समृद्धिको लागि बेचिन तयार हुनुपर्ने बेला हो यो

नेपालीको चारवटै हातमा लड्डु तर नेपालीसँग दुईवटाभन्दा हात छैन । क्या गजबको मसला पस्कन्छन् सामाजिक सञ्जालमा । प्रसङ्ग सरकारले जापानसँग कामदार पठाउन गरेको सम्झाैता । उता मलेसियाको रोजगारी पनि खुलाउनै लागेको छ सरकारले, कोरीया जान फर्म पनि खुलेको छ, देशमै पनि स्वरोजगार अभियान, रोजगारी नभए बेरोजगार भत्ता, जमिन बाँजो राख्न नपाइने, केही न केही गर्नै पर्ने । यत्ति भएपछि नेपालीलाई के चाहियो ? भएन त चारै हातमा लड्डु ?
अझ, नयाँ उखान “५५ हजार बेरोजगारीको बिदेस जाने लाइन, जमिन बाँझो राखे जरिवाना र फाईन” के हो ? रे ।
हुन त जहाँ धेरै बेरोजगार हुन्छन् त्यहाँ यस्ता खुराख धेरै चाहिन्छ । जहाँ चाहियो त्यहाँ बनाउनु पनि प र बन्छ पनि । बेरोजगारहरू पढ्नलाई भाैतारीरहन्छन्, लेख्नेलाई के लेख्दा बढि चर्चा कमाइन्छ त्यही नै त खोजिरहेका हुन्छन् नि ।

नेपालीहरूको एउटा समस्या भोली देख्न, सोच्न नसक्नु हो । जस्ले जे भन्छ त्यही पत्याइदिहाल्ने खराब बानीले नेपाललाई कही पुऱ्याएको छैन । पुऱ्याएको छ त नेपालीलाई विदेशीको नोकर बन्न ।
राणा शाशन हटाए सुख पाइन्छ भन्दियो कसैले हटाइछोडे, पञ्चायतले खुशी खोस्यो कसैले भन्दियो, त्यसलाई पनि हटाए । फेरी कसैले राजतन्त्र भन्दियो, त्यो पनि फाले । संविधान बनेको भोलिपल्टै देश बन्छ जसरी कसैले भाषण ठोक्यो, नेपालीले ताली ठोके र कुरे एक दशक । संविधान पनि बन्यो तर देश झन्-झन् जीर्ण बन्दै गयो । देश त दुईतिहाइको सरकार नभएर नबनेको, कसैले कान फुक्यो । दिए दुईतिहाइ मत । देश बनाउन वातावरण बनाइदिए बहुमतको सरकार । राणाशाशन पछिकै शक्तिशाली सरकार बन्यो । तर पनि विकास, सम्वृद्धी खै कहाँ लुकेर बसेको छ ? दुईतिहाइ सरकारको अघि पनि निस्किएन । कोसँग डराएर लुकेको हो ति समृद्धि आउँछ भन्नेेले बताइदिए पनि हुने नि ।
तर हामीले कहिल्यै नबुझेको वा बुझ्न नचाहेको कुरा के रह्यो भने समृद्धि व्यवस्था फेरेर आउँदैन, फेसवुकका भित्ता भरेर आउँदैन अनि सामाजिक सञ्जालमा असामाजिक भएर आउँदैन् । हुन त काम नै के छ र अरू केही गर्नलाई ?
जब केही काम हुँदैन, कामको खोजी त्यसपछि हुने हो, विकल्प त्यसपछि खोजिने हो । केहीले खोजे सजिला विकल्प, र चुने विदेशको काम ।
अहिले एउटा जमात त्यही विदेश पठाउने सरकारको सहजिकरणलाई किन मरीहत्ते गरेर विरोध गरीरहेछ । खै बुझ्नै सकिएन ।

हो त्यो जमातले भनेझैँ देशमै रोजगारी सृजना हुनुपर्छ । अनि न देश बन्छ । तर वर्षेनी चारपाँच लाख नयाँ कामदार बजारमा थपिन्छन् । के सम्भव छ अहिलेको स्थितीमा त्यही धेरैलाई रोजगारी सृजना गर्न ? एकलाखको लागि रोजगारी सृजना गर्न सके त्यो नै अहिलेको लागि ठूलो उपलब्धी हुन्छ देशको लागि । तर कसरी कूल बजेटको २५ प्रतिशत मात्र विकास बजेटले त्यति ठूलो रोजगारी सृजना गर्न सम्भब छ ? चुनाैती यहाँ छ ।

सरकारीको कामगर्ने शैली, धमिराले खाएको कर्मचारी तन्त्र, निराशाले थलिएका युवालाई हेर्दा अहँ कुनै पनि हालतमा सकिदैन त्यति धेरै राेजगारी सृजना गर्न । जति नै सकारात्मक भएपनि बाटो नै भेटिदैन् । अहिलेको सिङ्गापुर, मलेसिया, हङ्कङ, स्वीजरल्याण्ड बन्न एउटा दशकमा सम्भव नै छैन । अझ त्योबेलामा ति देशको विकास कहाँ पुग्ला ??

अनि बजेटको कूल रकमलाई नै उछिनाैलाझै गरीरहेको व्यापार घाटा । निर्यात गर्ने सामान छैन । छन त केवल मानिस ।
अँ तपाई भन्नु होला, यही काम गर्ने, पसल खोल्ने स्वरोजगार हुने । अनि मलाई सोध्न मन लाग्छ, तपाईले पसल खोल्नु भयोभने कतिवटा सामान देशमै बनेका बेच्नु हुन्छ ? सोच्नुस् त एकचोटी ।
तपाई फेरी भन्नुहोला, कृषिकै वा अरु कुनै काम गरे भइहाल्यो नि । मलाई फेरी सोध्न मन लाग्छ, तपाई त्यो सानो स्केलमा गरेको उत्पादनले विदेश निर्यात गर्न मिल्ने मापदण्ड, गुणस्तर पुरा गर्न सक्नु हुन्छ ? विदेश नै निर्यात गर्न ठूलो स्केलमा काम गर्नु पर्ने हुन्छ । लगानी धेरै चाहिन्छ । तपाई हामीसँग विदेश दाैडिन दशपन्ध्र लाख सजिलै निस्कन्छ, यहाँ काम गर्न निस्कदैन ।

अनि त विकल्प भनेको विदेशमा बेचिनु नै हो । बरु सरकारले सहजिकरण गरेर सरकारी माध्यमबाट विदेश जादाँ कमाइको, जागिरको, ज्यानको सुरक्षा पो हुन्थ्यो कि ।
देशमा यदि तपाईसँग लगानी नै भएपनि लगानी गर्ने उचित वातावरण बनिसकेको छैन, कति कानुन बन्न बाँकी छन्, कर्मचारी गाउँ-गाउँ पुगिसकेका छैनन्, सडकबत्ती गाउँ-गाउँ पुगेका छैनन् । बरू सरकारले त्यतातिर ध्यान दिएर कानुन बनाउने, विकासका आधारभूत संरचना पुऱ्याउने
र केही बर्षमा लगानीको वातावरण बनाउने तर अहिलेको लागि विदेशबाट आइरहेको रेमिट्यान्सलाई कसरी बचतमा बढाउने त्यो सोच्दा उचित हुन्थ्यो कि ।

सरकार आफैले व्यवस्थित रुपमा कामदार विदेश पठाएर उनिहरूको कमाइ पनि सरकारी बाटोबाट आउने बनाउने । र हरेक कामदारको मासिक केही तलब सरकारी खातामा बचतमा राख्ने । त्यो पैसाको ब्याज त्यो अवधिमा कामदारको परीवारले पाउने तर पुरा रकम कामदार फर्किएपछि मात्र पाउने नियम बनाउने हो भने के हुन्थ्यो होला ।

सोच्नुस् त अहिले दुईतिन बर्ष विदेश बसेर आएकाहरुसँग पनि कुनै व्यापार गर्न वा काम गर्न पैसाको अभाव छ, कारण कमाएको पैसा सबै सुखसयलमा खर्च भएको छ । टिभी, कम्प्युटर, मोवाइलमा खर्च भएका छन् । पैसा टिभीको शुल्क तिर्दै, मोवाइलमा डाटा चलाउदै सकिएको छ । फर्किएको केही महिना त्यतिकै यताउता हल्लिदै ठिक्क हुन्छ । अलिअलि भएको पैसा पनि सकिन्छ । अनि फेरी विदेश । यसरी त यो सिलसिला कहिले सकिन्छ र ?
हो यो समस्या हटाउन रेमिट्यान्स बचतमा राख्ने पर्ने नियम भयो भने कामदार देश फर्किएपछि केही गर्न सजिलो हुन्थ्यो कि ।

मानाैँ महिनाको कम्तिमा पचास हजार तलब बचत गर्नु पर्ने नियम भयो भने एकजनाको चार/साढेँ चार बर्षमा पच्चिस लाखभन्दा धेरै हुन्छ । चारपाँच जना मिलेभने त ठूलो स्केलको व्यापार नै गर्न सकिन्छ । यदि पाँच/सात बर्षमा यसरी फर्कन मिल्ने कामदार एक लाख भएभने सोच्नुस् त के हुन्थ्यो । एकैचोटी एकलाखले व्यावसाय गर्दे थिएँ । त्यो एकलाख व्यवसायबाट अरू रोजगारी पनि सृजना हुने थियो ।
बचत गर्ने पर्नेभएपछि फजुल खर्च पनि घट्थ्यो र देशको व्यापार घाटा पनि ।
देश त यसरी पो बन्थ्यो होला न कि व्यवस्था फर्दैमा, नेताको भाषणमा तालि पिट्दैमा वा सामाजिक सञ्जालमा बराल्लिदैमा ।

एकचोटी कोरीया गएको तपाईको छिमेकीलाई सोध्नुस् त, कोरीया कसरी कोरीया भयो जब कि छ/सात दशक अघि नेपालले कोरीयालाई चामल सहयोग गर्थ्यो ।
के उनिहरू पनि यसरी नै सामाजिक सञ्जालमा असामाजिक हुँदै बराल्लिरहन्छन् त ?
मैले एउटा कथा सुनेको थिएँ, कुनै समय कोरीयाली जनता हामी जसरी नै विदेशमा गएर घोटिन्थे, बेचिन्थे । अहिलेको कोरीया उनिहरूको मेहनतले भएको हो । विदेशमा घोटिएको कमाइले उनिहरूले देशमै इलम गरे । र अहिलेको कोरीया बनाएँ ।

देशको स्थिती अनि हामीले खोजेको समृद्धि नियाल्दा लाग्छ यो बेला हामी पनि बेचिनुपर्ने बेला हो । बरू कहाँ धेरैमा बिक्न सकिन्छ, त्यो सोच्नु पर्छ । बार्गेन गर्नुपर्छ । सरकार लाग्नुपर्छ ।

यसरी मानिस बेचिनु केही छैन, देश बेचिनुभएन । देश नबेचिएसम्म देश बनाउन सकिन्छ । समय लाग्छ । सूर्यलाई पृथ्वीमा आइपुग्न पनि आठ मिनेट बीस सेकेण्ड लाग्छ । यो त देश बनाउने कुरा, हाम्रो साघुँरो सोचाइले छोटो समय मै कहाँ बन्न सम्भव छ र देश ?

Leave a Reply