गुरूप्रसाद मैनालीद्वारा लिखित कथाहरूको सँगालो हो “नासो” । २०२६ सालमा प्रकाशित(पहिलो संस्करण) यो पुस्तकमा एघारओटा कथाहरू छन् । यस संग्रहमा संग्रहित कथाहरू २००७ साल पूर्व र पश्चातको अवधिमा लेखिएको हो । तत्कालीन समय र समाजको रीतिस्थितिबारे लेखिएका मैनालीका कथाहरूमा झर्रो नेपाली भाषाको कलात्मक प्रयोग गरिएको छ । नासो, छिमेकी, प्रायश्चित, पापको परिणाम, बिदा, परालको आगो, अभागी, शहीद, कर्तव्य, प्रत्यागमन, र चिताको ज्वाला सहित एघारओटा कथाहरूमध्ये नासो कथाबाट कथासङ्ग्रहको नाम राखिएको हो ।
मैनालीको हरेक कथा कारुणीक तथा मर्मस्पर्शी छन् । हरेक कथामा दुःखलाई उजागर गरीएको छ । कथाले मनलाई यसरी छुन्छ कि एकचोटी रुन बाध्य गराउँछ । गरिबी, बाध्यता, दुःख्, समाजको यथार्थ, अधुरा सपना, आदी मैनालीका कथाका विशेषता हुन् ।
मैनालीका कतिपय कथा विद्यालय स्तरका पुस्तकमा समेटिएका छन् । हरेक कथाबाट व्यक्तिले केही न केही नैतिक शिक्षा लिन सक्छ । समाजमा के छ र के हुनु पर्छ भन्ने कुराले पाठकलाई सोच्न बाध्य गराउँछ । पिडामाथि पिडा, रोगमाथि रोग, हेपाइँमाथि हेपाइँ थप्दै कथाहरू अघि बढ्छन् । हुनेखानेले हुँदा खानेमाथि गरिएको अन्यायदेखी, एक सामान्य व्यक्तिका जिन्दगीका पाटाहरू कथाले बोल्छन् ।
कथाहरू बर्षौअघिको परिवेशको भएपनि आज पनि उत्तिकै प्रभावशाली छन् । मैनालीको लेखनीले पाठकको मानषपटलमा छुट्टै छाप राख्न सफल छ ।

शिर्षकः नासो (कथासंग्रह)
लेखकः गुरूप्रसाद मैनाली
विधाः कथा
प्रकाशकः साझा प्रकाशन
प्रकाशन मितिः २०२६, पहिलो संस्करण
पृष्ठः १२४
मूल्यः रू १४७ (बीसौँ संस्करण २०७१)
ISBN: 9789937321891
नासो – अच्युत घिमिरे बुलबुलको आवाजमा
शिर्षकथा नासो र अभागी
कथा – शहिद र प्रत्यागमन
कथा – चित्ताको ज्वाला र छिमेकी
कथा – कर्तव्य र पश्चाताप
कथा – परालको आगो र विदा
नासो – पापको परिणाम
गुरूप्रसाद मैनालीको परिचय
गुरूप्रसाद मैनाली नेपाली भाषाका कथाकार हुन । उनको जन्म वि.सं. १९५७ साल भाद्र शुक्ल चतुर्दशीका दिनमा भएको थियो । उनका बाबुको नाउँ काशीनाथ र आमाको नाउँ काशीरूपादेवी हो । उनको पुर्ख्यौली घर काभ्रेपलाञ्चोक जिल्लाको कानपुर हो । उनका बाबु जागीरे थिए। जागीरको सिलसिलामा उनका बुबा धनकुटा गएका थिए। त्यही बेलामा धनकुटामा नै गुरूप्रसाद मैनालीको जन्म भएको हो । गुरूप्रसादले धेरै पढ्न सकेनन् । बाबुको जागीर सरुवा हुँदा बाबुसँगसँगै जानुपर्ने भएकाले उनको बसाइ एकै ठाउँमा हुन सकेन । त्यसैले पहिले घरमै उनले अक्षर चिने, त्यसपछि ‘लघुकौमुदी’, ‘अमरकोश’, ‘रुद्री’, ‘दुर्गासप्तशती’ आदि पढे । अनि स्रेस्ता पाठशालामा पढे । त्यस बेला नेपालमा धेरै विद्यालय थिएनन् ।
मैनालीले श्रेस्ता पाठशालाको पढाइ सकेपछि जागीर खाए । न्यायसेवामा उनको जागीर थियो । नौसिन्दा पदबाट मासिक रु. ११।- तलब पाउने गरी उनले जागीर खान थालेका थिए । पछि उनी विचारी, डिठ्ठा र तहबिलदार भए । त्यसपछि फेरि बढुवा भएर उनी न्यायाधीशसमेत भए । सामान्य घरको र थोरै मात्र पढेको व्यक्तिले न्यायाधीश हुनु भनेको चानचुने कुरा थिएन् । राणाहरूको शासन भएको बेलामा न्यायाधीश भएकाले राणाहरूका भित्री कुरा पनि उनले थाहा पाए । न्यायाधीश भएका बेलामा गुरूप्रसाद मैनालीले धेरैवटा घरायसी मुद्दा हेर्नुपर्यो । त्यस्ता मुद्दाहरू हेर्दा-हेर्दा उनले नेपालका गाउँघरमा के-कस्तो स्थिति रहेछ भनेर थाहा पाएँ । उनी गाउँगाउँमा डुलेका पनि थिए ।
उनले गाउँघरमा गरीबहरू देखे, मान्छेहरू किन गरीब भएका रहेछन् भनेर थाहा पाए । लोग्नेस्वास्नीको सम्बन्ध, छिमेकी-छिमेकीको सम्बन्ध आदि धेरै कुरा उनले देखे । कैयौँ घटना त अत्यन्त मार्मिक थिए । त्यस्ता मार्मिक घटना थाहा पाएकाले तिनै घटनाहरूबाट उनलाई कथा लेख्ने प्रेरणा मिल्यो । गुरूप्रसाद मैनालीलाई त्यस्ता घटनाका विषयमा कथा लेख्न पाए कति राम्रो हुन्थ्यो होला भन्ने लाग्न थाल्यो । त्यसपछि धेरै सोचविचार गरेर उनी कथा लेख्न थाले । उनले गाउँघरमा हुने शब्द र गाउँघरमा घट्ने घटनाहरू राखेर कथाहरू लेखे । उनले नेपाल र भारतका थुप्रै ठाउँ घुमेका थिए । त्यसैले गाउँघरमा भएका सानातिना घटना पनि उनले थाहा पाएका थिए । सानातिना घटनाले पनि उनको मनमा चस्स बिझाउँथ्यो । त्यसैले उनले ती घटनालाई कथामा उतारे । भारतमा गएर काम गर्ने नेपालीहरूको दुःख-दर्दका घटनाका विषयमा पनि उनले कथा लेखे ।
लेखनयात्रा
गुरूप्रसाद मैनालीले पहिलो पटक लेखेको कथा ‘नासो’ हो। त्यो कथा सर्वप्रथम १९९२ सालमा ‘शारदा’ भन्ने साहित्यिक प्रत्रिकामा छापियो। त्यो कथा अत्यन्त प्रसिद्ध भयो । सबैतिरबाट उनलाई ‘फेरि यस्तै कथा लेख्नुपर्छ’ भन्न थालियो । त्यसभन्दा पहिले सामान्य घरपरिवारका सामान्य घटनालाई कथा बनाएर लेख्ने चलन नै थिएन । ‘नासो’ कथा छापिएपछि नयाँ चलन चल्यो र त्यो नयाँ चलन चलाउने व्यक्ति कथाकार गुरूप्रसाद मैनाली भए । त्यसपछि अरूले लेखेका सामान्य घटनाका कथाहरू उनकै सिको गरेर लेखिएका हुन् । ‘नासो’ कथालाई सबैले अत्यन्त राम्रो मानेपछि गुरूप्रसाद मैनालीले अरू कथाहरू पनि लेखे । ‘परालको आगो’, ‘बिदा’, ‘शहीद’ आदि शीर्षकका उनका कथाहरू पनि धेरै चर्चित भए । ती कथाहरू योभन्दा ऊ राम्रो र ऊभन्दा त्यो राम्रो भन्ने खालका भए, अथवा सम्पूर्ण कथाहरू एकदमै राम्रा ठहरिए । गुरूप्रसाद मैनालीले कथा लेखेर पत्रिकामा त छपाए, तर उनको पुस्तक भने छापिएको थिएन । पछि वि.सं. २०२० सालमा प्रसिद्ध समालोचक डा. तारानाथ शर्माले मैनालीका ११ वटा फुटकर कथा जम्मा पारे, अनि आफू सम्पादक बनेर ‘नासो’ नामको कथासङ्ग्रह निकालिदिए । गुरूप्रसाद मैनालीका छरिएका कथा एउटै पुस्तकमा पाएपछि नेपाली साहित्यका पाठकहरू पनि अत्यन्त खुसी भए । गुरूप्रसाद मैनालीले कथाबाहेक हास्यव्यङ्ग्य विधामा केही लेख तथा फुटकर निबन्ध पनि प्रकाशित गराएका थिए । तर ती लेख-निबन्ध पुस्तकका रूपमा निस्किएका छैनन् ।
जागीर छोडेपछि गुरूप्रसाद मैनाली काठमाडौँमा बसोबास गर्न थाले। मैनाली मधुमेह र रक्तचाप रोगको चपेटामा फसे। उनी काठमाडौँमा नै भएको समयमा वि. सं. २०२८ साल जेठ २५ गते उनको निधन भयो।
कृती
नासो कथासंग्रह उनको प्रकाशित कृती हो जसमा नासो, छिमेकी, प्रायश्चित, पापको परिणाम, बिदा, परालको आगो, अभागी, शहीद, कर्तव्य, प्रत्यागमन, र चिताको ज्वाला सहित एघारओटा कथाहरू समावेश छन् ।
कर्तव्य – कथा
समाजमा घट्ने यथार्थ घटनाहरुलाई आधारमा राखी मैनाली कथाहरू लेख्छन् । त्यसको एउटा उदाहरण हो कर्तव्य कथा । समस्याग्रस्त नेपाली समाजलाई नजिकैबाट नियालेका उनले मानिसको जीवनका दु:ख र पीडालाई आफ्ना कथाहरुमा झल्काएको हुनाले उनलाई सामाजिक यथार्थवादी कथाकार भनिन्छ । साथै आदर्शमा विश्वास भएकोले उनका कथाको एक पात्रलाई आदर्शवादी बनाएर मानिसलाई उच्च महिमायुक्त जीवनयापन निम्ति अग्रसर हुन प्रेरित गरेका छन् ।
कर्तव्य एक समाजिक कथा हो । यस कथाले एक आदर्श बाबुका भिन्न प्रकारका चरित्र भएका दुई दाजुभाई बीचको कलहलाई चित्रण गरिएको छ । दाजुभाई बीचमा सानोतिनो कुराले मनमुटाव भयो भन्दैमा आफ्नो कर्तव्य र जिम्मेवारीबाट पर सर्नु हुदैन, आफुले राम्रो गरेपछि अर्काले पनि आफुलाई सकारात्मक दृष्टिले हेर्छ अथवा उसमा पनि सकारात्मक परिर्वतन आउन सक्छ भन्ने सन्देश प्रवाह गरेको छ । यसका साथै सम्पति भन्दा मानवीय सम्बन्ध ठूलो कुरा भएकोले यसलाई जोगाउन समाजका प्रत्येक सदस्यले सकारात्मक सोच र त्याग गर्न सक्नुपर्छ भन्ने विषयलाई कथामा प्रस्तुत गरिएको छ ।
छिमेकी – कथा
मैनालीले यस कथामा नेपाली समाजमा रहेको छिमेकी छिमेकी बिचको सम्बन्धलाई मुख्य विषयवस्तु बनाएका छन् । यस विषयवस्तुलाई पूर्णता दिनका लागि उनी गुमाने र धनजीते मुख्य पात्र भएको घटनालाई लिएर कथानकको निर्माण गर्छन् । आख्यानसंरचनाका विविध पद्धतिहरूमध्ये यस अध्ययनमा विलियम ल्याबोभद्वारा प्रस्तुत आख्यानसंरचनाका घटकहरू सारकथन, अभिमुखीकरण, जटिल कार्य, परिणाम र निष्कर्ष, मूल्याङ्कन र समापनकका आधारमा निगमनात्मक विधिद्वारा ‘छिमेकी कथाको विश्लेषण गरिएको छ । यस विश्लेषणबाट गुरुप्रसाद मैनालीको ‘छिमेकी’ कथामा आख्यानसंरचनाका घटकहरूको अन्वितिपूर्ण प्रयोग भएकै कारण यो कथा उत्कृष्ट भएको हो भन्ने निष्कर्ष निकालिएको छ । ‘छिमेकी’ कथालाई आख्यानसंरचनाको सिद्धान्तका आधारमा विश्लेषण गरिएको प्रस्तुत अध्ययन आख्यानसंरचनाका आधारमा कथाहरूलाई बुझ्न चाहने पाठक तथा आख्यानसंरचनाका आधारमा विश्लेषण गर्न चाहने समालोचकहरूका लागि उपयोगी सामग्री रहेको छ ।
प्रत्यागमन – कथा
कथाकार गुरुप्रसाद मैनालीद्वारा लिखित ‘प्रत्यागनमन’ एक सामाजिक विषयवस्तुमा आधारित कथा हो । यसले नेपाली समाजको वास्तविकतालाई जीवन्त रूपमा उतारेको छ । नेपाली समाजको पारिवारिक स्थिति, मूल्य, मान्यता, रीति, परम्परा आदर्श आदिलाई यसले यथार्थ रूपमा प्रस्तुत गरी नैतिक सन्देश समेत दिएको छ ।
परिवारमा मिलेर बस्नु नेपाली समाजको ठुलो आदर्श हो । समाजमा परिवारका सदस्यहरू झगडा गर्नुको साटो आपसमा मिलेर बस्छन् । लोग्ने र स्वास्तीका बिच कुनै प्रकारको तल बितल हुन्न । सानोतिनो कुरामा मनमोटाब भइहाले पनि त्यो क्षणिक हुन्छ । त्यसले कहिल्यै गम्भीर मोड लिन्न । नारीहरू उदार हृदयका हुन्छन् । सौतेनी छोरो भए पनि मातृत्त्व स्नेह दिएर सहजै हुर्काउन सक्ने हृदयको विशालता र क्षमता उनीहरूले राख्छन् । यही हृदयको विशालता रामुका दाजु निर्मल र भाउजू शोभाले देखाएका छन् । डेढ वर्षको टुहुरो। राज्यको सम्पूर्ण जिम्मा लिएर आजीवन उसको भलाइ चाहनु निर्मल र शोभाको आदर्श चरित्रको विशिष्ट उदाहरण हो ।
नेपाली समाजमा पढेलेखे मानिसहरूलाई सम्मान गर्ने परम्परा छ । पढेलेखेका शिक्षित र जागिरेहरूलाई हेर्ने दृष्टिकोण नेपाली समाजमा सकारात्मक रहेको छ । त्यस्तै बिहे गर्दा कुल घरानकी केटी हेर्ने, इज्जतको ख्याल गर्ने परम्परा पनि नेपाली समाजमा विद्यामान छ । बिहे गर्दा दुलाहा र दुलही पक्षकाले सतर्कता अपनाउने, बिहेलाई साँस्कृतिक उत्सवकै रूपमा लिने, भोज भतेर गर्ने, छोरी मान्छेले बिहे गरेर गएपछि, माइतीको सम्पत्तिको धाक रवाफ देखाउने, सम्पन्न हुँदै गएपछि घरमा नोकर राख्ने, घरको डिलमा बसेर घुङ्गट तान्ने, छोराछोरीको पास्नी गर्दा आफन्त र इष्टमित्रहरूलाई बोलाउने जस्ता परम्परा र चलनहरू नेपाली समाजमा अद्यापि छँदै छन् । यस्ता नेपाली समाजका वास्तविकतालाई यस कथाले अत्यन्त मार्मिक रूपमा उतारेको छ । पारिवारिक पृष्ठभूमिमा रचना गरिएको भए पनि यस कथाले नेपाली समाजका वास्तविकतालाई जीवन्त र प्रभावकारी ढङ्गमा उद्घाटन गरेको पाइन्छ ।
‘प्रत्यागमन’ कथा गुरुप्रसाद मैनालीको एक चर्चित सामाजिक कथा हो । पारिवारिक विषयवस्तुमा आधारित भए पनि नेपाली समाजका समस्यालाई यसले उजागर गरेको छ । यस कथाले परिवारका सदस्यहरूबिच सधैं मेलमिलाप र सद्भाव कायम हुनुपर्छ, सानोतिनो कुरामा विवाद गर्नुको सटो फराकिलो हृदय पारेर अघि बढ्नुपर्छ । यसैगरी घनसम्पत्ति र कुल घरानाको धाक र रवाफ पनि देखाउनुहुन्न । मानिसको सोच र व्यवहार सदा सकारात्मक हुनुपर्छ । यस्ता कुराहरू हुन नसके परिवारमा कलह सिर्जना हुनु अनि अशान्ति मच्चिन्छ । परिवारमा शान्ति, समृद्धि र समुन्नतिका लागि परिवारिक मेलमिलाप, सद्भाव र असल व्यवहार आवश्यक छ भन्ने देखाउनु नै ‘प्रत्यागमन’ कथाको मुख्य आशय हो ।
छिमेकी – कथा
छिमेकी कथामा गुमाने र धनजिते दुईजना छिमेकी छन् । असारको समय छ, खेत रोप्ने बेला छ। चौतारामा गाउँलेहरु जम्मा भएका छन्। गुमानेको गोरु धनजितेको खेतको बिउमा पस्छ र धनजितेले गोरुलाई बेस्सरी पिट्दै धपाउँछ । वर्षायामका आफ्ना गोरुलाई बेस्सरी पिटेको देखेपछि गुमाने रिसाउँछ र दुबैका बीचमा झगडा हुन्छ । गाउँको भँडुवा धर्मानन्द पाध्याले गुमानेलाई उक्साउँछ र झगडा हातपातसम्ममा पुग्छ । छिमेकीहरूले गुमाने र धनजितेलाई छुट्याउँछन् तर दुबैमा रिस बाँकी रहन्छ । दुबै छिमेकीहरूमा बोलचाल तथा अर्म-पर्म र असल व्यवहार बन्द हुन्छ । केही समय पछि गाउँमा आँठे रोगको महामारी फैलिन्छ त्यसको चपेटामा धनजिते र उसको परिवार पर्छ । आँठेले इन्तु न चिन्तु भई लडेको धनजितेको दयनीय अवस्था देखेर गुमानेको मन पग्लन्छ । उसले मन लगाएर धनजितेको सेवा गर्छ । सेवा नगर्न र आफ्नो भारी बोक्न गए चलनचल्तीभन्दा धेरै ज्याला दिने लोभ आसामरु साहुले देखाउँछ । यो लोभमा नपरी गुमानेले उल्टै छिमेकीको महत्त्व बुझाउँछ । सन्चो भई बिउँझेपछि धनजितेले गुमानेको प्रेम र उसको मनमा आफूप्रतिको माया र सद्भाव देख्छ । उसलाई विगतप्रति पछुतो लाग्छ र गुमानेसँग माफी माग्छ । दुबैमा मेल हुन्छ र कथा समाप्त हुन्छ ।
छिमेकी कथा सामाजिक समस्याहरु प्रस्तुत गरी आदर्श समाधान पहिल्याउने आदर्शोन्मुख यथार्थवादी कथाकार गुरूप्रसाद मैनालीको छोटो आकारको प्रभावशाली कथा हो । यसको क्षेत्र गाउँ रहेको छ । छिमेकीहरूको बीचमा स-साना कुरामा असमझदारी भई ठूला-ठूला समस्या उत्पन्न हुने यथार्थलाई यसमा देखाइएको छ । यस छिमेकी कथाका प्रत्येक शब्दहरु सरलता र सहजताले भरिएका छन ।वाक्यहरु छोटा छोटा रहेका छन् । कथामा कतै वर्णन त कतै संवादद्वारा कथा रचिएको छ। वर्णनमा सरलता छ भने संवादमा स्वाभाविकता छ। गुमाने र धनजितेले गाउँले र अशिक्षितले बोल्ने भाषा बोल्दछन्। त्यस्तै आशामरु साहूको संवादमा नेवारी लवज छ। यस कथाको शैली पनि सरल र रैखिक ढाँचामा छ ।कथामा आदि मध्य र अन्त्यको रैखिक शैलीमा बढेको छ। अन्तत: भाषा, संवाद र शैलीका दृष्टिकोणबाट हेर्दा यो कथा सरल, सहज, स्वाभाविक र प्रभावकारी छ।
परालको आगो – कथा
गुरूप्रसाद मैनालीद्वारा लिखित नेपाली कृति परालको आगो नासो कथासंग्रहमा संग्रहित कथा हो । परालको आगो कथामा दुई पात्र चामे र गौँथलीको झैँझगडालाई परालको आगोको संज्ञा दिएका छन् । त्यसैगरी उनका अन्य कथावस्तुहरू पनि उत्तिकै मार्मिक छन् । कथा विषयवस्तुको प्रतिपादन र शैलीको चमत्कारी संयोजन दुवैमा परालको आगो गुरूप्रसादको सर्वश्रेष्ठ कथा हो । सफल दाम्पत्य जीवनका दुई अनिवार्य तत्त्व लोग्ने र स्वास्नीबीचको झगडा वास्तवमै चामे र गौँथलीको जीवनमा कथाकारले प्रस्तुत गरेझैँ परालको आगोजस्तै क्षणिक र अस्थायी हुन्छ।
वीकिपिडियाको सहयोगमा
अडियो साभार – अर्काइभ डट ओरजी
नेपाली साहित्यमा रुचि राख्नेका लागि गुरुप्रसाद मैनाली नौलो नाम हैन । त्यसमाथि पनि कथा भनेपछि मैनालीका कथा जत्तिका अब्बल कथाहरु आजका मीतिमा पनि कमै पढ्न पाइन्छ । मैनालीको सहीद, छिमेकी, कर्तव्य जस्ता कथाहरु त स्कुले पाठ्यक्रममै पनि समावेश छन् । तिनै कथा संग्रहमा पढ्दा एक-एक वाक्य दोहोऱ्याएर पढे झैं हुन्छ । विद्यालयमा शिक्षकले संवादहरु फरक फरक छात्रलाई पढ्न दिएका दिनको याद आउंछ ।
“ पोलेको घाऊमा नुन ना छर् कान्जा, मो आधाम हो, क्षामा गर् !”
“ आमाको पुकार स्भन्दा, वास्नी छोराछोरीको पुकार ठूलो होइन ।”
“ठीक भन्यौ! कुकुर अज्ञानी पशु हुनाले बोलाएपछि मात्रै जान्छ; मानिस चाहिं ज्ञानवान् हुनाले बखतमौका विचार गरेर आफैं पनि जानुपर्छ ।”
माथिका हरफहरु विद्यालय वेला देखिकै कण्ठस्त अनि कतिको त सन्दर्भ, प्रसंग र व्याख्या पनि गरिएको हो । तिनै बेला मैनालीलाई आदर्शवादी कथाकार भनेर पनि लेखियो । तर संग्रहमा दुःखान्त वा आदर्श अन्त्य नभएका कथा पनि तमाम छन् । युग अनुसारको र कतिपय अवस्थामा केहि प्रगतिशील लाग्ने विचर पनि रचनामा सामेल छन् । ईतिहासका छाया पनि कथामा परेको भेट्न सकिन्छ । सहीद कथा पढ्दा केहि दशक अघि विद्रोहीको टाउकाको मोल तोक्नेहरु आफै विद्रोही थिए भन्ने पाटो खुल्छ । विद्यालयमा यी कुरा उति ध्यान दिइएन तर मुक्ती सेना त उबेला कांग्रेसीले पनि बनाएका थिए । सशस्त्र संघर्ष उनीहरुले पनि गरेका थिए । यी कुरा मैनालीले कथामा मज्जाले घुसाएका छन् । अनि यो आलोचनाका लागि भन्दा गौरवका लागि त्यहां समावेश छ भन्ने मलाई लाग्छ ।
कथामा महिलाको चित्रण प्राय सेविका, पीडित र पुरुषको सन्दर्भमा परिभाषित पात्र मात्रै छ । केहि कथामा समाजको विद्यमान नियम कानुन उल्लंघनका असफल प्रयास पनि समेटिएका छन् । प्रयाश्चित, विदा र चिताको ज्वाला पढ्दा त्यो भान हुन्छ । ७० वर्ष अघिको कथाहरुमा कति खोज्ने भन्ने पनि हुन्छ ।
कथाहरु एकै स्वादका छैनन् । पात्रहरुमा विविधता छ । विविध समुदायका पात्रहरु कथामा अटेका छन् । घटनाक्रमहरु पनि सधैं सुखद मात्रै पनि छैन । कथाकारले पात्रहरु निर्मम तरिकाले मारेका पनि छन् । सुखद अन्त्य भएका कथा पनि छन् । जे होस् नेपाली कथामा चांसो हुने वा लेख्न चाहनेले पढ्ने एउटा आधार पुस्तक नासो हो । यो सिक्नैका लागि पनि राम्रो छ । लेख्दाको सत्ता प्रतिको विचार पछि कसरी असुहाउंदो लाग्छ भन्ने पनि यो पढ्दा ज्ञान हुन्छ ।
राजिनामामा भैरव अर्यालले मैनालीको कथाका बारेमा गरेक प्रशंसाले यो किताब फेरि समाउन कर लगाएको हो । पुराणमा आधारित रचनाको विगविगि भएका बेला समाजमा आधारित मौलिक कथाहरु आउनुको महत्व उनले खुलाएपछि यो किताब अझै महत्वपूर्ण लागेको हो । अहिले पढ्दा पनि हालसम्म पढेका कथाहरु मध्ये एकदमै अब्बल कथा मैनालीका लागे भन्दा ढांटेको हुंदैन । पढ्नुस्, गुन्नुस् र समाजमा आएको परिवर्तनका बारेमा पनि गम्नुस् ।
Facebook बाट
फाल्गुण ०७, २०७६