एउटा अधुरो रहर । कथा

“जाउँ न ओइ ।”

“नजाने । भ्याइदैन ।”

कक्षा आठ । क्लास अन्तिम । सर पढाउन आउन केहीबेर ढिला हुन्छ भन्ने खबरसँगै शौचालय निस्किएको रमेशलाई पछ्याउँदै म पनि निस्किएको थिएँ । मलाई हतारो थियो । चटारो थियो । उस्लाई भनिहाले तर उस्ले त जान्न भन्यो । के गर्ने । छटपटी भयो ।

“सर आउन अझ समय छ । जान दुई मिनेछ, आउन पाँच मिनेट त हो नि । भ्याइहालिन्छ नि ।”
खासमा जानको लागी पाँच मिनेटको बाटो थियो । ओरालो थियो । तर आउँदा उकालो पर्ने भएकाले त्योभन्दा धेरै समय लाग्नु स्वभाविक नै थियो । दौडिदाँ केही समय बचाउन सकिन्छ भन्ने सोचेको थिएँ ।

उ केही बोलेन । आलटाल गर्दै अघि बढिरह्यो । नसुने झैँ गरी ।

“हिड् न रमे । मेरो लागी यत्ति नि गर्दैनस् ?” मिल्ने साथी, त्यो पनि बच्चैदेखीको । सँगै पढेको । सँगै हुर्केको । अलिअलि घुर्की त लगाउन परिहाल्यो नि । यति त चल्छ । चलाउनुपर्छ । र चल्यो पनि ।
उ केही नबोली शौचालयको बाटोबाट मोडिएर चौरको छेउतिर लाग्यो । मैले बुझिँहाले ।
“छिटो दौडी ।” भन्दै म उभन्दा अघिअघि दौडिन थालेँ ।

मलाई हतार थियो । छटपटी थियो । र डर पनि थियो । दौडाईको रफ्तार तीव्र थियो । रमेशले भेट्ने कुरै भएन । उस्लाई भनेझैँ दुई मिनेटमा त पुगिन तर अर्को एक मिनेटमा पुगेँ । रमेश अझै बाटोमै थियो ।

स्कूलभन्दा तल तल्लो गाउँ । तल्लो गाउँको शिरानमा मन्दिर । मन्दिर वरपर फूल । भिन्न भिन्न । भिन्न भिन्न रङ्गको । यात्रा यसैको थियो । उद्देश्य यही थियो ।

हामी अर्थात् म त्यसैको लागी दौडिएको थिएँ । स्वाँस्वा र फ्वाँफ्वाँ गर्दै आफ्नो काम सुरू गरेँ अर्थात् फूल टिप्न थाले । रमेशलाई पर्खन उपयुक्त लागेन । समय बचाउनु जो थियो ।

एकैछिनपछि रमेश आइपुग्यो । मेरो हातभरी फूल भइसकेका थिए । रमेशलाई समाउन लगाएँ ।

“यत्ति भए पुग्छ होला ।” फूल समाउँदै उस्ले भन्यो ।

“पख् न । अब अलिकति टिपौँ ।” म फूल टिप्न थाले ।

“ला मिला त ।” अरू थोरै टिपेर उस्लाई दिएँ ।

केही नराम्रा उस्को हातबाट छानेर निकाल्न थालेँ ।

“अब भयो । जाउँ ।” आफ्नो कुरा नसक्दै उ फरक्क फर्कियो र दौडिन थाल्यो ।
अघि दौड्दाको स्वाँस्वाँ रोकिएको थिएन । तैपनि त्यो उस्लाई मतलब नभए जसरी मभन्दा अघिअघि दौडन थाल्यो ।

अघिको मेरो स्वाँस्वाँ भने रोकिइसकेको थियो र पनि उस्लाई भेट्न सकिरहेको थिइन । पाइलाहरू गह्रौँ हुँदै थियो । उकालो त छँदै थियो । तर वास्तविक कारण थियो डर । के भन्लिन भन्ने । कस्तो प्रतिक्रिया दिलिन भन्ने ।

टिफिन ब्रेकपछि कक्षामा फर्किदाँ गाईगुई रहेछ । केहीबेरमै थाहा भयो, के चल्दैछ भन्ने । आज रश्मीको बर्थडे रहेछ । कस्तो हुस्सु रहेछु म, त्यति पनि याद नहुने । यही कुरा हिजो वा सुरूको क्लासतिर नै थाहा भएको भए तयारी अर्कै हुन्थ्यो होला । धुमधाम हुन्थ्यो होला । विशेष हुन्थ्यो होला ।

तर टिफिन समय पछि थाहा भयो । क्लास सुरू भइहाल्यो । मलाई भने उकुसमुकुस भइरह्यो । ह्याप्पी बर्थ डे कसरी भन्ने । उपहार के दिने । केही स्मरणीय बनाउने रहर तर कसरी, कहिले ? छुट्टी पछि उनी घर दौडिइहाल्छिन् । त्यसपछि भेट नै हुँदैन । भोली त वासी भइहाल्छ ।

टिफिनपछि तीनओटा क्लास हुन्थ्यो । दुईओटा लगातार भयो । मभित्र पनि छट्पटि लगातार भइरह्यो । सोचेँ, ह्याप्पी बर्थ डे आज भन्छु, उपहार भोली दिन्छु । केही उपाय नलागेपछि यो नै उत्कृष्ट उपाय लाग्यो । यो त झन् भिन्न हुन्थ्यो । स्मरणीय हुन्थ्यो ।

तर अन्तिम क्लासको सर मिटिङमा व्यस्त भएर आउन ढिला हुने खबरले मुर्झाएको फूल पानी पाएझैँ म पनि बाँच्न लागेझैँ भएँ । फूल उपहार दिने भव्य योजना तत्काल बनाइहालेँ । एक्लै जान हिम्मत पुगेन र साथी खोजे रमेश ।

रमेश मभन्दा धेरै नै अघि दौडिरहेको थियो । यही स्थितिमा मैले भेट्ने सम्भावना थिएन ।

“पर्खी ओइ ।” स्वाँस्वाँ गर्दै कराएँ ।

तर उ सुने-नसुने झैँ दौडिरह्यो । मैले भेट्नै सकिन ।

स्कूल पुगैँ । रमेशभन्दा ढिला । सर ढोकामा उभिएर रमेशसँगै कुरा गर्दै हुनुहुन्थ्यो । मलाई बुझ्न बेर लागेन, सरको क्लास सुरू भइसकेको थियो । हामी ढिला भयौँ ।

रमेश सरसँग कुरा गर्दै थियो । सरको हाउभाउले नै बताइरहेको थियो कि सरको कारवाहीमा पर्ने निश्चित थियो ।

म नजिक पुगेँ ।
रमेशको हातबाट सरले फूल लिनुभयो । अनि मतिर हेर्दै भन्नुभयो, “आज सरहरू यहीँ बाहिर उठबस गर्नुहोला । पचासपचास चोटी ।”

सजाय त त्यति ठूलो थिएन तर बेला र स्थिति प्रतिकूल हुनाले यो सजाँय ज्यादै ठूलो थियो । दौडिँदै आउँदाको स्वाँस्वाँ रोकिएकै थिएन ।

रमेशले सरलाई सबकुरा भनिसकेछ । अर्थात् रश्मीको बर्थडे । त्यसैको लागी फूल लिन गएको । अब काम बाँकी थियो त मात्र उठबस गर्ने, छिटो सिध्याउने । सर भित्र लाग्नु भयो । हामी बाहिर इमान्दारीसाथ उठबस गर्न थाल्यौ ।

एक, दुई, तीन, चार, पाँच, . . . . . . . . . . . . .

र सँगै कक्षाभित्रबाट मिठो गीत गुञ्जियो । ‘ह्याप्पी बर्थ डे टु यू ।’ गीतको तालमा हामीले उठबसको लय मिलायौँ । फेरी ‘ह्याप्पी बर्थ डे टु यू, रश्मी ।’ गुञ्जियो । फेर तालमा लय मिलायौँ । तर रश्मी भन्दा चाहिँ म टक्क अडिएँ, उभिएरै । रमेश भुईमा पुगिसकेको थियो । “ओई”, भन्यो । अनि म पनि भुईतिरै लागे ।

एकैछिनमा सर बाहिर आउनुभयो । “पुग्यो ।”, भन्नुभयो ।

“बाँकी छ, सर ।” मैले इमान्दारीसाथ भनेँ । लागेथ्यो सरले पुग्यो भनेर सोध्नुभयो ।

“उठबस गर्न पुग्यो । तिमीहरू यहीँ बाहिर उभिरहूँ । आजको क्लासभर ।” यत्ति भनेर सर भित्र लाग्नुभयो । हामी उभियौँ । जिउ तन्कायौँ । र भित्तामा टाँसिएर उभियौँ । शरीर गलेका थिए ।

घट्नाले कहाँबाट कहाँ मोड लिएको थियो । चुप लागेर बसेको भए । त्यो क्लासभर उन्लाई हेरेर त बस्न पाउँथे । तर जे को लागी यतिविधि गरेको थिएँ, त्यहीबाट बञ्जित भएँ । न ह्याप्पी बर्थ डे भन्न पाएँ । न त्यो सुनौलो अवसरमा प्रफूल्लित उन्को अनुहार, उन्को हाँसो हेर्न नै पाएँ । उन्लाई त थाहा पनि भएन होला, योजना मेरो, रहर मेरो, दुःख मेरो ।

र पनि उनी खुशी भइन् । पक्कै पनि भइन् । मैले नदेखे पनि । कक्षाभरीका सबै उभिए होलान् । सबैले ताली बजाए होलान् । उनी एउटा मिठ्ठो अनुभूती पाउँदा दङ्ग भइन् होला । फूल सुमसुम्याइन् होला । सुघिन् होला । रमाइन् होला । हाँसिन् होला । मनमनै नाचिन् होला । मैले देख्न नपाए पनि । यी पल मैले हेर्न नपाए पनि । यी सब भए । उनी खुशी भइन । पक्कै ।

क्लास सकिएपछि । सर बाहिर निस्किएर हामीतिरै आउनु भयो । अबदेखी यस्तो नगर्न, उस्तो नगर्न आग्रह, अनुरोध, धम्की के के दिन थाल्नुभयो । म भने रश्मीलाई देख्न पाइन्छ कि भनेर आँखा डुलाउन लागीरहेँ ।

ढोकाअघिको दृश्य सरले छेक्नुभएको थियो । उनी निस्किएको देख्न सम्भव भएन । उनी जाँदै गरेको देखेँ, अर्को दिशातिर । पछिल्तीरबाट हातमा फूल बोकेको देखिएको थियो । लाग्थ्यो उनी फुर्किएर फूल सुम्सुम्याउँदै अघि बढ्दै छिन् । संसारकै सुन्दर उपहार बोकेर ।

आषाढ १७, २०७७

Leave a Reply