हर्कबहादुर । कथा

आफूसँग जे छैन, त्यो भइदियोस् मात्र सपना हुन्न । आफूसँग जे छ, त्यो भइदिरहोस्, यो पनि सपना हुन्छ । नयाँ नौलो चिज प्राप्ति मात्र सपना हुन्न । जे छ, चाहे त्यो बर्षौदेखिकै किन नहोस्, त्यही आफैँसँग अरु दिन पनि साथ होस्, यस्तो पनि सपना हुन्छ । तर मान्छेले आफूसँग जे छ, त्यो भइरहोस् भन्ने चाहलाई सपना मान्दैन । जे छैन, त्यस्को चाह मात्रलाई सपना मान्दछ ।

मान्छेलाई यो पनि थाहा छ कि आज जे छ, त्यो भोली रहँदैन । आज आफूसँग भएका हरथोक भोलीसम्ममा आफूसँग नहुन सक्छ, पर्सीसम्म त हराइसक्छ, बिलाइसक्छ । अर्थात् त्यो आफूसम्म हुँदैन । तर मान्छे त्यही कुरा, जुन आज छ भोली/पर्सी छैन, को भने सपना देख्दैन् । कतिधेरै विरोधाभास छ मान्छेको चाहामा, मान्छेको सपनामा ।

तर हर्क बहादुर भने अलि भिन्न छ । उस्ले आफ्नो आधा जीवन बाँचिसकेको छ । हेर्दा हृष्टपुष्ट छ, हट्टाकट्टा छ । गाँउमा मेलापात भ्याउँछ । खेतबारीलाई नजिकबाट चिनेको छ । जसरी उस्ले आज आफ्नो पौरख खेतबारीमा बजारीरहेको छ, त्यसैगरी नै भोली पनि आफ्नो पौरख बजार्ने उस्को सपना छ । अर्थात् उ आज जसरी बाँचिरहेको छ, भोली पनि यसैगरी नै बाँच्न चाहन्छ । दिनमा मेला जानु, रातमा आनन्दको निन्द्रा सुत्नु । वश् यत्ति ।

बिहान दिउँसो मेलापात गर्नु उस्को दैनिकी हो । कहिले बारीको बाँजो फोर्छ । कहिले खेतको हिलो सोहोर्छ । कहिले वनमा दाउरा चिर्न पुग्छ भने कहिले भारी बोक्न भञ्ज्याङ्ग पुग्छ । कहिले वस्तुको मल बारीमा पुऱ्याउँछ । कहिले बारीको अन्न घरमा ल्याउँछ । भारी बोक्नेदेखी अन्नबाली रोप्नेसम्मका काममा निपुण छ । तर उस्को आफ्नो खेत छैन, बारी छैन । यी सब काम अरुको गरिदिनुपर्छ । र मात्र बाँच्न पाउँछ । आफ्नो सानो छाप्रोमा शिर ओताउन पाउँछ ।
उ सानैछँदा बाआमालाई पहिरोले घरबारी सहित लगेपछि उस्को जीवन घुमन्ते बन्न थाल्यो । ‘जहाँ पुग्यो त्यही घर, जे भेट्यो त्यही काम गर’ भनेझैँ उस्को जिन्दगी बितिरहेको थियो । तर केही बर्षयता भने उ एउटा गाँउमा अडिएर बसेको छ । ओत लाग्ने एउटा छाप्रो हालेको छ ।

गाँउका हरकोही उस्लाई काममा बोलाउन लालायित हुन्छन् । कारण उस्को लगनशितला । उस्को इमान्दिरता । काम भनेपछि उस्लाई अरु केही चाहिँदैन । र आफ्नो काम सकेसम्म राम्रो तरिकाले गर्नु पर्छ भन्ने मान्यता उ राख्दछ । उसबाट राम्रो काम हुन्छ भनेर नै उस्लाई जो कोही काममा बोलाउन चाहन्छन्, बोलाउँछन् । उ भ्याएसम्म कुनै काम पनि छोड्दैन ।

कतिसम्म भने उस्को फुर्सदअनुसार गाँउका मान्छे आफ्नो खेतबारीका काम गर्छन् । कारण उ नै काममा आइदियोस् भनेर । उ काममा गइदिएको दिन काम अह्राउने गाँउलेको अनुहारमा दोब्बर खुशी झल्किन्छ । काममा एकोहोरो लाग्ने उस्को वानीले काम धेरै हुनेभएपछि को खुशी नहोला र ?

उ खटिन्छ बिहानदेखी बेलुका । आइतबारदेखि शनिबारसम्म नै । वैशाखदेखी चैतसम्म नै । हरेकदिन, हरेक हप्ता, हरेक महिना । उ काममै हुन्छ । भेटेजति काम छोड्दैन । खेतबारीको काम भेटे, खेतबारीकै । खेतबारीको काम नभेटे भारी बोक्न दोडिइहाल्छ ।

काम भएमात्र दाम आउँछ अनि न माम खान पाइन्छ । उस्लाई यत्ति थाहा छ । अनि न कामलाई नै भगवान् मान्छ । काम छ त सबथोक छ, काम छैन त केही छैन ।

काम नहुँदा पेट भोको पर्छ । पेट भोको भएपछि निन्द्रा पनि राम्रो पर्दैन । अनिदो अनि भोको पेटले शरीरलाई गलाउँछ । गलेको शरीरले काम गर्न सक्दैन । काम गर्न नसक्दा काम हुँदैन । अनि हालत उस्तै हुन्छ । भोकै परिन्छ ।

यो चक्रबाट पार पाउन काम गर्नुपर्छ । त्यसैले कामलाई पूजा गर्छ । कामलाई नै ठूलो कुरा मान्छ । कुनै पनि काम सानो हुँदैन । उ यही मान्दछ । शरीरमा बल छ । बल भएपछि जागँर चल्छ, चलाउँछ । बल हुनेहरू अल्छि गर्दैनन् ।

कामबाट दाम त्यति धेरै आउँदैन । तर काम भएपछि माम पनि भयो भने थोरै दाम भएपनि खुशी हुन्छ । एक्लो ज्यान । एक्लो ज्यानलाई जता गयो उतै घर, जता पुग्यो उतै भान्छा । कामै नहुँदा मात्र घरमा पकाउनु पर्ने काम आइपर्छ । नत्र भने कैयन् दिनसम्म जुठा भाडा त्यत्तिकै हुन्छन्, त कहिले सफा भाडा फोहोरले ढाकिसकेका हुन्छ ।

जिन्दगी यसैगरी चलिरहेको छ । चलाइरहेको छ ।

शरिरमा बल छ भन्दैमा सधैँ सबै काम सजिलो हुन्छ नै भन्ने कहाँ हुन्छ र ? कहिले झरीमा रुझ्दै काम गर्नु, कहिले घाम नभनी धपेडी गर्नु कहाँ सजिलो हुन्छ र ? हो एउटा मेशिनले झैँ काम पनि गर्नु पर्थ्यो । बिहानदेखी बेलुकासम्म काममा जोतिइरहँदा उ मेशिन झैँ भएको छ । तर उस्लाई पनि थकाइ लाग्छ । थकाइ मार्न थाल्दा कामचोरको आरोप पनि सहनु पर्छ । भनेजति काम भएन भनेर काम अह्राउनेको आँखा तराई पनि सहनुपर्छ । कहिले त बेलामा खाजा खान पाइँदैन, न नै पानी पिउन पाइन्छ । जे दिन्छन् त्यही खानुपर्छ, नदिँदा भोकै बस्नुपर्छ । कहिले उज्यालोले छोडेर गइसक्दा पनि काममा खटिइरहनु पर्छ । काम गर्छु भनेर सुरु गरेपछि गर्दिन भन्न मिल्दैन ।

बेलामा खाजा नहुँदा, थकाइ लाग्दा आराम गर्न नपाउँदा भने उ निराश हुन्छ ।

मङ्सिरमा बाली भित्र्याएपछि खेतबारीका काम सुस्ताउँछ । त्यसैले, उ भारी बोक्न भञ्जयाङ्ग लाग्छ । कहिले भञ्ज्याङ्गबाट भारी ल्याउँछ भने कहिले भञ्ज्याङ्गसम्म भारी पुऱ्याउँछ । विशेषत, भारी सहरबाट आउने लाहुरेका हुन्थे । कहिले भने कुनै भारी पनि पाउँदैन ।

केहीदिन यता त्यस्तै भइरहेको छ । कुनै भारी नपाएर उ रित्तै भञ्ज्याङ्ग आउजाउ गरिरहेको छ । भारी पाइन्छ कि भनेर भञ्ज्याङ्ग त पुग्छ तर दिनको अन्त्यमा उ निराश हुन्छ ।

त्यस्तैमा एकदिन साँझ उ झोक्राएर घर फर्कन लाग्दै थियो एउटा लाहुरेको भारी भेट्टायो । लाहुरेलाई बोलिरहनु पर्ने रहेछ । बोलिरह्यो । अनेकन गफ लगाइरह्यो । लाहुरेको सहरयात्रादेखी सहरका रमाइला र अचम्मका किस्साहरू सुनाइरह्यो ।

सहरको चर्चाले हर्कबहादुर अचम्मित भयो । त्यस्तो पनि हुन्छ होला र ? उ मनमनै सोच्दछ । तर प्रश्न गर्दैन लाहुरेलाई । सोध्दा ‘यस्ले त पत्याएन’ भनेर लाहुरेले भारी भोक्न नै नदिने हो कि, उस्लाई डर हुन्छ । अनि हो मा हो मिलाउँदै अघि बढ्छ । अर्को गाँउमा रहेको लाहुरेको घर पुग्दा रात छिप्पिसक्छ ।

तर हर्कबहादुर भने रात भएपनि आफ्नो छाप्रोमा फर्कियो । र नयाँ सपना मनमा खेलाउन थाल्यो, सहरको सपना । उस्लाई हुटहुटी चल्यो, सहर जाने । यता काम पनि नभइरहेको, उता सहरले उस्लाई बोलाइरहेको छ, यस्तै मान्यो । र भोलीपल्ट उ सहरको लागि निस्कियो ।

सहर सोचेभन्दा, सुनेभन्दा अचम्मको त हुने भइ नै हाल्यो । ठूलाठूला घर, फराकिला बाटो । बाटोभरीका सवारी साधन । घरैघर । पसल नै पसल । मान्छे नै मान्छे । भिडको बिच मान्छेको हतारो । उस्लाई यो नौलो संसार रमाइलो लाग्यो ।

केहीदिन त रमाइलो हेर्दै यत्तिकैमा बित्यो । तर सधैँ यसरी के चल्थ्यो । यसरी चल्दैन भनेर उस्ले काम खोज्ने विचार गऱ्यो । तर के काम गर्ने, कस्लाई भन्ने, कोसँग काम माग्ने । उ अन्यौलमा पऱ्यो ।

गाँउमा त काम गर्दिन पऱ्यो भनेर मान्छेहरू उस्लाई खोज्दै आउँथे । तर सहरमा त उस्लाई आजसम्म कसैले काम गर्छौ भनेर सोधेको होइन ।

उ आफैँ काम खोज्न निस्कियो । पसलपसल भारी बोक्ने काम पाइन्छ भनेर सोध्न थाल्यो । तर उस्लाई कसैले पत्याएनन् । नयाँ मान्छे, उस्लाई चिन्ने मान्छे कोही छैनन् । साथमा कुनै चिनेको भारी बोक्ने मान्छे भएपनि उस्लाई कसैले पत्याउँथे होला । सामान नै चोरेर लैजाने हो कि भनेर उस्लाई कसैले काम दिएनन् । उता भारी बोक्नेहरूले पनि उस्को खेदो गर्न थाले । उनिहरूको काम खोस्न आएको भनेर रिस गर्न थाले ।

उ घर-घर पुग्यो । उस्ले गर्ने कुनै काम छ कि भनेर पनि सोध्यो । कही त कुकुरबाट लखेटियो, कही उस्को आवश्यकता नभएको उत्तर पायो । गाँउमा जस्तो सहरमा काम के हुन्थ्यो र । भाँडा माझ्ने काम पाइन्छ कि भनेर होटलमा पनि सोध्न पुग्यो । तर होलट मालिकले उस्लाई तलदेखी माथि हेरेपछि, त्यति ठूलो मान्छेले त सानो मान्छेको तीन छाकको खाना एकैचोटी खान्छ भनेर काम छैन भन्ने जवाफ दिए । कहीँ अनुनय विनय पनि गऱ्यो तर उस्ले सहरको चलन जानेन । सिधा/सोझो भएर सहरमा बाँच्न सकिँदैन, बुझ्न अबेर गऱ्यो ।

सबैतिर निराश हात परेपछि उस्को साथमा गाँउबाट ल्याएको खर्च पनि सकियो । अनि उ माग्न भनेर मन्दिरमा बस्न थाल्यो । तर त्यहाँ पनि पहिल्यैदेखी ठाँउ जमाएर बसेकाहरूले बस्न दिएनन् ।

यताबाट उता, उताबाट अर्कोतिर लखेटिँदै गर्दा उस्ले आफू बसेको पाटीको बाटो पनि भुल्यो । साँझ परिसकेको थियो । यता खोज्यो, उता खोज्यो । अँह फेला परेन । ओत लाग्ने ठाँउ पनि हरायो । उ सहरमा हरायो ।

जाडो मौसम । जाने, बस्ने ठाँउ कही भएन । उ एउटा पर्खालको आड लागेर बस्यो । चिसो हावाले उस्लाई हानिरह्यो । तर उस्को ज्यानमा चिसो छेक्न सक्ने कपडा थिएन । चिसोले उस्लाई रातभर निन्द्रा परेन । पर्खालमा आड लाएर उ कुप्रिएर बसिरह्यो, रातभर ।

बिहानीपख एकजना वृद्ध आमा मन्दिर जाँदै रहिछिन् । उन्ले उस्लाई देखिन् । कापिरहेको मान्छे देख्दा उन्को मन मानेन, र उन्ले उस्लाई नजिकैको खाजाघरमा लगिन् । खाजा खुवाइन् । अस्तिदेखी केही नपरेको उस्को पेटले अन्न भेटेको थियो । बल्ल उ तङ्ग्रिएको जस्तो देखियो ।

आमाले उस्लाई सोध्नुभयो, “तिमी त यो सहरको मान्छे होइन जस्तो छौ ?” उसले होइनको इशारामा मुन्टो हल्लायो मात्र ।

“अनि यसरी चिसो खाएर बसेर हुन्छ त ?” आमाले सोधेझैँ गरी बोल्नु भयो । तर उ केही बोलेन ।

फेरी आमाले सम्झाउँदै भन्नुभयो, “बाबु, यो सहर धेरैको रहर हुन्छ । तर प्रायको अधुरो रहर बनेर बसेको हुन्छ । सपना त मिठामिठा हुन्छन् तर ति कल्पनामा मात्र सिमित हुन्छन् । देखिने कुराहरू धेरै हुन्छन्, तर भेटिने कुराहरू कमै मात्र हुन्छन् ।”

उ सुनि मात्र रह्यो । “तिम्रा पाखुरा बलिया छन्, तिमीसँग बल छ । तर यहाँ बल होइन्, बुद्धि चाहिन्छ । त्यो पनि सोझो होइन, छड्केमड्के । तिमी सोझो देखिन्छौ । यहाँ सोझाहरूलाई बाँच्न गाह्रो छ । तिमी आफ्नो गाँउ फर्क ।”

यति भनेर उनले उस्लाई गाँउ फर्कने खर्च दिइन् । उस्को आँखाबाट आँशु झऱ्यो । सायद, अघिको खाजाले ताकत आयो कि । आँशुलाई बाटो देख्न पनि ज्यानमा ताकत चाहिन्छ ।

उस्ले दुईहात जोड्यो । केही बोलेन । मनभरी बोल्न बाहेक अरू केही नहुँदा बोल्न सकिँदैन, सायद । उ मौन नै रह्यो । बाटैमा मन्दिर भेटिएकोमा ति आमा खुशी हुँदै जानुभयो । उ पनि आफ्नो गाँउ फर्कने बाटो लाग्यो ।

आश्विन १९, २०७७

Leave a Reply