सखी, के हो यो ??

कत्ति खोजे तिमीलाई ।
कत्ति कोसिस गरे तिमी सामु पुग्न ।
तर तिमी त कता हरायौ, थाहै भएन ।
छोडीयौ वा छोडेर गयौ, बुझ्नै सकिन ।
छोडीएको भए त
यतिविधी कोसिसमा त भेटिन्थ्यौ होला ।
के के मात्र गरिन र,
तर मेरो केही सिप लागेन ।

आज तिमीले पठाएको चिठ्ठी पाउँदा
भुइँमा खुट्टा नहुनु पर्ने हो मेरो
तर मलाई त
म नै यो संसारमा नभइदिएको भए हुन्थ्यो लाग्दैछ ।
के लेख्यौ त्यस्तो,
कसरी आयो आँट,
सोचेर लेख्यौ वा धेरै सोचेर ? हँ ??
“मलाई बिर्सिदिनु, खोज्नु पर्दैन । अरु नै कोही खोज्नु ।“
यत्तिका दिनपछि यत्ति भन्यौ
मलाई त कत्ति पनि नरहुँ लाग्यो ।

फेरी लाग्यो
तिमीले भनेकै मानिदिउँ ।
तिमीलाई भुलिदिउँ ।
तिम्रा यादहरू मेटाइदिउँ ।
कसैलाई थाहा नहुनेगरी तिमी दिलमा थियौ
कसैलाई थाहा नदिइ गुपचुप दिलमै मारिदिउँ ।
तिम्रा यादहरूको हत्या गरिदिउँ ।
यही लाग्यो एकाएक ।

तर एकाएक के भइसकेको थियो भने
हुलाकमा हप्तौपछि चिठ्ठी आएको देख्दा
खुशीले भुइँमा खुट्टा नअडिएको
हुलाकी दाईको हातले सिमा भुलेछ ।
चिठ्ठी देख्दा मभन्दा ज्यादा खुशी भएछन्
चिठ्ठीका शब्दले भने म जत्तिको दुःखी बनाउन सकेनछ ।

त्यही भएरै होला
तिमीलाई दिलमै मारीदिन्छु सोचिरहँदा
तिमी त एउटा कानबाट अर्को कान हुँदै बाँच्दै गएछौ ।
दुँनियासामु म फगत प्रश्न बन्न पुगेछु ।
तिम्लाई सम्झिन्न भन्दा पनि दुँनियाले सम्झाइरहन्छन्
सम्झिन्छु भन्दा पनि दुँनियाले जिस्काइरहन्छन् ।
आखिर के हो यो सब ??
सखी, के हो यो ??

वैशाख १०, २०७७

Leave a Reply