जान देउ ती सबैलाई
जो जान चाहन्छन् ।
कसैको रहर,
कसैको सपनालाई
कैद गरेर
तिमी हत्यारा नबन ।
तिमी तिम्रो स्वार्थ छोडिदेउ ।
तिमी तिम्रो रहर त्यागिदेउ ।
ति जिद्दी छन्,
जिद्दी गरीरहेछन् जानलाई
तिमी पनि जिद्दी भयौ भने
तिनलाई जान दिन मान्दैनौ भने
के फरक तिनमा र तिमीमा
तिमी जिद्दी नबन ।
त्यसैले,
जान देउ ती सबैलाई
जो जान चाहन्छन् ।।
तिम्रो हातमा सबैथोक कहाँ अट्छ र ?
कसरी सक्छौ र सबैथोक राखिराख्नलाई
अनि ति सबैको नशिव पनि कहाँ छ र,
तिम्रो हातमा नै रहिरहनलाई ?
त्यसैले,
जान देउ ती सबैलाई
जो जान चाहन्छन् ।।
तिमी सँग रहँदा
अब ति जीउँदो लाश सरह नै हुन्छन् ।
तिम्रा सपनाले पनि सास फेर्न सक्ने छैनन् ।
कसैको सपना बाँच्दछ भने
तिम्रो सपना मार्न तयार होउ ।
त्यसैले,
जान देउ ती सबैलाई
जो जान चाहन्छन् ।।
एकदिन तिम्रा सपना पूरा गर्न
कसैले आफ्नो रहर त्याग्यो भने
कत्ति खुशी हुन्छौ तिमी ?
कसैले खुशी पाउन
कसैले खुशी गुमाउनै पर्छ ।
आज तिनीहरुको दिन रहेछ,
कुनै दिन तिम्रो पनि पालो आउँछ ।
त्यसैले,
जान देउ ती सबैलाई
जो जान चाहन्छन् ।।
जीन्दगीमा सबैथोक पाइदै पाइदैन
र जे जे पाइन्छ, त्यो सधैँ रहँदैन ।
तिमी पनि जानुपर्छ एकदिन ।
त्यसैले,
जान देउ ती सबैलाई
जो जान चाहन्छन् ।।
