थेँ कि ! आफूले केही कमी हुन दिएँ कि’ सोच्न पनि थालिन् ।
‘तर आज एकछिन राम्रो भएर के भयो र ? भोली फेरी भेटिनु पर्छ । ढाँटेर कति दिन टिक्छ । म यत्तिकै राम्री छु । नौथरी गर्नु किन पऱ्यो । यत्तिकै ठिक लाग्दैन भने त कत्ति नै गर्दा पनि ठिक लाग्दैन ।’ मन बुछाउँन तर्कना खोज्न थालिन् । दिनभरी बार्दलीमै बसेर बिताइन् ।

तर मन किन मान्थ्यो र ? एकछिन मान्थ्यो । त्यसपछि मान्न छोड्थ्यो । अनेक तर्कना खेल्थ्यो । आफूले धेरै आश गरेकोमा आफैँलाई धिक्कार्थिन् । त्यो केटा ठिक छैन सम्म पनि भन्थिन् आफूलाई । तर आफ्नो कुरा आफैँलाई चित्त बुझ्दैनथ्यो । उसँग भएका कुनै पनि कुराले यो सङ्केत गर्दैनथ्यो कि उ ठिक छैन । ध्रुत छ । हेर्दा सिधासाधा देखिन्थ्यो । बोली नम्र थियो । हाँसिरहन्थ्यो । त्यही हाँसो उन्को मस्तिष्कमा गडेको थियो । हटाउने कसरी ? केही गरी सुझेको थिएन् ।

यसैगरी दिन बित्न थाले । तर बेचैनी मनमा रहिरह्यो । मन हाँस्न सकेन । रातमा निन्द्रा पर्न गाह्रो हुन थाल्यो । अफिसमा काममा ध्यान राम्रो जान सकेन । तर पनि अरूको अगाडी हुँदा जसोतसो आफू ठिक छु भन्ने देखाउने प्रयास गर्थिन् । र धेरैहदसम्म सफल पनि भएकि थिएन् । तर एकान्तमा मन मान्दैनथ्यो । छट्पटी चल्थ्यो ।

सायद एकोहोरो प्रेममा परेकि थिइन् । जतिगर्दा पनि उसैको याद टाढा हुन सकेन । कतिसम्म भने अब उस्लाई सम्झँदा उ ध्रुत हो । वेइमान हो । उ ठिक छैन । यस्तैयस्तै भन्दै मन बुझाउन बाध्य भएकी थिइन् ।

भेटेँ भने काँचै चपाउँछु जस्तो मन गर्थिन् । सुरुको झलकले दिएको प्रेम घृणामा बदलिएको थियो । तर मनबाट भने टाढा हुन सकेको थिएन् ।

‘मान्छे कस्तो हुन सक्छन्, अरुको मनसँग, अरुको भावनासँग खेल्छन् अनि जान्छन् । असत्तिहरू । कस्तो चलन । किन बोलाउनु पर्थ्यो तिनीहरूलाई !’ आफ्नै बाबाआमासँग पनि असन्तुष्ट भइन् । जे नहुनु भइसकेको थियो । मन बुझाउनु वाहेक विकल्प थिएन् ।

महिना बित्न लाग्यो । उनको जन्मदिन आयो । तर जन्मदिन नमनाउने निर्णय लिइन् । उत्सवदेखी मन मरेको थियो । आमाबुबालाई भनिन् । उनिहरूको लाख कोसिसका बाबजुद पनि उनिहरूको केही चलेन । अन्ततः जन्मदिनमा केही विषेश नहुने भयो । एउटा सामान्य दिन झैँ बित्यो । ‘अहो बित्दो रहेछ त ।’ सफलता प्राप्त भएझैँ लाग्यो । खुशी भइन । साँझ भान्छामा उन्को हँसिलो अनुहार देखेर सबैजना खुशी भए । एउटा उपहार उन्ले परिवारलाई दिएकी थिइन् ।

तर जसै रात अगाडी बढ्न थाल्यो । सुत्ने बेला भयो । तर निन्द्रा आएन । उस्तै विचार आए, बारबार । उस्तै वेचैनी छायो । एउटा ठूलो द्वन्द्व गरेर बल्लबल्ल निन्द्रालाई जितिन र आफ्नो वशमा पारिन् । दिन झण्डै सकिन लागेको थियो निन्द्रादेवीको शरणमा पर्दा ।

बल्लबल्ल परेको निन्द्रा बिथोल्न उही नै आयो । सुरुमा त सपना हो कि भन्ठानेकी थिइन् । तर उ भ्रम थिएन, सपना थिएन् । अनि त उन्को यो अन्तिम एक महिना दिमागमा फुईफुई घुम्न थाले । एउटा पुरा जिन्दगी बिते जस्तो लाग्यो । जुग बिते जस्तो ।

महिनादिन पछि उस्को आवाज सुन्दा कताकता आनन्द पनि आयो । “केही छ भन्नु ?” नरम स्वरमा भनिन् ।

“खै के भनौ ?” एउटा सुस्केरा हाल्दै उ बोल्यो । “सञ्चै छौ ?”

अहो कस्तो समय मिलेछ, सञ्चो बिसञ्चो सोध्ने । रञ्जना अचम्मित भईन् ।

सञ्चो भन्ने कि बिसञ्चो भन्ने, कुन अवस्थामा छु भन्ने रञ्जनाले छुट्याउन सकिनन् । छुट्याउने कोसिस गर्दै थिइन । केही समय यत्तिकै बित्यो । मौनता दुवैतिर उस्तै रह्यो ।

“मलाई बिर्सियौ ?” उसैले फेरी सोध्यो ।

सम्झनु पर्ने केही त थिएन उ । तर उस्लाई कहाँ बिर्सन सकेकी थिइन् र रञ्जनाले ।

बिर्सिए की सम्झि नै रहेकी छु, सोच्न लागीन । नाम के थियो उस्को ? यादै नै आएन । भर्खर निन्द्राबाट ब्यूँझिएर होला कि भनौँ भने बाँकी सबथोक सम्झिसकेकी थिइन् । त्यसदिन यता नामको त काम नै आएको रहेनछ । र पनि उ सताउँदै रहेछ । पागल जसरी । पागल बनाउने जसरी ।

“बिर्सिएकी छैन । कसरी सकूँला र ? तर तिम्रो नाम खै याद नै भएन ।” झुट किन बोल्नू र भन्दै यथार्थ भनिन् ।

“म शैलेश ।” उस्ले भन्यो अर्थात् शैलेशले भन्यो । यसैगरी त भनेको थियो नि त्यो दिन । अब याद आयो । पूर्ण रुपमा ।

“हामी एक हुन सक्छौ ?” उसैले सोध्यो ।

“साह्रै हतार गऱ्यौ । केही पल पर्खिएको भए केही पनि बिग्रन्नथ्यो । त्यो तिमीलाई पनि थाहा थियो । अब एउटा सिङ्गो जिन्दगीले पनि ठिक गर्न सकिन्न । यो तिम्ले थाहा पाउन जरुरी छ । किनकी केही पनि ठिकठाक छैन । केही पनि ठिक चलेजस्तो लाग्दैन । केही छैन यहाँ ।” आँशु सम्हालिन सकेन । खसी त हाल्यो । गालामा तातो स्पर्श भयो । चिसो भएर होला तातोको प्रभाव ज्यादा थियो, लाग्थ्यो आँशुको भेल ठूलो छ । महिनादिनदेखीको पिडा थियो । रोकेर रोकिनेवाला थिएन् ।

शैलेश शब्द विहिन भयो । बुझ्न सक्थ्यो उस्ले पनि व्यथा । जस्तो उस्लाई पनि परेको थियो ।

बिहे गर्दिन भन्दाभन्दै पनि जबरजस्ती जानु परेको थियो उस्लाई रञ्जनाकोमा । “वचन दिइसकेको छु, जान्न नभन” भनेर बा रिसाए । र त उ जान राजी भयो । तर बिहे नगर्ने शर्तमा । छोरा जान मानेकाले शर्त मान्न बा राजी हुनुभयो ।

रञ्जनालाई देख्ने बित्तिकै ट्वाल्ल पऱ्यो शैलेश । सामान्य सज्जामा सजिएकी रञ्जनालाई देखेपछि हेरेको हेरै भयो । कुर्तामा सजिएकी थिइन । कपाल खुल्ला थिए तर सबै पछाडीतिर हाम्फालेका थिए । मुहारमा श्रृंगारको नाममा केही देख्न सकिदैनथ्यो । नाकमा फूली थियो, कानमा झुम्का । त्यत्ति । वश् त्यत्ति मात्र । र पनि साह्रै सुन्दर देखिएकी थिइन् रञ्जना । मन नाच्न थाल्यो ।

नाम पनि कस्तो मिलेको । रञ्जाना अनि शैलेश । ‘र’ भन्दा पछि थियो ‘श’ । ‘आर’ भन्दा पछि थियो ‘एस्’ । आफू रञ्जनाकै लागी जन्मिएको अनि रञ्जनाकै पाइला पछ्याउने स्वघोषणा गऱ्यो ।

कुराकानी सकियो । उनिहरू निस्किए । उ खुशी थियो । पण्डित आफ्नो बाटो लागीसकेका थिए । उनिहरू आफ्नो बाटो ।

“आमा तपाईसँग रञ्जनाको फोन नम्बर छ ?” बाटोमा फर्कदै गर्दा आमालाई सोध्यो । ‘अघि माग्न बिर्सिएछ ।’ बल्ल थाहा पायो ।

“भो पर्दैन् । जे भन्न पर्ने हो म भन्न लगाउँला । तैले चिन्ता गर्न पर्दैन् ।” जवाफ बाले दिनुभयो । बा अझै रिसाइरहनुभएको छ भन्ने कुरा बाको बोलीबाट नै थाहा पायो ।

अब बोल्नुभन्दा नबोल्नु नै वेश मानेर उ चुप लागेर बस्यो । बाको रिसले उस्लाई केही भएन । छिनमै बिर्सियो । उ त रञ्जनाको यादमा डुब्न थाल्यो, रम्न थाल्यो ।

बेलुका पण्डित बालाई फोन गऱ्यो । “पण्डित बा, नमस्ते ।”

“नमस्ते बाबु । मैले जानकारी गराइसकेँ । राम्री कन्या भेटेपछि म जानकारी गराउँला है, बाबु ।”

पण्डित बाको आशय उस्ले बुझिहाल्यो । अर्थात् बिहे हुन सक्दैन भन्ने जानकारी पण्डित बाले गराउनु भएको भन्ने बुझ्यो । उ अक्क न बक्क भयो । केही नबोली फोन राख्दियो ।

दिनहरू बित्न थाले । तर रञ्जनाको याद झन् झन् बढ्न थाल्यो । रञ्जनाले हात नचाइ नचाइ बोलेको दिमागमा नाचिरह्यो । बेलाबेलामा उड्दै अगाडी आइपुग्ने कपाल मिलाउँदै थिइन् रञ्जना । ‘कस्तो दुःख दिएको कपालले’, उस्ले सोचेको थियो । नलागेको होइन कि आफैँ पछाडीतिर लगेर सपक्क मिलाइदिउँ तर त्यति आँट पनि आइहालेन उस्लाई । तर उ त्यसपछि त्यही कपालको यादमा डुबिरह्यो, उडिरह्यो । बारबार ।

गफगाफकै बिच थाहा पाएको थियो रञ्जनाको जन्मदिन । जन्मदिनमा शुभकामना दिन भनेर बिहानैदेखी कोसिसमा थियो । तर फोन नम्बर भेटेको होइन । आमालाई सोधौँ नलागेको होइन तर आमा पनि बम भएकी थिइन त्यो दिन देखी । ‘इज्जतको सवाल‘ भन्थिन् । ‘जानु मात्र भयो । मान्छेले के भन्लान्’ भनेर दुखेसो गरेकी थिइन् त्यो दिन । सोधेन आमालाई ।

विकल्प बाँकी थियो त पण्डित बा । बिहानैदेखी फोन गरेको थियो तर फोन लाग्दै लागेन । धेरै पटक कोसिस गऱ्यो । निराश भयो । राती अबेर मात्र फोन लाग्यो । किन फोन नलागेको उस्को चासोको विषय थिएन, त्यसैले त्यो नसोधी आफ्नो काममा केन्द्रित भयो । फोन नम्बर पायो ।

फोन गर्ने कि नगर्ने दुविधामा पऱ्यो । फोन गरेर के भन्ने । छट्पटी भयो । डर बढ्यो । यत्तिकै केही समय बित्यो । मेसेज पढाउने कि । नसोचेको होइन । तर पठाएन । फोन गर्न औँलाहरू नचलेका होइनन् । फेरी सोच्यो, ‘बर्थडेको दिन । कतै पाटी गर्दै होलिन् । डिस्टर्व पो हुने हो कि !’

फेरी फोन गरेन । मनमा फोन गर्ने आँट छिनमै आउथ्यो । अनि डरले गाँजिहाल्थ्यो, वहानाले छोपिहाल्थ्यो ।

डराइडराइ फोन गरेको थियो अर्को दिन सुरु भइसक्दा ।

केहीबेर मौनता छायो । “थाहा छैन माफीले के के ठिक हुन्छ वा हुँदैन बट आइ एम भेरीभेरी सरी ।”, डराइडराइ भन्यो । “आफैलाई ठिक गर्ने कोसिस गर्दैछु ।” गल्ति सायद उस्को थिएन तर रञ्जनाको बोलीमा भएको दुखाइ बुझ्न गाह्रो थिएन । आफै पनि दुखेको महसुस गऱ्यो ।

रञ्जनाले आँशु पुछिन् । सेलाइसकेका थिए आँशु । चिसो फैलियो यताउता, जता जता पुग्यो आँशु । आशाको दियो बलेझैँ लाग्यो । “रुँदै छौ तिमी ?” अनायासै सोध्न पुगिन । रोइरहेकी आफू थिइन् । सोधिन उस्लाई । सोधिसकेपछि ब्यर्थै सोधेछु सोचिन् ।

“हाँस्न सकेको छैन् ।” शैलेशले गम्भीर भएर भन्यो ।

हँसिलो अनुहारमा हाँसो नहुँदा कस्तो हुँदो हो । रञ्जानाले कल्पना गर्न खोजिन् तर सकिनन् । वा चाहिनन् । रुञ्चे अनुहार बन्नै सकेन् ।

“तिम्लाई सुहाउँदैन् ।” हाँसेझैँ गरी बोलिन् ।

“थाहा छ ।” सबथोक थाहा भएझैँ गरी बोल्यो ।

“अनि किन फोन गरेको त ?” शैलेशको सुरुको प्रश्न सम्झिइन् र पनि सोधिन, थाहा नभए जसरी ।

“केही ठिक चलेजस्तो लाग्दैन् । त्यसदिनदेखी ।” शैलेशले त्यही दिनलाई इङ्गीत गर्दै भन्यो । “थाहा छ ?” एउटा पश्न नभएको प्रश्न सोध्यो । एकछिन रोकियो । रञ्जनाले आँखीभौँ उचालिन् । “तिमी राम्री छौ ।”

‘थाहा छ मलाई ।’ रञ्जनाले मनमनै भनिन् । र सोधिन्, “त्यसदिन किन भनेको त म राम्री छैन भनेर ? कि अरु कोही भेटिएनन् ?” केही रिसाएझैँ गरी ।

एकछिन दुवैतिर मौनता छायो । रञ्जना फेरी बोलिन्, “जसरी हावाको सहायतामा माथि पुग्छ वेलुन, अनि आफूले चाहेर पनि तल छर्झ सक्दैन । हो पिडाहरू त्यस्तै दिन्छौ, त्यसैगरी दिन्छौ तिमीहरू । न फाल्न सकिन्छ, न नै निल्न ।”

शैलेशले सहजै अनुमान लगायो कि कुरा के थियो भनेर अनि बेलिविस्तार लगायो उस्को कहानी ।

शैलेशले फेरी एकपटक माफी माग्यो । र क्षमा पनि पाइहाल्यो । केहीबेर थप केही कुरा भए । दुबैजना खुशी भए । मिठो निन्द्रा पऱ्यो, दुवैलाई ।

श्रावण १२, २०७७

Leave a Reply