नाथे म । कविता

दुनियाँदेखी वाक्क लागेर
के पनि सोच्न पुगिदो रहेछ भने
यो कोरोना भन्ने
देशमा विदेशमा जस्तोगरी
किन फैलदैन ?
(माफ गर्नुहोला,
विचार न हो, के के आइहाल्दो रहेछ ।)

कोरोनाको लायकहरू
हज्जारौँ छन्
जो बाँच्न लायक छैनन्
जस्ले धर्तीलाई
बस्न लायक बनाइरहेका छैनन् ।
मैले वाक्क-दिक्क मानेर पनि त हुँदो रहेनछ ।

मैले नै केहि गर्दिउँ न त
भन्ने ख्याल पनि नआउने होइन ।
सुरुवात मैबाट गर्दिउँ,
धर्ती बनाउने/बचाउने अभियान सफल पार्दिउँ,
अरुको मुख नताकौँ
आदि इत्यादी महानतम् विचार जन्मीपनि हाल्छ ।

तर
नाथे यो एउटा ज्यान फाल्दैमा
संसार सुन्दर शान्त भैहाल्ने पनि होइन क्यारे ।
कत्ति छिटो निराश विचारले फेरी गाँजी हाल्छ ।
हरे!!

चैत्र ०८, २०७६

Leave a Reply