तिमी भ्रममा नरहनु । कविता

तिमी आयौ भने
जिन्दगी फल्नेफुल्ने भन्ने पनि होइन
हो, मनमा सन्तुष्टि थपिएला ।
तर तिमी भ्रममा नरहनु ।

तिमी आइनौ भने
उजाड पक्कै बन्ने छैन जिन्दगी
केही समय
के नभएको, के नपुगेको होला
तर तिमी भ्रममा नरहनु ।

जिन्दगी कहाँ सकिन्छ,
कस्लाई थाहा हुन्छ र ?
नसकिउञ्जेल चलिरहनेछ ।
तिमी हुँदा चल्न छोडेर
फेरी चल्ने भन्ने हुँदैन ।
तर तिमी भ्रममा नरहनु ।

दुई कदम चार हुँदा
बाटोले बाटो खोज्ला ।
बाटोसँग भएको बाटो त
दुई कदम एक्लैले पनि भेट्टाइहाल्छ नि
तर तिमी भ्रममा नरहनु ।

कहाँ, जून मेरो वशको कुरा हो र ?
त्यो त त्यहीँ रहिरहन्छ
यहाँ ल्याउन सकिदैन ।
तर तिमी भ्रममा नरहनु ।

सिकाई नै त हो जिन्दगी
सिकिरहेछु हरदिन, हरक्षण
तिमीविना पनि जिन्दगी हुन्छ
सिक्न सक्छु, लाग्ला समय केही
तर तिमी भ्रममा नरहनु ।

कुनै न कुनै बाटो हिड्ने नै छु
कहीँ न कहीँ त पुग्ने नै छु
कहीँ न कहीँको त हुँदिन
तर तिमी भ्रममा नरहनु ।

हो, बाँच्नलाई धेरै कुरा चाहिन्छ
तर सधैँ चाहिँदैन ।
किनकी सधैँ बाँच्नुपनि त पर्दैन ।
तर तिमी भ्रममा नरहनु ।

मलाई तिमी मन परेर पनि
मन नपर्नु
मेरो बुझाइ बाहिर रहिरह्यो ।
तिमी राम्री छौ
तर तिमी भ्रममा नरहनु ।

हरक्षण बदलिन्छ जिन्दगी
अधुरो अपुरो मै जिउनुपर्छ
तिमी भएर पनि पूर्ण हुने होइन
तर तिमी भ्रममा नरहनु ।

रङ्गहीन छैन,
वेरङ्गी छु ।
म त यस्तो नै ठिक छु
तर तिमी भ्रममा नरहनु ।

चैत्र ०३, २०७६

Leave a Reply