विपत् र सिकाइ । कविता

हिजो चलेको हावा
र आज चलिरहेको हावामा भिन्नता पाउँछु
बेग्लै स्पर्श अनुभव गर्दछु ।
जबरजस्ती आइलागेको फुर्सद
केही बताउन खोज्दै छ, यस्तै लाग्छ ।
स्वास फेरेको पनि अनुभव गर्न नभ्याउने ति दिनहरू
के दिनहरू नै थिए त ?, बिचारहरू खेल्छन् ।
विपतले मलाई के सिकाउँदैछ, हँ ??

यस्तो पनि लाग्छ,
यत्तिको सुखद् पल त अब सायदै आउँछ, जीवनभर ।
कसैले बाँच्न पुग्यो अब- भन्यो भने पनि
लोभ बाँकी छ जस्तो, पनि, लाग्दैन ।
तर बाँचुञ्जेल सास फेर्ने प्रयत्न गरिरहनुपर्छ
बाँच्न पुग्यो भनेर ज्यान छोड्नु हुन्न –
हजुरबा यही भन्नुहुन्थ्यो ।
के थाहा, अरुलाई बचाउन
बाँच्नु काम लागिहाल्छ कि ?
विपतले मलाई के सिकाउँदैछ, हँ ??

तर्कनाहरू,
सवालहरू,
पश्नहरू
अनेक खेल्छन् मनमा ।
म पनि खेल्न दिन्छु
खुशी नै त यसमा मिल्दो रहेछ ।
कहिले आफैँलाई हराउँछु
कहिले आफैँलाई जित्छु
कहिले आफैँ हराउँछु
कहिले आफैँलाई भेट्टाए जस्तो पाउँछु ।
विपतले मलाई के सिकाउँदैछ, हँ ??

मलाई यत्तिकै बस्न पनि मन छैन
कहीँ अघि हिड्न मन छ ।
तर म यहाँबाट हिडेँभने पनि,
कहीँ टाढा पुगेँ भने पनि
यही यसैगरी बसेको जस्तो
आफूलाई पाउन सक्छु, अब यस्तो लागेको छ ।
विपतले मलाई के सिकाउँदैछ, हँ ??
तपाईंलाई नि ??

विपत् र सिकाइ

आश्विन ०५, २०७७

Leave a Reply