अलबिदा साथी !!

साथी तँ त कायर रैछस्
निहत्था आफ्नो ज्यान फालिस्
सानैदेखि बहादुर हुँ भन्थिस्
तर तेरो यो बहादुरी कायरहरूको हो ।

तैले जतिनै साहस मर्नलाई गरेको भएपनि
दुनियाँले बहादुरी मान्दैन
कायर नै भनेर सम्झन्छ ।
हुन त तलाई यो दुनियाँ नै कायर लागेको हुनसक्छ
र यस्तो बहादुरीको बाटो रोजिस्
तर तैले ठिक गरिनस् साथी ।

पत्रिकामा फोटो छापिनुलाई
तेरी आमा कति ठूलो कुरा मान्थिन्
कति ठूलो काम गरेका हुन्छन् भन्थिन्
तँ पनि त रहर गर्थिस् नि पत्रिकामा फोटो छाप्ने
रहर त पुरा गरिस साथी
तर आज पत्रिकामा छापिएको तेरो फोटोले
पक्कै पनि तेरी आमालाई ठूलो काम लागेन ।

आमा अनपढ छिन्
फोटो देखाउन पाए पुगिहाल्छ नि
तैले यही सोचेर अनपढ आमाको
फाइदा उठाउन खोजिस् साथी

रहर त मेरो पनि पत्रिकामा फोटो छपाउने थियो/छ
सँगसँगै देखेको
तर तैले सजिलो बाटो रोजिस्,
चिटिङ गरिस् साथी ।

सानैदेखि गणितमा मलाई उछिन्थिस्
तर श्वामश्वैत त्यो फोटोले
कतिवटा जीवनलाई श्वामश्वैत बनाउनेछ
हिसाब निकाल्न सकिनछस्
नत्र त यस्तो पक्कै गर्दैनथिस्
तँ त कमजोर रैछस् साथी ।

मलाई देख्ने बित्तिकै
तलाई सम्झिन्छिन् तेरी आमा
र झार्न थाल्छिन् साउन ।
मेरो मनमा चैतको हुरी चल्छ ।
त्यसैले तेरो घरको बाटो हिड्न
पाइला रोकिन्छन्
तैले हतार गरिस् साथी ।

यात्रा त आर्यघाट सम्मकै त थियो नि
एकछिन रोकिएको भएपनि त हुन्थ्यो
दोडिएर के-के जितिस् थाहा भएन
तर तैले संसार पक्कै जितिनस् साथी ।

अनेकन बहाना भेट्टाइस् होला
दुनियाँलाई दोषी पाइस् होला
दुनियाँले तलाई भुल्नेछ बरू
तर माफ गर्नेछैन साथी ।

कहाँ पुग्न हिडिस्
कहाँ पुगिस् होला तँ ?
मेरो मनमा यही चल्दैछ
तर तँ कही पुगिनस्
कही रहिनस् साथी ।
अलबिदा साथी !!

अलबिदा साथी !!

फाल्गुण १८, २०७६

Leave a Reply