एक सर्को मायाको एक सर्को

किताब पढ्नु पनि बानी न हो । अनि आफ्नै बानिप्रतिको प्रतिबद्धता पनि हो । पढ्छु पढ्छु भन्दाभन्दै पनि नपढिएका पुस्तकका सङ्ख्या दिनप्रतिदिन बढ्दै छन् । खै अल्छि गरीयो कि, बानी हराउन थाल्यो । अचेल बहाना मात्र भेटिन थालेको छ । कहिले यो बहाना कहिले त्यो बहाना । नत्र त कार्तिकमा किनेको पुस्तक पढ्न चैत किन पर्खिनुपर्थ्यो र ?

पछिल्ला समयमा आएका पुस्तकहरूले पुस्तकप्रति वितृणामात्र बढाइरहेको र पुस्तक पढ्ने बानि नै बिग्रन पो थालिसकेछ । नयाँ पुस्तक, त्यसमाथि नेपाली । अझ केही प्रकाशनका केही पुस्तकले त ति प्रकाशनका अरू पुस्तक पढ्दिन नै भन्ने लागेको छ । फलस्वरूप पुराना किताब पढ्नु पऱ्यो भनेर केही महिना अघि बि पि कोइरालाका केही पुस्तक त पढे तर त्यसपछि पनि खै अरू त पढेकै रहेनछु ।

बुलबुल पब्लिकेशनकै केही पुस्तकले अरू पुस्तक पढ्दिन भन्ने बनाएको कारणले एक सर्को माया पनि पढिन सायद । किन्न चाहि पुस्तकको सङ्ख्या थुपार्ने रहरले अनि केहीको राम्रो प्रतिक्रिया सँगै घनचक्करको उदाहरण जोडिएकाले होला, किने ।

त्यसै थन्किरहेको किताब जब श्रुतिसंवेगमा प्रशारण हुन थाल्यो, पहिलो दोस्रो श्रृंखलामा त खासै ध्यानै दिइन । तर तेस्रो श्रृंखला सुनेपछि यो उपन्यासमा लेखनशैली केही भिन्न लाग्याे । र चौथो  श्रृखंला सुरु हुनुअघि जसरी पनि सक्याउछु भनेर लागे । तर बहाना बनाउने बानी भइसकेको मलाई बहाना बाहेक समय कहाँ थियो र ? अझ बोर्ड एक्जाम दुई हप्तामा आउँदै थियो ।

कलेज जादा पनि किताब साथमै लिएर जान थाले । कतै आउँदाजाँदा गाडीमा पढ्ने मौका मिलिहाल्छ कि भनेर । तर अहँ पानाहरू केही मात्र पल्टिए । गति लिन सकेन । शनिबारसम्म पनि पढ्नलाई समय मिलाउन सकिन ।

मङ्गलबार चौथो श्रृंखला वाचन हुँदै थियो । जसोतसो चौथो श्रृंखलामा वाचन गरीने भाग पढि सिध्याएको थिए । भोलीपल्ट होली थियो । अर्थात् बिदा । त्यसैले त्यसदिन साँझदेखी नै पढाइलाई तिव्रता दिएँ र रेडियो सुन्न छोडेर पढ्नमा लागे ।

भोलीपल्ट होली मनाउन साथीहरूले बोलाउदै थिए तर मलाई एक सर्को मायाले त्यसदिन जसरी पनि रङ्गीनु थियो । होलीका योजना रद्द गरेे र पढ्नमा तल्लिन रहे । दिउँसो सकिन लाग्दा पढि सिध्याए । मथिङ्गल फनफनि घुम्दै थियो । केहीदिन सताउने पक्का थियो । म सताइन तयार भएँ ।

उपन्यास माल्दिभ्सको परिवेशमा छ । कति नामहरू त के के हुन, सम्झिन नसकिने । तर विदेशी परीवेश भएकाले होला केही उत्सुकता रह्यो उपन्यासको सुरुसुरुमा । मुख्य पात्रलाई विदेशको परिवेशमा उतार्दा एक विदेशी, जेरौल्ड, लाई नेपाल घुमाउन ल्याउँछन् लेखक । जेरौल्डको नेपाल अनुभव र उन्को प्रेमीकाको प्लेन दुर्घटनाबाट भएको निधनले आँखालाई रसाउन बाध्य गराए ।

नशाको लतमा लाग्न थालेपछि देखिन आएकी राउधासँगको प्रेम सम्बन्ध अरु कथा उपन्यासभन्दा भिन्न केही हो जस्तो लागेन । कहिलेहुन्छ सक्काइहालौ जस्तो मात्र लाग्यो । उपन्यासको बिचभाग यस्तै प्रेमकथाले भरीएको छ ।

पात्रहरू थपिदै जाँदा किन थपिएको होला यि भिन्न पात्रहरूलाई ? झिझो लाग्ने खालको छ । तर कथा अघि बढ्दै जाँदा पात्रहरू एकअर्कासँग यसरी सम्बन्धित हुन्छन् कि उपन्यासको उचाइ यसैले बनाएको छ ।

राउधासँगको प्रसङ्गमा एकठाउँमा लेखकले लेखेका छन्
उसले जाँदाजादैँ पछि कुरा गरौला भनेर गई । उसको कुराले मनमा एक भिन्न प्रकारको आनन्द दियो ।
पढ्दा लाग्यो, अरे यो लेखक के लेख्छन् । आफूलाई मनपर्ने मान्छे छुटिदाँ पनि कस्तो आनन्द हो ?
तर लगत्तै लेखिएको छ,
पछि कुरा गरौला अर्थात् कथा जारी नै छ ।
यस्तै सानासाना कुराले लेखकको लेखाइमा अर्को उचाइ दिएको छ ।

सुरुको लामो गन्थन व्यर्थ थिएनन् भन्ने कुरा उपन्यासको पछिल्लो भागले पुष्टी गर्छ । जेडीको बाआमाको कथा अनि छुवाछुतको प्रसङ्गले त झन कथा धेरै बनाउन मात्र थपिएको जस्तो लाग्छ तर उत्तरार्धमा ति कथाले नै उपन्यासको मूल कथा पूर्ण बनाउँदा पो ए .. लाग्यो ।

उपन्यास पढिसकेकाहरूको केही प्रतिक्रिया के पाएको थिए भने सुरु र अन्त्यमा झिझो लाग्ने त । बिचतिर राम्रै छ । जस्ले उपन्यास पढ्न मात्रका लागि पढेको छ अर्थात् उपन्यासलाई मनन नगर्दै पढेको छ उस्लाई यस्तो लाग्नु स्वभाविक हो । सुरुका झिझा लाग्ने कुराहरूले अन्त्यतिरका झिँझा लाग्ने कुरालाई सरल बनाएको छ ।

तर उपन्यास के बारेमा छ भन्ने नजान्नेलाई उपन्यासमा के भइरहेको छ, विशेषतः अन्त्यतिर, भन्ने बुझ्न मुस्किल छ । लेखकले आफ्नो लेखाइमा अझ माझ्न बाँकी छ बुझाउँछ यस्ले । मैले कथा हेलुसनेशन बारे छ भन्ने थाहा पाएको कारण के हुँदैछ राम्ररी बुझे र कथा अझ रोचक लाग्यो । तर यस्तो कथा पहिलो पटक पढ्नेलाई भने केही गाह्रो नै छ बुझ्नलाई ।

मैले दोस्रो संस्करण पढे । उपन्यासको कभरले पनि पाठकको पहिलो सोचाइनै नकारात्मक बनाउने खालको छ । तर तेस्रो संस्करणको कभरमा केही परीवर्तन गरीएको रहेछ । यो राम्रो पक्ष हो । तर उपन्यासमा धेरै नै टाइपिङ त्रुटि छन् । यस्ले पनि पाठकमा एकखाले नराम्रो इम्प्रेशन जान्छ । तर यो पनि आउँदा संस्करणमा मिलाउन नमिल्ने होइन ।

माल्दिभ्सबाट फर्किसकेपछि पनि मुख्य पात्र अर्थात् आलोकले नशा सेवनलाई निरन्तरता दिन्छ । करीब एक बर्ष नशा सेवन नगरे पनि फेरी लतमा फस्न पुग्छ । एक सर्को त हो नि भन्दै लतमा लगाव भएको पत्तो नै पाउँदैन । यसमा भूमिका खेल्ने काम सङ्गतले गर्छ भन्ने सन्देश उपन्यासले दिन्छ । एक चोटी त हो नि भन्ने व्यक्तिको लापरवाहीले व्यक्तिलाई अनेकचोटी दुःख दिने वहाना बनिरहँदो रहेछ ।

उपन्यासमा आलोकले सबै कथा आफूलाई बिहेको लागि हेर्न आएकी केटीलाई भनेको हुन्छ । आफ्ना कुरा राखिसकेपछि गएका त्यो केटी र उस्को बहिनी फेरी फर्किएर आउँछन् । आलोक उन्को बिहेको लागि निर्णय के छ नि भनेर जिज्ञासु भइरहँदा उनिहरू भर्खर मात्र आएको अघि नआएको अर्थात् आलोकले जे भन्यो त्यो पनि हेलुसनेशन हो भनेर उपन्यास सकिदाँ मथिङ्गलले फन्का लगाइरह्यो, चक्कर मारीरह्यो ।
एक सर्को माया मा भने झै नशा, पढ्ने नशा, मलाई पनि लाग्यो । एक्जामको बेलामा पनि यति त सक्दिउन भन्ने लाग्यो । र सकाए पनि । त्यो नशा अनि मथिङ्गल नै हल्लाउन सक्ने क्षमताले एक सर्को माया धेरै पछिको राम्रो उपन्यास लाग्यो ।

Leave a Reply