ती दिन । स्कूले जीवनको मिठो सङ्घर्ष !

पढ्नेहरूको लागी पढ्न जति गाह्रो त अरू के होला र ? पढ्नै नपरे हुन्थ्यो जस्ले पनि भन्छ । स्कूले केटाकेटी मात्र होइन विश्वविद्यालय जाने ठिटाठिटी पनि पढ्न भनेपछि जाँगर चलाउन गाह्रो मान्दछन् । पढ्न गाह्रो लाग्ने एउटा पाटो छ भने अर्कोतिर पढ्नलाई गर्नु पर्ने सङ्घर्ष! अहो, सम्झदा पनि कहाली लाग्छ ।

सम्झनुस् त स्कूल पुग्न एक घण्टा हिड्नु पर्ने, स्कूल पुग्दा लखतरान हुने । स्कूलमा थकाइ मार्ने कि पढ्ने ? थकित ज्यानले के पढ्ला, के बुझ्ला ? उपलब्धि कति हासिल होला । फेरी फर्कन अर्को एक घण्टा । त्यसमाथि झोलाको भारी । झोला पनि सजिलो, राम्रो होइन । कहिले बाटो मै किताब चुहिने, कहिले पानीले ठटाउने, कहिले असिनाले । कहिले खोलाले रोक्ने । कहिले पानी तिर्खाले प्याकप्याक हुने । कहिले चर्को घामले लल्याकलुलुक बनाउने । कहिले पसिनाले शरिर निथ्रुक्क हुने त कहिले पानीले । बर्खा भन्न नपाइने, गर्मी भन्न नपाइने, जाडो भन्न नपाइने । निरन्तर खोला बहेजस्तो सधैँ गइरहनु पर्ने । छोटा दिनहरूमा त उठेपछि स्कूल जान तयार हुँदाहुँदै बिहान बित्ने, बेलुका घर आइपुग्ने बित्तिकै रात पर्ने ।

हो यस्तो थियो/छ/हुन्छ गाउँमा, दूर-दराजमा । यसैगरी हुर्कन्छन् कैयौँ बालबालिका । कतिलाई योभन्दा धेरै दूरी पार गर्नु पर्छ । यति हुनु पनि भाग्य हो, धेरैको लागी । विद्यालय नजिक हुने, टाढा भए पनि साधन हुनेहरू भाग्यमानी नै हुन । तर विद्यालय टाढा हुने र पनि पढ्न पाउने, सायद झन् भाग्यमानी पो हुन कि । यति धेरै सङ्घर्ष, यति धेरै अप्ठेरो अनि कसरी आउला राम्रो नतिजा । तर पनि यस्तो स्थितिमा पनि राम्रो अङ्कले पास हुने भेटिन्छन्, कक्षामा प्रथम् भएका उदाहरण नभएका भने होइनन् । अहिले पनि यस्तै स्थिति फेरीएको छैन, धेरै ठाउँमा ।

कल्पना गर्नेलाई, नभोग्नेहरूलाई त कहालीलाग्दो छ । झन् भोग्नुपर्ने र भोगीरहेकाहरूको लागी के होला ?

अहिले सम्झदा कहालीलाग्छ । तर भोगी नै सकेकाहरूसँग त्यसबखतका रमाइला क्षण कति हुन्छन् कति । अचम्म लाग्छ, हो त्यो दुःखभित्र कैयन् रमाइलो पाटो थिए । खेल्दै बित्थे ति समय ।
अनुमान गर्नुस् त उल्टो हिड्दा कस्तो हुन्छ । उल्टो अर्थात् पश्चिम जानुपर्ने तर पूर्व गएको हैन कि पश्चिम नै हिड्ने तर पछाडी अर्थात् पूर्व फर्किएर । तपाईको अनुमानभन्दा ज्यादा कठिन, अनि ज्यादा थकान हुन्छ त्यसरी हिड्दा । कैयन् पटक ढुङ्गामा ठेस लाग्छन्, कैयन् पटक खाल्डोमा जाकिइन्छ । कैयन् पल्ट अरूसँग गएर ठोकिइन्छ । देख्ने मान्छे, बौलाएछ भन्न सक्छन् । तर कति रमाइलो थियो त्यो खेल । कस्ले सुरु गऱ्यो त थाहा छैन् तर त्यसरी खेलियो । को छिटो टाढा पुग्ने प्रतिस्पर्धा भयो । कहिले जितियो, कहिले हारीयो । जित हात याद छैन तर त्यो रमाइलो अझै याद आउँछ । रमाइलो लाग्छ ।

कहिले साना ढुङ्गालाई खुट्टाले हान्दै घरदेखी स्कूल पुऱ्यायो, कहिले स्कूलबाट घरसम्म । बाटोमा हिड्दा चल्ने प्रतिस्पर्धाको छुट्टै शान हुन्थ्यो सफलता पाउँदा ।

गर्मीमा रापिएर हिडिरहँदा खोल्सा आउनु अघिको त्यो खुट्टाको रफ्तार । को छिटो पुग्ने र पोखरीमा टाउको डुबाउने भन्ने भागदौड । टाउको डुबाएपछिको त्यो शितलता । अहो, त्यो आनन्द अन्त कहाँ मिल्ला र ?

धारोको पाइपको गाँस आउनु अघिको भागदौड । कस्ले पहिला धारो भेट्टाउने भन्ने जोश । तछाडमछाड । धारो भेटेपछि मुखमा पाइप नै जोडेर घुट्काएको पानीको स्वाद । अनि भिजेको जलिरहेको, सुकिरहेको घाँटी । यस्को लागी हरेकको खुट्टा भिरालो, पाखा, भिर केही नभनी दगुर्थे । सल्लेवीर र सालका पातमा चिप्लिदा छुट्टै मज्जा मिल्थ्यो । अप्ठेरोमा हिड्न त्यस्तै भिरपाखा, त्यस्ते परिस्थिति त हो नि सिकाउने ।

दौड अर्को लागी पनि चल्थ्यो । बस्नको लागी । बाटोको ठाउँठाउँमा ढुङ्गा हुन्थे । राम्रो, सजिलो ढुङ्गाको बसाई जित्नको लागी दौड चल्थ्यो । जब आफूले चाहेको ढुङ्गा भेटिन्थ्यो त झोला एकातिर फालेर पसिना नओभाउञ्जेल आफ्नै हुन्थ्यो त्यो ढुङ्गा । अनि त्यो बेलाको, सबैजना साथ हुँदाको गफ । अहो, त्यस्तो मिठो, वरपरको वातावरण नै गुञ्जयमान गराउने हाँसो । त्यसपछिका गफले सायदै हुन्थे ।

आउँदाजाँदा बाटोको आसपास भेटिने फलफूल, काँचै खानमिल्ने तरकारी । त्यति मिठो अन्त कहीँ भेटिन्नथ्यो । आफ्नै बारीको त्यति मिठो कहिल्यै हुँदैहुन्नथ्यो । मालिकको अनुमति बेगर अर्थात् आफ्नै अनुमतिले त्यसको स्वाद झन् मिठो बनाउथ्यो । कति पटक फेला पर्दा मुख लुकाउनु पर्ने गाली नभेटिने होइन । ज्यान छोडेर भाग्न पर्ने स्थिति नआउने होइन । तर पनि तिनै फलफूल तरकारीले लोभ्याइरहने । कहिले घरमा कुरा नपुऱ्याइदिने हैन । तर पनि मन किन मान्थ्यो । कसरी मान्थ्यो ।
कहिले एक्लै नपर्ने होइन, आउँदा जाँदा । डराइ-डराइ हिड्नु नपर्ने होइन । तर तीस/चालिस जनाको लस्कर देख्दा देख्नेलाई पनि हेर्न कति आनन्द हुन्थ्यो होला, हिड्नेको त कुरै नगरौँ । अझ अरुको गाउँमा यसरी हिड्दा, साथीहरूसँग हुँदा फूर्ति नै छुट्टै हुन्थ्यो । कतिले त अरुलाई थर्काउने सम्म पनि भ्याउँथे ।

दिनमा दुई घण्टा आउन र जानकम लाग्दा बर्षमा दुई सय दिन विद्यालय खुल्यो भने चार सय घण्टा अर्थात् करिब सत्र दिन यसैगरी खेर जान्थ्यो, बित्थ्यो । तर यसको सदुपयोग नहुने भन्ने पनि होइन । अङ्ग्रेजी नेपालीका शब्दाअर्थ घोक्ने समय नै यही त हो नि । घरमा पढ्न त के जाँगर चल्थ्यो । घोकेर पढ्ने समय कहाँ मिल्थ्यो, वातावरण के हुन्थ्यो । आउँदा जाँदा घोक्दै गयो । साथीलाई सोध्न लगायो । साथीलाई सोध्यो । सधैँ पढिन्थ्यो । यसैगरी । दिमागमा बस्छ नै भन्ने हुँदैनथ्यो । तर धेरै पटक नआएर खाइने कुटाइबाट जोगिइयो । अरु विषयका घोक्न पर्ने कुराहरू यसैगरी काम चलाइन्थ्यो ।

विद्यालय नजिक हुनेभन्दा टाढा हुनेहरू छिटो विद्यालय पुग्दा रहेछन्, पुग्थ्यौँ । नजिक हुनेहरू त्यही त हो भनेर अल्छि गर्छन् तर टाढा हुनेहरू समयमा नपुगिएला भनेर घरबाट छिटो निस्कने साथै छिटोछिटो हिडेर छिटो पुग्थे । छिटो पुग्नुपर्ने अर्को कारण पनि हुन्थ्यो । अघिल्लो दिनको गृहकार्य सक्नु । अर्थात् धेरैले त्यो समयमा गृहकार्य गर्न भ्याउथे । गर्थे के भन्नु सार्थे र सजायबाट बच्न भ्याउथे । ताजाताजा गृहकार्य बेञ्चको अगाडी उनीहरूको नै हुन्थ्यो, पाना पल्टिएर बसिरहेका । शिक्षकले हेर्दिहालुन् भनेर प्रतिक्षामा रहेका ।

कैयन् विद्यार्थी अहिले पनि यसैगरी दुःख गरेर घण्टौ हिडेर पढ्न बाध्य छन् । तर यो दुःखभित्र अनगीन्ति सुख हुन्छन्, रमाइला क्षण हुन्छन् । जिन्दगीबाट भाग्न नमिल्ने भएपछि जिन्दगीलाई काम लाग्ने बनाउनु आफ्नो काम हो । कतिले बनाउँछन् । कतिले प्रयास त गर्छन् तर सफल हुन सक्दैनन् । कतिले भने प्रयास नै गर्दैनन् । चलिरहेछ, यस्तै । थाहा छैन कहिलेसम्म चल्छ ।

श्रावण १०, २०७७

Leave a Reply