आज रमिता छ – उपन्यास । पुस्तक चर्चा

“उपन्यास लेख्नलाई कागज र कलम चाहिन्छ औ चाहिन्छ जीवनको ज्ञान । जीवनको ज्ञान तीन पावा अनुभवमा एक पावा कल्पना हो । उमेर र अनुभवले हामीलाई जीवनसँग चिनाउँदै लगेपछि जीवनप्रति र जगतप्रति हाम्रो दृष्टि बन्दछ । त्यै दृष्टि हो उपन्यास लेखाउने ।” भूमिकामा लेख्छन् इन्दबहादुर राई । त्यस्तै देखेँ होलान् इन्द्रबहादुर राईले र त जन्मियो ‘आज रमिता छ’ ।

कस्तो बेलामा यो किताब पढ्दै रहेँभने चिसा दिन छन्, देशमा राजनीतिक संकट देखा परेकोले देशको वातावरण पनि चिसो नै छ । उता कोरोनाले देश चिस्याएको बर्ष दिन हुन लागिसकेको छ । साँच्चै भन्नुपर्दा देशमा रमिता छ । विसङ्गति छ, कोरोनाको प्रकोपले जीवन आक्रान्त छ, मानिसलाई हातमुख जोर्न समस्या छ तर देश चलाउने, चलाउँछु भन्नेको ध्यान केवल सत्तामा छ, पदमा छ ।

इन्द्रबहादुरले ‘आज रमिता छ’मा बर्षौ पहिले समाजका यस्तै विसङ्गति लेखेका रहेछन् । समय फेरीएको छ । समयसँगै जबरजस्ती फेरीनु पर्ने कुरा फेरीएका छन् । बाँकी समाज, मानिसको प्रवृति, दुःख-वेदना उस्तै छ ।

समग्रमा उपन्यास पठन रमाइलो रह्यो । बिस्तारै, रोक्दै, थोरैथोरै पढ्दै गरेर तेस्रो दिनमा सक्काएँ । एक सय चौवालीस पृष्ठको उपन्यास पहिलो दिन अड्तीस पृष्ठमा रोकेँ, दोस्रो दिन एक सय दुई पृष्ठसम्म पढेँ र तेस्रो दिन सक्काएँ ।

उपन्यासको आधार तथा भूमीका भएकाले पहिलो दिनको पठन केही सकसपूर्ण रह्यो । जुग अघिको लेखन त्यसमाथि दार्जेलिङ आसपासको परिवेश तथा भाषाको कारणले पठनमा केही कठीनाइ भयो । कथामा रम्न थालेपछि भने यसमा समस्या कम भयो ।

दोस्रो दिनमा कथामा रम्न थालिसकेकाले सहज भयो । मूल कथा तथा सहायक कथा पढ्दै रोकिँदै गरेँ । कैयन् ठाउँमा भावुक भएँ । कहीँ हाँसे, रमाएँ । कहीँ रिसाएँ । यस दिन उपन्यासलाई सहर पनि घुमाएँ ।

तेसो दिन त बिहान र दिउँसो दुई चरणमा पढेँ । कथामा खुशीको उज्यालो देखिँदै, दुःखको कालरात्री छाउँदै अघि बढ्दा राम्रो भइदियोस् भन्ने मनमा भइरह्यो । तर जीवनमा दुःख पनि त भनेर आउँदैन, अकस्मात् आइलाग्छ । कथामा त्यस्तै हुन्छ, भइरहन्छ । कथा पढेर सक्काउँदा पनि कथाका पात्र मनमा खेल्न आइरहे । शब्दमा सकिएको कथा मनले अघि बढायो । रम्दै, रमाउँदै ।

करिब दुई महिनापछि पुस्तक पढ्न फर्कँदा पढ्न केही अप्ठेरो पक्कै भएको हो । तर इन्दबहादुर राईको कलमले समय र पैसाको न्याय गऱ्यो । सुरुमा पात्र पहिचान तथा परिवेश बुझ्न केही समय भने लाग्यो ।

दार्जेलिङको परिवेशमा उभिएको उपन्यास भारतको स्वतन्त्रता पछिको समयमा केन्द्रित रहेको छ । त्यसबेलाको जनजीवन, रहनसहन, बदलिँदो दार्जेलिङको बारेमा मीहिन तरिकाले कथा बुनिएको छ । नेपालीभाषीको कथा कहिले नेपाल आइपुग्छ, कहिले आसाम पुग्छ त कहिले सिक्किम तर कथा दार्जेलिङमा घुमिरहन्छ ।

त्यसबखतको समाज, राजनीति, मान्छेको दिनचर्या उपन्यासमा समेटिएको छ । मानिसको पीर-व्यथा, दुःख-सुख, आपत्-विपत्, चाहना-रहर त छँदै छन् ।

निम्भुअघि चम्किने बत्ति झैँ सुख देखा पर्नासाथ दुःखले घेरिहाल्छ । आफ्नै जीवनमा अल्झिएका पात्र कथाबाट टाढा पुग्छन् । अब त राम्रो होला भनेर ढुक्क हुन पाउँदा-नपाउँदै नराम्रो आइलाग्छ । राजनीति गर्छु भन्नेले राजनीति बाहेक सबथोक गर्छन् । दुःखमा पिल्सिएका मानिस दुःखमा पिल्सिएरै मर्न बाध्य हुन्छन् । यस्तै यस्तै छ उपन्यासमा ।

रवि, जनक, सीता, बाबुनी, एम्. के. लगायत पात्रहरू मस्तिष्कमा घुमिरहन सफल भएका छन् ।

“मैले देखेँ जीवन चलिरहेछ तर सुव्यवस्थित भई यो ठिक्क-ठिक्क मिलेर चलेको छैन । यो उपन्यासलाई मैले त्यसरी नै नमिलाएको छु ।” भूमीकामा लेखक लैख्छन् तर यसरी नमिलाउँदा पनि उपन्यास गज्जबको छ ।

पौष ०९, २०७७

Leave a Reply