कुनै दुर्गन्धित नालीनजिक घर सर्दा
वा, घर नजिकको नाली दुर्गन्धित हुन थाल्दा
सुरुमा त्यो नाली
साह्रै घिनलाग्दो हुन्छ, गन्हाउने हुन्छ ।
त्यहाँ बस्नै नसकिने, त्यो गन्ध सहनै नसकिने जस्तो लाग्छ ।
तर बिस्तारै त्यो गन्धलाई भोग्न थाल्दा, सहन थाल्दा
त्यो गन्ध नाकलाई वानी पर्न थाल्दछ ।
त्यहाँ गन्ध हराउँदै गए जस्तो
नाकले गन्ध बेवास्ता गरे जस्तो
वा, गन्धको गन्ध हराएजस्तो हुन थाल्दछ ।
गन्ध त त्यहाँ हुन्छ नै
तर नाकलाई थाहा हुन्न
वा, नाकले मस्तिष्कमा सूचना दिँदैन
वा, अब गन्ध
गन्ध लाग्न छोड्छ ।
वानी पर्छ दुर्गन्धको
दुर्गन्ध होइन भन्ने ।
सहरभरी, गल्लीभरी, चोकचोकमा
गाउँगाउँमा, टोलटोलमा,
समाजसमाजमा, देशभरी
त्यस्ता दुर्गन्ध बोकेका कैयन् नाली हाम्रैअघि बगिरहेछन्
बर्षौदेखि,
हामीलाई थाहै छैन ।
पौष ११, २०७७