‘संसारलाई साढे पाँच फन्को’लाई एक फन्को | Book View

puskar shah

घरको आँगनभन्दा बाहिरी विश्व जान्न, घुम्न रहर गर्ने मान्छेलाई पुष्कर शाह एउटा रहर हो, एउटा सपना हो, एउटा उदाहरण हो । पुष्कर जस्तै बन्ने रहरले कयौँलाई समाजप्रति, विश्वप्रति बफादार हुन सिकाएको छ, उत्तरदायी हुन प्रेरणा दिएको छ । रेडियोपत्रिकामा शहिद भयो भनेर समाचार छापिएको मान्छे, माइतिघरको भट्टीमा छ्याङ तानिरहेको(इँटा थपिरहेको) मान्छे कसरी विश्वलाई साढे पाँच फन्को मार्न सफल भयो होला, त्यो पनि साइकलमा ? कथाले जो कोहिलाई लोभ्याउँछ । जो कोहिलाई पुष्कर बन्ने रहर लाग्छ ।

गाउँको भिरपाखामा हुर्किएको एउटा सामान्य मान्छे शान्ति तथा सहअस्तित्वको सन्देश लिएर विश्वको १५० मुलुकको साइकलबाट यात्रा गर्नु चानचुने कुरा होइन । त्यसैले त उनि उदाहरणीय बन्न पुगे । विश्व साइकलयात्रीका रुपमा चिनिन पुगे । यदि रहर अनि दृढ अठोट मनमा लिएर अघि बढ्ने हो भने पैसाभन्ने कुरा गौण हुन्छ भन्ने कुरा उनले पुष्टि गरीदिए । आमाले दिएको सय रुपैयाँबाट उन्ले यात्रा प्रारम्भ गरे ।

“पुष्करेलाई बल्ल छ्याङ लागेछ ।”, एउटा छ्याङ नलागेको हाम्रो इँटा थप्ने क्लबको मित्रले यस्सै भनेको थियो, बाह्र बर्षअघि, त्यही ठाउँमा ।

हो, मलाई छ्याङ लागेको थियो । म थिग्रिन नसकेर पत्तोतोर दौडिएँ । संसारलाई साढे पाँच फन्को लगाएर आएँ । छ्याङ नलागेको मेरा साथीहरू अझै त्यहीँ छ्याङ पिउँदै छन् ।

यात्राका क्रममा मृत्युसँग भएका अनेकन् पौंठेजोरीहरू, मृत्युलाई जितेका क्षणहरू, खुला आकाशमुनि अनिँदो बिताएका रातहरूका कथा, कहिले पानीमात्रै घुट्क्याएर आनन्दसँग निदाएका क्षण त कहिले सुन्तलाको बोक्राले पेट भर्नु परेका वेथादेखि स्वादिष्ट व्यञ्जन र पाँच तारे होटलमा निदाउन नसकेर भुइँमा तन्ना ओछ्याएका पलहरू अनि कहिले सडकपेटीमा भोकै सुत्दा निदाउन नसकेका रातहरू पुस्तकमा भेट्न सकिन्छ ।

आफूले ११ वर्ष अर्थात् ४ हजार १५ दिन लगाएर गरेको विश्वयात्रासँगै सर्वोच्च शिखर सगरमाथा आरोहणका सबै उतारचढाव, सुखदुःख तथा आरोहअवरोहहरू किताबमा समेटेका छन् ।रक्की माउण्टेनमा माइनस पाँच डिग्री सेल्सियसमा दौडिएका पलदेखि सहारा मरुभूमिमा पचास डिग्री सेल्सियसको पसिना नै वाफ बन्ने तापक्रममा साइकलका प्याडल घुमाएका अनुभवले यात्रा वर्णन रोचक तथा मनछुने बनाएको छ । यात्राका क्रममा भोगेका हरेक दिन बदलिरहने हावापानी, प्रकृति, वातावरण, सँस्कृति, भाषा र खानपानको वर्णन पुस्तकमा गरीएको छ । यसका साथै पुस्तकमा विभिन्न मुलुकको राजनीतिक तथा सामाजिक-साँस्कृतिक स्थिति बारे पनि वर्णन गरीएको छ ।

उनि कहिले साहारा मरुभूमिको पोल्ने गर्मीमा एक्लै साइकल चलाइराख्थे भने कहिले रक्की माउन्टेनको ठिर्याउने जाडोमा साइकलका माध्यमबाट आफूलाई न्यानो पार्थे । कहिले मेक्सीकोमा तिर्खाका कारण अपहरण पर्थे त कहिले अचानक टेन्टमा सुतिरहेका उनले आफ्नो घाँटीमा चक्कु राखिएको महसुस गर्दै मृत्युसँग पौँठेजोरी खेल्थे । तर उनको यात्रा पूरा गर्ने दृढ इच्छा शक्तिका अघि उनलाई केहीले पनि रोक्न सकेन । त्यसैले त विश्वको फन्को लगाएर फर्किने बेला उनले यात्रा अनुमतिस्वरुप आमाले दिएको एक सयको नोट आमालाई फर्काउँदा आमा र छोराको आँसु थामिन सकेन ।


एघार बर्ष, चार हजार पन्ध्र दिन, दुई लाख एक्काईस हजार किलोमिटर, तीनवटा साइकल, दुई सय सत्तरीवटा टायर, एक सय पन्चानब्बेवटा ट्युब, सत्र सय असीपटक टायर पन्चट, एक सय चालीसवटा चेन, छब्बीस जोडी प्याडल, चौधवटा हेल्मेट, त्रिपन्न जोडी पन्जा, एक सय चौध जोर साइक्लिङ ड्रेस, एकासीवटा चश्मा र, असंख्य जुत्ता, मोजा, घडी, क्यापहरू …
संसारमा म जहाँजहाँ पुगेँ, त्यहीँका मान्छेले दिए, प्रयोग गरेर फटाएँ ।
केही मेरो पसिना र धेरै हरेक दिन भेटिएका असल मान्छेहरूको असल सहयोगले मैले एक करोड सत्तरी लाख रूपैयाँ आफ्नै हातले गनेर/छानेर सिध्याएँ । जुजुले फेसबुकमा लेख्यो, “पुष्कर शाह संसारको सबैभन्दा खतरनाक माग्ने । मागेरै संसार जित्यो ।”
आदमलेे सोधेजस्तो संसारमा जूनको आकार कहाँ पनि फरक थिएन । सूर्य कहिल्यै फरक दिशाबाट उदाएन ।
न त भगवान् बुद्धको अर्कै जून उदायो ।
न त अल्लाहको अर्कै सूर्य उदायो ।
न त जिससको अर्कै आकाश देखियो ।
न त करोडौँ भगवान् भएका हिन्दूहरूको छुट्टै संसार भेटियो ।
संसारमा म जहाँजहाँ पुगेँ, त्यहाँ एउटै सूर्य, एउटै चन्द्रमा र एउटै आकाश देखेँ ।
हरेक आस्थाका मान्छेहरू एकाबिहानै संसारको पहिलो सूर्योदय हुने ठाउँमा गयौँ भने त्यहाँ त्यही एउटै सूर्य उदाउनेछ, जुन मैले संसारका थुप्रै गोलार्द्धमा देखेँ ।
हरेक आस्था, विचार, रङ्गका मान्छेहरूको उही ताप र उही उज्यालो उही समयमा पाउँछन् ।
प्रकृतिले हामीलाई कहिल्यै विभाजन गरेको छैन, न त गर्नेछ ।
संसार एउटा घर हो ।
हामी त्यसका परिवार हौँ ।
विश्वमा शान्ति फैलिरहोस् ।
पुस्तकांश


चार हजार पन्ध्र दिनको यात्रा एउटा कितावमा के अट्न सक्छ र ? तर पनि पुष्कर शाहले एक सय पचासओटा देशबाट बटुलेका विविध अनुभव पुस्तकमा नअटेको हो कि ? साइकलका पाङ्ग्राले नयाँ नौला ठाउँमा टेक्दा स्पर्श गरेका अनुभूति समेट्न नसकिएको हो कि ? पुस्तक नै अपुरो अधुरो हो कि ? जस्तो लागिरहनु आम पाठकलाई सामान्य नै लाग्छ । किनकी सत्तरीको दशक सुरु हुँदाताका नेपाली साहित्यको लेखनीमा तहल्का मच्चाइरहेको वियर/रक्सी अनि शारीरीक सम्बन्धको ह्याङ्ग ओभरले भुप्रन्द्रजीलाई छोपेको हो कि भन्ने अनुमान पुस्तकबाट सहजै लगाउन सकिन्छ । एघार वर्षको अनेकौ अनुभवमा किन वियरका चुस्की र युवतीसँगको आकर्षण भुप्रन्द्रजीको रोजाइमा दोहोरीरहे ?

पुष्कर शाह धेरैको सपना हो, धेरैलाई नयाँ जीवन बाँच्ने रहर देखाउने कथा हो । तर पुस्तकले त्यो बाटो देखाउन असफल छ । नेपाली चलचित्रमा सेन्सर लागेर दर्शकको समूह छुट्याउने व्यवस्था भएझै पुस्ककमा पनि हुन्थ्यो भने पुस्तक पढ्ने अनुमति सिमीत पाठकलाई मात्र हुने थियो । पुस्तकभित्र त्यस्ता विषयवस्तुलाई वारवार दोहोर्याइएको देख्दा यस्तै लाग्यो ।

पुस्तकमा छानिएका अनुभवहरू मात्र छन् । ति पनि यात्राअनुरुप क्रमबद्ध छैनन् । कतिसम्म हुन्छ भने एउटा शिर्षकभित्र साइकल चोरी भएको हुन्छ । त्यसपछिको शिर्षकमा अर्को देश घुमिरहेका हुन्छन् यात्री । यात्राको क्रमबद्धअनुरूप कथाहरू भएको भए अझ राम्रो हुनेथियो ।

उनको यात्राबाट अरु थाहा पाउन सक्ने भनेको ति समयमा ति देशहरूको स्थिती, जुन अहिले फर्केर हेर्दा इतिहास भइसक्यो, रुचि हुनेहरूको लागि महत्त्वपूर्ण विषय हुन सक्छ । यसमा हल्काफुल्का मात्र केन्द्रित छ पुस्तक । मिति अनि मौसम सहित देखेका भोगेका कुराहरू समेट्न सके पुस्तक उपयोगी बन्न सक्नेमा शंका छैन ।

सायद पुष्कर शाहको अरु पुस्तक आउलान्, पुष्कर शाह अनि विश्व यात्राबारे अझ पाठकसामु पुग्न । अरू विविध पाटाहरू पनि आगामी दिनमा पढ्न पाइयोस्, लेखकलाई अग्रिम शुभकामना ।

फाल्गुण १४, २०७६

puskar shah

Leave a Reply