रिसको झोकमा परेको मुसा । कथा

सानुकान्छा निकै छटपटीमा थियो । छटपटीको कारण त थाहा थियो तर त्यो कारणको कारण थाहा थिएन । र छटपटीको मुख्य कारण नै त्यो कारणको कारण थाहा नपाउनु थियो । छटपटीभन्दा पनि रिस उठिरहेको थियो ।

‘कारण के थियो ?’ उस्ले सम्झिन खोज्यो । सोच्यो । टाउको कन्यायो । एकछिन घोत्लियो । तर पनि केही सुझेन । कारण भेट्न सकेन । ‘आखीर उस्ले यस्तो किन भनी ? के मा चित्त बुझेन उस्लाई ? अघिपछि त हाक्काहाक्की भन्थि, “यस्तो भएन, उस्तो भएन् ।” तर आज एक्कासी “तिम्लाई छोडेर माइत जान्छु” किन भनि ?’ जहानकै ढिपिले बाआमाबाट भिन्दो बसेको थियो । ‘आज आएर उ किन “तिमीसँग बस्न सक्दिन भन्छे ?”’

उ अर्थात् उनि अर्थात् पार्वती । सानुकान्छाकी जहान । भातै नखाई एकोहोरो झगडा गरेर नाम्लो डोको लिएर वनतिर हिडेकी थिईन् । उन्को एकतर्फी निर्णय आइसकेको थियो, ‘अब सानुकान्छासँग बस्दिन ।’ घर नै छोडेर हिड्ने निर्णय गरिसकेर पनि घाँस हिडेकी थिइन् । कति चिन्ता वस्तुभाउको, जो भोलीदेखी आफ्नू हुँदैन् । चिन्ताभन्दा पनि उत्तरदायित्त्व होला । आफू छउञ्जेल आफ्नो कर्तव्यमा इत्ति पनि कमी नआओस् भन्ने सिकाई, बुझाई ।

सानुकान्छाले फेरी सोच्न खोज्यो । अहँ, कुनै सुहाउँदो कारण भेटेन । पत्याउन मिल्ने बहाना मिलेन । र निष्कर्ष निकाल्यो, ‘यो साह्रै मनोमानी छे । मनोमानी गर्छे । त्यसैको निरन्तरता हो । आफ्नै ढिपी कस्छे । मनलाग्दी छे । यस्ले अत्ति गरी ।’ अनि उ झनक्क रिसायो ।

रिसाउन त उ अघिपछि पनि नरिसाएको होइन । तर गर्न केही सक्दैनथ्यो । सक्थ्यो त रिसलाई दबाउन । रिसलाई दबाउनु पनि चानचुने कुरा होइन । कैयन् जोईपोइको झगडा र घरमा कोलाहाल रिस दबाउन नसकेर नै भएको छ । उस्लाइ थाहा थियो । अनि आफूमा गर्व गर्थ्यो । उस्को घरमा कोलाहाल नहुनुको मुख्य श्रेय उसलाई जान्थ्यो । कारण रिस दवाउनु । हो, उ यही मान्थ्यो । र देखिएको पनि थियो ।

तर यसपाली उसको रिस शान्त भएन । घरमा एक्लै थियो । के गरूँ, के गरूँ भयो । छट्पटी चल्यो । आँखा कै अघि डालो थियो । ‘लात्तिले भुक्क हानु कि ?’ भन्ने नसोचेको होइन । ‘यस्लाई बिगारे मकै के मा हाल्ने ?’ उस्ले तत्काल सोचिहाल्यो । र खुट्टा उचालेन ।

उ घरमा फनफन्ति घुम्न थाल्यो । कहिले तल, कहिले माथि । खाना खाएको पनि थिएन । खाना खान पनि मन भएन । चुल्होमा पाकिराखेको भात तरकारी त्यस्सै थिए । सेलाइसकेका । उस्ले देख्यो र पनि खान मन गरेन ।

खासमा उ एक्लै थियो । जहान घर नहुँदा उस्लाई खान मन हुन्थेन । सँगै खाने वानी थियो । अर्थात् उस्लाई आफ्नी जहानको वानी लागिसकेको थियो । उनिहरूको बिहे भएको केही बर्ष बितिसकेको थियो । सुरुमा त उनिहरू आमाबाबुसँगै नै बस्थे । साथमा थिए, सानुकान्छाको दाजु भाउजु पनि । तर पार्वती आएपछि दाजुभाउजुको सानुकान्छाप्रतिको व्यवहार निको हुन छोड्यो । घरमा अर्को बुहारी आएपछि खटपट पर्नु त स्वभाविक नै हो । एउटा हुँदा त पर्थ्यो । अब दुईटी बुहारी भएपछि खटपटले उग्र रुप लियो । र उनिहरू भिन्दो बस्ने निर्णयमा पुगे ।

पार्वतीसँग सानुकान्छाको मागी बिहे भएको थियो । पार्वती हक्की स्वभावकी थिइन् । जहाँ पनि बोल्न पछि नपर्ने । परीआए मुख मात्र होइन हातखुट्टा पनि चलाइहाल्ने । आफूलाई चित्त नबुझेको कुरा फ्याट्ट भनिहाल्ने । नाइँ भनेपछि नाइँ नै भनिरहने । आफू हेपिएर बस्न नसक्ने । आफ्नो लागी आफू नै लड्नुपर्छ भन्ने स्वभावकी । सानुकान्छाभन्दा ठिक वितरित ।

सानुकान्छा आफू हेपिएर बस्न सधैँ तयार हुन्थ्यो । कम बोल्थ्यो । अरुको थिचोमिचो केही नभनी सहिदिन्थ्यो । हातखुट्टा चलाएर झगडा गर्ने त परको कुरा ठूलो स्वर गरेर पनि बोल्दैनथ्यो । आँट नै गर्न सक्दैनथ्यो । सानैदेखी यस्तै थियो ।

आफूभन्दा ठिक विपरीत स्वभावकी भएकाले आफ्नी जहान झन् मन परेको थियो उस्लाई । र त उन्को कुरा उस्ले मान्थ्यो । साथ दिन्थ्यो । उन्कै सल्लाहाले उ भिन्दो बस्न राजी भएको थियो । आफूले जीवन बिताउन असल साथी भेटेको उस्लाई लाग्थ्यो । र गर्थ्यो माया उन्लाई । तर भन्न भने सक्दैनथ्यो । ‘म तिमीलाई माया गर्छु।’, यो भन्ने उमेर र परिस्थिति गइसकेको उस्लाई लाग्थ्यो । र आफ्नी जहानप्रतिको माया मनभित्रै लुकिरहेको थियो । सधैँ खेत भन्यो, बारी भन्यो, मेला भन्यो, वनपाखा भन्यो । यसैगरी थिचिइरहेको थियो जिन्दगी ।

एक्लै थियो उसमाथि जहान रिसाएर नखाइ हिडेकी थिइन । के रुच्थ्यो र भात ? खाएन । बरु यताउता गरिरह्यो । घरका कोठा चाहारिरह्यो । तलमाथि गरिरह्यो ।

रिसलाई दबाउन कोसिस नगरेको होइन । तर चित्तबुझ्दो उपाय भेटेन र झन् मुर्मुरीन थाल्यो । आफ्नो कोठामा गयो । सुत्न खोज्यो तर सकेन । एकछिन त्यत्तिकै बस्यो । चित्त बुझेन । तल झऱ्यो ।

गाँउको घर । भान्छा एउटा कुनोमा थियो । अर्को कुनोमा भऱ्याङ्ग थियो । अर्को कुनोमा दराज थियो । अर्को कुनोमा सामानहरू थिए ।

भान्छामा आँखा पुऱ्यायो । एउटा मुसो कसौडीबाट भात लुछ्दै रहेछ । उस्लाई एक त रिस उठिरहेको थियो, अर्को त मुसा कहिल्यै मन पर्दैनथ्यो । रिसको झोकमा मझेरीमा भएको पिर्का उठाएर झट्टी छोड्यो । पिर्का ठाँउमै लाग्यो । अर्थात् कसौडीमै लाग्यो । तर मुसा भने पिर्का त्यहाँ आइपुग्नु अघि नै भागिसकेको थियो । पिर्काले कसौडीमा बेस्गरी लाग्यो । कसौडी गुड्दै मझेरीमा आएर लड्यो । चुल्होदेखी मझेरीसम्म भात छरीयो । कसौडीसँगै रहेको कन्ति पनि त्यही ढल्यो । कन्तिमा भएको सबै तरकारी चुल्होभरी भयो । यो देखेर सानुकान्छालाई झन् रिस उठ्यो । मुसोलाई लागेको भए रिस कम हुन्थ्यो होला । असफतलामा आफ्नो कामप्रति, आफैँप्रति झन् रिस उठ्छ । रिस दोब्बर भयो । अब उ मुसालाई मारेरै छोड्ने निचोडमा पुग्यो ।

मुसा दगुर्दै त्यतैतिरको कुनातिर लाग्यो । र छिऱ्यो दराजभित्र । सानुकान्छा छक्क पऱ्यो । उस्लाई थाहै थिएन कि दराजमा मुसा छिर्न सक्छ भन्ने । दराज पुरानो भइसकेको ख्याल उस्लाई बल्ल आयो । उ सिधैँ दराजतिर हान्नियो । दराजको ढोका खोल्यो । दराजमा दुईओटा तला थिए । माथिल्लो तलामा केही बट्टाहरू तथा सिसीहरू थिए । तल्लो तलामा नुन, तेल, मसला र केही भाँडाकुँडा राखेको थियो । सानासाना थैलामा खै के के थिए, पोकापोकी देख्यो । उस्लाई थाहै थिएन, ति के के थिए भन्ने । कहिले भान्छाको काम गरेको भए पो थाहा हुन्थ्यो ।

उस्लाई ति कुरामा मतलब भएन । हातमा केही थिएन । ढोका लगायो र केही खोज्न थाल्यो । चुल्होमा दाउरा रहेछ, त्यही उठायो । र दराजको ढोका खोल्न गयो । ढोका खोल्ने बित्तिकै मुसा भएतिर दाउराले हिर्कायो । भएका सर-सामानको ख्याल नै गरेन । ति त्यहाँ पोखिए । यत्रतत्र भए । तर उस्लाई त्यसको मतलब भएन । मुसाले एकचोटी दाउरो भेट्यो । अर्थात् सानुकान्छाको हिर्काई भेट्यो । तर मुसालाई केही भएन । बरु फुत्त ढोकाबाट निस्कियो र सानुकान्छाको टाङ मुनिबाट अघिल्तिर लाग्यो । सानुकान्छा जिल्ल पऱ्यो ।

यस्लाई कहाँ छोड्छु । मनमनै सोच्यो । उस्ले पार्वतीलाई बिर्सिसकेको थियो । पार्वती माइत जाने कुरा पनि उस्को ख्यालमा थिएन । थियो त मात्र त्यो मुसा, जस्लाई मार्नु उस्को एकमात्र लक्ष्य थियो । उस्को खुशी यसमै अडिएको थियो । दराजको ढोका बन्द गऱ्यो अनि मुसा खोज्न अघि बढ्यो ।

मुसा ठिक विपरीतको कुनातिर लागेको थियो, जहाँ सामानहरू थियो । धोक्राहरूमा सामान थियो । धोक्राहरू भरीभरी थिएनन् । त्यसैले धेरैवटा थिए । अघि बढ्दै गर्दा उस्ले सोच्यो, कतै मुसा ढोकाबाट बाहिर भाग्ने त होइन । बाहिर भाग्यो भने त मैले भेट्नै सक्दिन । यस्लाई मार्नै सक्दिन । र उ ढोका बन्द गर्न लाग्यो । र सँगसँगै झ्याल पनि बन्द गऱ्यो । भित्र अँध्यारो छायो । सानुकान्छाले बत्ति बाल्यो र मुसा भएति लाग्यो ।

धोक्रामा खर्स्याकखुर्सुक गऱ्यो । मुसा निस्किएन । अनि उस्ले एकएक गरी धोक्र उचाल्दै मझेरीतिर फाल्न थाल्यो । धोक्रा घट्दै गए । मुसो देखियो । दाउरा उठायो र हान्यो तर मुसालाई लागेन । मुसा फेरी भाग्न सफल भयो । अर्थात् सानुकान्छा फेरी असफल भयो ।

मझेरीमा धोक्रा छरपस्ट थिए । केही धोक्राबाट सामान पनि पोखिएका थिए । कुनैबाट मकै पोखिएको थियो त कुनैबाट धान । एउटाबाट त चामल पनि पोखिएको थियो । उस्ले त्यतातिर वास्ता गरेन । त्यतातिर वास्ता गर्ने फुर्सद पनि थिएन ।

मुसा फेरी दराजमा छिरेको उस्ले देख्यो । अब जसरी पनि मार्नु पर्छ, उस्लाई लाग्यो । र एकछिन सोच्न लाग्यो । र उस्ले योजना बनाइहाल्यो । अबको योजना व्यवस्थित भएको उस्लाई लाग्यो । अब सफल भइनेमा उ ढुक्क भयो ।

उ चुल्होमा गयो । त्यहाँ बाल्न राखेको एउटा खोया उठायो र दराजतिर अघि बढ्यो । सुरुमा उस्ले मुसा छिरेको प्वाल बन्द गऱ्यो । उ यतिमा नै खुशी देखियो । ‘अब मर्छ यो ।’ उस्ले सोच्यो ।

त्यसपछि उस्ले यताउता हेऱ्यो । केही खोजेजस्तो गरी । उस्को नजर त्यही धोक्राहरू राखेको कुनामा गएर रोकियो । दाउरा भुईँमा राख्यो र उ त्यतातिर बढ्यो । एउटा खालि धोक्रा उठायो । र धोक्राको मुखतिर केही दोबाऱ्यो ।

दराजको ढोका बिस्तारै खोल्यो र खोल्ने बित्तिकै धोक्राको मुख दराजको ढोकातिर तेर्स्यायो । मुसाको बाहिर निस्कने बाटो त्यही एउटा थियो, दराजको ढोका । त्यसमा उस्ले मिलाएर धोक्रो राख्यो । धोक्रो अब पासो बनेको थियो । मुसा बाहिर हाम्फाल्न खोज्ने बित्तिकै धोक्राभित्र पुग्थ्यो । र ‘मुसालाई सजिलै मार्छु’, यही सोच्यो सानुकान्छाले ।

दराजभित्र अघि पोखिएका सामान असरल्ल यत्रतत्र छँदैथिए । र पनि उस्ले मुसो कता छ खोज्न लाग्यो । एउटा प्लास्टिकको पोकोपछाडी लुकिरहेको रहेछ । सानुकान्छाले हातले त्यो पोको हल्लायो । मुसा आत्तिएर बाहिर निस्कन हाम्फाल्यो । तर सानुकान्छाको योजना अनुरुप धोक्राभित्र पुग्यो । सानुकान्छाले धोक्राको मुखतिर समायो र माथितिर उठायो । सपक्क पार्दे थुनिहाल्यो ।

सानुकान्छाको खुशीको सीमा थिएन । भुईँमा खुट्टा यदि राख्नु नपर्ने हुन्थ्यो भने उस्को खुट्टा भुईँमा हुन्नथे । त्यति खुशी भयो । सारा दुँनियामा उस्को एकमात्र काम थियो मुसालाई मार्नु । बाँकी दुनियाँ बिर्सियो र मुसालाई कसरी मार्ने होला सोच्न थाल्यो ।

धोक्राभित्रै खुट्टाले थिचेर मार्ने कि, पहिलो उपाय उस्को मस्तिष्कमा घुम्यो । विचार सँगै उस्को खुट्टा काप्न थाल्यो । आजसम्म उस्ले मुसा मारेको थिएन । उस्को खुट्टाले मुसा नमार्ने सङ्केत उस्लाई दिइहाल्यो । यो उपायको लागी उस्ले अरु सोच्न नपर्ने भयो । र उस्लाई अब अर्को उपाय सोच्नु पर्ने भयो ।

यत्तिकै दाउराले हानेर मार्दिउँ कि । यो उपाय सुरुमा उस्लाई सजिलो र चित्त बुझ्दो त लाग्यो । तर झटपट उस्को मस्तिष्कमा अर्को विचार आयो दाउराले धोक्राभित्रै मुसा मार्दा त धोक्राभरी मुसाको रगत लाग्छ । धोक्रा धुनुपर्ने हुन्छ । यो उपाय पनि अब उत्तम लागेन । अब धोक्रा फोहोर नहुने, धुनु नपर्ने उपाय खोज्नु पर्ने भयो ।

उपाय फेरी झट्ट आइपनि हाल्यो । मुसालाई पानीमा डुबाइदिने । उस्ले सुनेको थियो, कुनै भाडोमा पानी हालेर मुसालाई त्यहाँ हाल्दियो भने मुसा उम्कन सक्दैन र बिस्तारै मुसा मर्छ । उसँग समय पनि प्रशस्त थियो । आज काममा जानु पर्ने थिएन । मुसाको सुस्त-मरण हेर्ने निधो गऱ्यो । अब उस्लाई चाहिएको थियो, एउटा भाँडो जुन गहिरो होस् र त्यसमा हाल्न पानी । वश् यत्ति । अनि त हेर्न पाइने थियो एउटा खेल । खेल नै त हो, रमिता नै त हो नि मान्छेको लागी अरु प्राणी मर्दै गरेको हेर्नु । सानुकान्छा रमिता हेर्न तयार भयो, मानसिक रुपमा पनि ।

उस्ले धोक्रा बिस्तारै उठायो । धोक्रो सामान्यभन्दा केही गह्रौँ थियो । कारण मुसा धोक्राभित्र नै थियो । यसमा उ ढुक्क भयो । धोक्रा पुरै उठाइसकेपछि उ डेक्ची खोज्न अघि बढ्यो । जसै उस्ले केही पाइला चालेको थियो, धोक्रा हल्लियो र मुसा चलमल गर्न लाग्यो । अनि त मुसाले बाटो भेट्टायो र निस्कियो बाहिर, फुत्त ।

धोक्रोमा प्वाल परेको रहेछ । सानुकान्छाले पहिले ख्याल नै गरेको रहेनछ । प्वाल ठूलो त थिएन तर मुसाले टाउको छिराएपछि जिउ त जसरी नि छिराइहाल्थ्यो । मुसो बेस्गरी दौडिन थाल्यो । सोच्यो होला, बाँचियो । सानुकान्छा फेरी जिल्ल पऱ्यो । अनि करायो, “आज त मरिस् ।” र लाग्यो मुसाको पछिपछि, दगुर्दै ।

मुसा भऱ्याङ्ग भएको कुनातिर लाग्यो । कतै नरोकिँदै भऱ्याङ्गबाट माथितिर चढ्न लाग्यो । सानुकान्छा केही नसोचि मुसाको पछि लागि नै रह्यो । तर पनि भेट्न् सकेको थिएन । मात्र भेटेको थियो त उस्को नजरले ।

चोटामा अर्थात् माख्लो तलामा पुग्ने बित्तिकै मुसा त्यहाँ रहेको कोठामा छिऱ्यो । चोटाको आधा भागमा कोठा बारिएको थियो जहाँ सानुकान्छा र उस्की जहान सुत्दथे । अघि सानुकान्छा त्यहाँ गएको थियो । निस्केपछि ढोका बन्द गर्न भुलेछ । ‘राम्रो गरेछु’, सोच्दै सानुकान्छा त्यतैतिर लाग्यो । तर बिस्तारै, मुसाले उस्को चाल थाहा पाउला भनेर सतर्क हुँदै ।

उ बिस्तारै भित्र छिऱ्यो । कोठाको एकापट्टी खाट थियो । अर्कोपट्टी एउटा सन्दुक थियो । सन्दुकमाथि एउटा ट्याङ्का थियो । एउटा झ्याल थियो । झ्यालमा केही थिएनन् । भित्तामा केही फोटो झुण्ड्याइएको थियो । कतैकतै लुगाहरू झुण्डिरहेका थिए । बाँकी केही थिएनन् । खाटमुनि केही खत्र्याकखुत्रुक सामान थिए, जोईपोइको ।

माटोको भुईँ । कोठाको धेरै भाग खाली नै थियो । भित्र छिर्ने बित्तिकै सानुकान्छाले देखिहाल्यो मुसालाई । खाली भुईँमा मुसा थकाइ मार्दै गरेको जस्तो देखिएको थियो । त्यसले श्वास फेरेको, श्वास भित्र बाहिर गर्दा त्यसको पेट सानो-ठूलो भएको प्रष्ट देखिएको थियो । यसैबाट सानुकान्छाले अनुमान लगाएको थियो, ‘यो पनि थाकेछ, म जस्तै ।’

उस्लाई यो उपयुक्त मौका लाग्यो । खुल्ला ठाँउ । माटोको भुईँ । वरपर केही थिएनन् । ‘केहीले हान्न पाए, मर्थ्यो कि ।’ सानुकान्छा केहीको खोजीमा टाउको यताउता घुमाउन लाग्यो । र देख्यो नजिकै भित्तामा एउटा तस्बिर । तस्बिर उस्को बिहेको थियो । बिहेको जग्गेमा उ र उस्की दुलही थिइन् ।

हतारमा थियो उ । मौका गुमाउन चाहँदैन थियो । उठायो तस्बिर । समायो दुई हातले दुईतिर र हान्यो जोडले । तस्बिर भुईँमा पछारीयो । तस्बिरमा भएको सिसा झऱ्याम्म फुटेको आवाज आयो । मुसाले चाल पाउनै भ्याएन । तस्बिर राखेको सिसाले मुसालाई लाग्यो र केही रगत पोखियो त्यहाँ । सिसामा केही रगत लतपतियो । मुसा जोडले करायो । तर मुसाको आर्तनाद सुन्ने कस्ले । मुसाको जात नै चाम्रो, मरिहाल्थ्यो र कहाँ ? र मुसा ढोकातिर दौडियो । सानुकान्छाले मुसालाई पछ्याउँनै सकेन । मुसा बाहिर मटानतिर निस्कियो र तल आँगनमा हाम्फाल्यो । आँगनको डिलबाट तलतिर भाग्यो । सानुकान्छाले यत्ति चाहिँ देख्न भ्यायो । मुसा मार्न नपाएकोमा दुःखी भयो । र मटानमै केहीबेर बसिरह्यो, टाउकोमा हात राख्दै । उस्को पहिलेको रिस हराइसकेको थियो । मनमा नमज्जा भएपनि पार्वतीप्रतिको रिस उमा अब थिएन । त्यत्तिकै त्यही बसिरह्यो ।

दिउँसो पार्वती घाँस लिएर आइपुगिन् । वस्तुहरूलाई घाँस हालिइदिइन् । घरभित्र छिरिन् अनि देखिन युद्ध सकिएपछिको युद्ध मैदान । सबैथोक असरल्ल, यत्रतत्र थिए । उनि माथि चोटामा उक्लिइन् । सामान्य नै थियो । अनि लागिन् आफ्नो कोठामा । र देखिन् भुईँमा छरपस्ट सिसाका टुक्रा । सिसामा रातो लतपतिएको थियो । भुईँमा पनि थियो रातो । नजिक गएर हेरिन्, प्रष्ट भइन रगत नै हो भनेर । सिसामा भएको रातो पनि रगत नै भएको बुछिन् ।

एक्कासी उनको मनमा शंका भयो । ‘कतै सानुकान्छाले बौलायो र हात त काटेन ?’ मझेरीमा छरिएको भात, चुल्होमा सुकिसकेको तरकारी अनि यत्रतत्र भएका सामान । यी नै थिए आधार जस्ले पार्वतीलाई सघाइरहेका थिए कि सानुकान्छाले रिसमा केही त पक्कै गऱ्यो । अनि हतारिँदै लागिन् यताउता, सानुकान्छालाई खोज्न ।

मटानमा सानुकान्छालाई टाउकोमा हात राखेर बसिरहेको देखेर पार्वती बल्ल ढुक्क भइन् । केही पनि संवाद भएन उनिहरूबिच । पार्वती खाजा बनाउन तल झरीन् । यत्रतत्र भएका सामान व्यवस्थित गरिन् । सरसफाइ गरिन् । अनि खाजा बनाइन् । र सानुकान्छालाई पनि दिइन् । बिहानदेखीको भोक । खाजा पनि धेरै नै मिठो भयो । उनिहरूबिच अझै संवाद भएन । बेलुका पनि भएन । अर्को बिहान पनि भएन । अर्को बेलुकाबाट भने सामान्य झैँ संवाद भयो । अर्थात् पार्वती माइत गइनन् ।

सानुकान्छाले केही प्रश्न तेर्स्याएन । कारणबारे अनभिज्ञ हुनुमा नै ठिक ठान्यो । पार्वतीले पनि केही सवाल गरिनन् कि त्यस दिउँसो घरमा के भयो, किन स्थिति त्यस्तो थियो ।

पार्वतीको मनमा केही हीनताबोध पनि भयो । ‘किन व्यर्थमा त्यसो भनेछु’ भनेर । सानुकान्छाले पनि असहज महसूस गऱ्यो, ‘व्यर्थैमा रिसाएछु’ भनेर । त्यसपछि उनिहरूको सम्बन्ध पहिले जस्तै सामान्य भयो । त्यस मुसाबारे सानुकान्छाले कसैलाई केही पनि भनेन । बरु कहिलेकाहिँ प्रसङ्ग पर्दा त्यो मुसा कहाँ गयो होला भनेर सोच्ने चाहिँ गऱ्यो, गरिरह्यो । पछिसम्म ।

भाद्र १४, २०७७

Leave a Reply