सञ्जालले सञ्चालित संसार

खुल्ला आँखाले पनि सबथोक देख्न सक्दैन । आँखाभन्दा पर पनि संसार छ । र त्यो तपाईले देखे/सोचेभन्दा भिन्न छ ।

सानोमा पिट्टु, डन्डिबियो खेल्दा संसार भनेको त्यही हो, त्यो बाहेक अरू केही हुन्न, संसार नै त्यति मात्र हो लाग्थ्यो ।
अहिलेका केटाकेटीलाई पनि मोवाइल, कार्टुन भिडियो मात्र संसार लाग्छ । डन्डिबियो, पिट्टु को त नामसम्म पनि सुनेका छैनन् । एक दशकको अन्तरालमा कति धेरै परिवर्तन छ । शताब्दीमा नहुने परिवर्तन छोटो समयमै हुन थालेको छ ।
हिजो जेलाई संसार मानिन्थ्यो, अहिले त्यस्को अस्तित्व नै बाँकी नरहेको जस्तो देखिन्छ । आज मानिएको संसार भोली कही पनि नहुन सक्छ ।।


जिन्दगी सामाजिक सञ्जालको नियन्त्रणमा रूमल्लिएको छ । बिहान उठेदेखी राती नसुतेसम्म सञ्जाल नहेरी बस्न नसकिने वानि भएको छ । एकछिन मोवाइल चलाउन नपाउँदा आफूलाई छोडेर बाँकी संसार नै मङ्गल ग्रहमा पुगीसक्यो कि जस्तो लाग्छ ।
कुनै समय केही शब्द मात्र पोष्ट गर्न पाउँदा रमाउने मन फोटो शेयर गर्न पाउँदा झन हौसियो । टाइमलाइनमा पोष्टिने फोटो स्टोरीमा टाँस्न मिल्ने भएपछि भिड त्यतै दौडियो । फोटोको ठाउँ छोटा भिडियोले लिदै गर्दा भिड भिडियोमा दङ्ग पर्न थाल्यो । सञ्जालले जे गर भन्यो त्यही गर्न थाल्यो । त्योभन्दा भिन्न हुन्छ भन्ने सोच्न दिमागलाई फुर्सद भएन ।

कस्ले के राख्यो होला, आज म के राखुँ होला यस्तै यस्तै कुराले दिमागमा स्टाटस् दौडिन्छ, फोटो फल्छ, भिडियो चल्छ । उस्ले के राख्यो, त्यस्ले त त्यस्तो राखेछ, म पनि यस्तै राख्छु । त्यहाँभन्दा बाहिर के छ पनि मतलब छैन्, थाहा नै छैन । दैनिकी फेरीएर यस्तो भएको छ । हामी कुहिरोमा हराएको काग भएका छौ ।।

सञ्जालको जालोले यसरी बाँधेको छ कि मान्छेको जिन्दगी नै सञ्जालले नियन्त्रणमा छ । निर्देशीत गर्दै छ सञ्जालले के गर्ने के नगर्ने भनेर । सञ्जालको भिडको पछि लागेर सञ्जालले जे गर भन्छ, त्यही गरिरहँदा के हामी नियन्त्रित भइरहेका होइनौ र सञ्जालबाट ? अनि स्वतन्त्रताको नारा के भयो मित्र ? कहाँ बाट सुरू हुन्छ स्वतन्त्रता ? कही कतै चिच्याएर कि आफ्नै कर्मको अभ्यासबाट ?

हामीलाई जे संसार हो जस्तो लाग्छ वास्तवमा त्यो मात्र संसार हुँदैन । हामीलाई त सञ्जाल नै सबथोक हो लाग्छ तर होइन । खुल्ला आँखाले पनि सबथोक देख्न सक्दैन । आँखाभन्दा पर पनि संसार छ । त्यो तपाईले देखे/सोचेभन्दा भिन्न छ ।

Leave a Reply